
कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण विश्वभर २ सय ६४ जना नेपालीको मृत्यु भएको छ ।
कोरोनाका कारण विदेशमा १ सय ९१ जना र नेपालमा ७३ जना नेपालीको निधन भएको छ ।
शनिवार साँझसम्म नेपाल सहित विश्वभर २ सय ६४ जना नेपालीको कोरोना भाइरसले ज्यान लिएको गैरआवासीय नेपाली संघले जनाएको छ ।
गैरआवासीय नेपाली संघका अनुसार भारतमा यो साता थप २ जनाको कोरोनाका कारणले निधन भएको छ ।
गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार यो साता प्राप्त तथ्यांक अनुसार यो साता भारत, अष्ट्रेलिया, बेल्जियम, पोल्याण्ड, फ्रान्स, कतार, साउदी अरेवियामा रहेका नेपालीहरुमा थप नयाँ संक्रमण देखिएको छ ।
संघका अनुसार गत हप्ताको तुलनामा मध्यपूर्वका देशहरु कतार, युएई, साउदी अरब लगायतका देशमा कोरोना संक्रमणको दरमा कमी आएको छ । यो साता अष्ट्रेलिया रहेका १४६ जना नेपालीमा नयाँ संक्रमण थपिएको समितिले जनाएको छ ।
समितिका अनुसार गत साता लग्जेम्वर्गमा रहेका नेपालीहरुमा सामूहिक रुपमा देखिएको कोरोना संक्रमितहरु संक्रमणमुक्त हुँदै गएका छन् । संघका अनुसार लग्जेम्वर्गमा करिब दुई दर्जन नेपालीमा कोरोना संक्रमण रहेको र बाँकी आइसोलेसनमा रहेका छन् । लग्जेम्वर्गमा थप संक्रमण देखिएको छैन् ।
विश्वमा ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएको संघले जनाएको छ । ती मध्ये १६ देशमा रहेका नेपालीको कोरोनाका कारणले निधन भएको छ ।
कोरोना भाइरसका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेन, भारत, नेपाल, साउथअफ्रीका लगायतका देशमा रहेका नेपालीहरुको ज्यान गएको थियो ।
हाल सम्म नेपाल सहित ५५ हजार ९ सय २५ जनामा कोरोना संक्रमण देखिएको छ । ती मध्ये ४७ हजार ४ सय ३७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।




