
तनहुँको आँबुखैरेनी गाउँपालिका कार्यालयमा कार्यरत एक जना अधिकृत तहको कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि गाउँपालिका ३ दिनका लागि बन्द गरिएको छ ।
शनिबार साँझ आएको उनको पिसिआर रिपोर्टमा कोरोना संक्रमण पोजेटिभ देखिएपछि गाउँपालिकाले सूचना जारी गरि कार्यालय र मातहतका सम्पूर्ण वडा कार्यालयहरु साउन १८ देखि २० गते सम्मका लागि बन्द गरिएको प्रवक्ता कटक बहादुर थापाले जानकारी दिएका छन् ।
गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी सबैको कोरोना परिक्षणको लागि आजै स्वाव संकलन गर्ने काम भैरहेको गाउँपालिकाका सूचना अधिकारी शिखरलाल डोटेलले जानकारी दिए ।

संक्रमित कर्मचारी साउन २ गतेदेखि ८ काठमाडौं बसेर फर्किएका थिए ।
कर्मचारीमा कोरोना पुष्टि भएपछि गाउँपालिका कार्यालय ३ दिनका लागि बन्द गरिएको हो । गाउँपालिकाका कर्मचारी र अन्य केही सम्पर्कमा आएका २६ जनाको स्वाब लिएर परीक्षणका लागि पठाइएको छ ।
‘उहाँ बिदा लिएर पारिवारिक काममा जानुभएको थियो । त्यही क्रममा काठमाडौंको एक अस्पतालमा गएको भन्ने खबर पाएका छौं,’ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले भने, ‘ट्रेसिङको काम भइरहेको छ । भोलिसम्म सबै डिटेल आउला ।’
कार्यालयमा विदा लिएर काठमाडौं आएका उनले विभिन्न ठाउँको यात्रा गरेका थिए । परिवारका सदस्य, आफन्त र अन्य गरी धेरै जनासँग ती कर्मचारीले भेटघाट गरेकाले ट्रेसिङमा समय लागिरहेको छ । ‘उहाँ काठमाडौंको कुन हस्पिटलमा जानुभएको थियो । कति जनासँग भेट भएको थियो भन्ने खोजी गरिरहेका छौं,’ उपाध्यायले भने ।




