विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस (कोभिड–१९) को महामारी बढ्दै गएमा दोस्रो लहर शुरु हुने र लाखौंको ज्यान जानसक्ने बताएको छ ।

एशिया र युरोपका देशहरुले लकडाउन खुकुलो गर्दै यात्रा अनुमति दिनथालेपछि डब्लुएचओका सहायक महानिर्देशक डा. रानिरी गुयराले यस्तो चेतावनी दिएका हुन् । यस्तो अप्रिय घटना हुन नदिन सबैजना सतर्क हुनुपर्ने उनको भनाई छ ।

सहायक महानिर्देशक डा. गुयराले कोभिड–१९ ले पनि स्पेनिस फ्लूले जस्तै ज्यान लिन सक्ने बताएका छन् । उनले स्पेनिस फ्लूको दोस्रो लहरले संसारमा ५ करोड मानिसको ज्यान गएको समेत स्मरण गराएका छन् ।

सन् १९१८ को स्पेनिस फ्लु गर्मी मौसममा मथ्थर जस्तै भएपनि सेप्टेम्बर र अक्टोबरमा डरलाग्दो तरिकाले फैलिएको थियो ।

अमेरिकामा सबैभन्दा धेरै कोरोना संक्रमित देखिएका छन् । विश्वभर कोरोना संक्रमित झण्डै १ करोड नजिक पुगेका छन् ।

सन् १९१८ देखि १९२० सम्म फैलिएको स्पेनिस फ्लुबाट ५ करोडभन्दा बढी मानिसले ज्यान गुमाएका थिए । पहिलो लहरमा केही लाख मानिसको ज्यान गएकोमा दोस्रो लहरमा करोडौंले ज्यान गुमाएका थिए ।