तनहुँमा हालसम्म १७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने संक्रमित मध्ये १५८ जना निको भएर घर फर्केका छन् । जसअनुसार तनहुँमा ९० प्रतिशत कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

जिल्लामा गत जेठ १८ गते २८ वर्षीय पुरुषमा पुष्टि भएको थियो । यसैबीच, संक्रमितहरु निको हुने तथा संक्रमितको संख्या घट्दै गएकाले जिल्लाका विभिन्न निकायकमा स्थापना गरिएका आइसोलेशन र क्वारेटाइन खाली हुँदै गएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय तनहुँका अनुसार शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा १३ जना र बन्दीपुर अस्पतालमा ५ जना गरि अहिले जिल्लाभरिमा जम्मा १८ जना कोरोना संक्रमितहरु उपचाररत् छन् ।

तनहुँमा भारत लगायत अन्य मुलुकबाट आएका, स्वयंसेवक, उद्धार र व्यवस्थापनमा खटिएका १७ महिला र १५९ पुरुष गरी १७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख शंकरबाबु अधिकारीले बताए ।

अधिकारीका अनुसार हालसम्म व्यास नगरपालिकाको आइसोलेशनबाट ५२, दमौली अस्पतालबाट १३, शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रबाट ६०, भिमाद नगरपालिकाबाट १३, बन्दीपुर गाउँपालिकाबाट १८ तथा होम आइसोलेसनमा बसेका ३ जना निको भएर घर फर्किएका छन् ।

जिल्लामा ६ स्थानमा रहेका आइसोलेशनमा १८९ शैया क्षमता रहेको छ । अहिले ती आइसोलेनहरुमा १८ जना मात्र बाँकी रहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।