कोरोना भाइरस विरुद्ध बनेको भ्याक्सिनको नेपालमा प्रयोग गरिने भएको छ। चीनमा बनेको भ्याक्सिनको ट्रायल गर्न नेपाल सरकारले अनुमति दिएको छ।

सोमबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना भाइरस विरुद्ध बनेको भ्याक्सिनको ट्रायल नेपालमा पनि सुरु हुन लागेको बताएका छन्।

उनले भने, ‘भ्याक्सिन ट्रायल सुरु हुने भएको छ। योसँगै रेमडेसिभिर औषधि र कन्भालेसेन्ट प्लाज्मा पनि ट्रायलको रुपमा प्रयोग गरिएको छ। यसको भ्याक्सिन नेपालमा प्रयोग गर्न नपाउने वा ट्रायलका रुपमा प्रयोग गर्न नहुने भन्ने कुराहरु पनि उठिरहेका छन्।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को गाइड लाइन अनुसार विश्व व्यापी मान्यताको आधारमा स्वःस्फूर्त रुपमा अध्ययन, रिसर्च, ट्रायलमा सामेल हुन चाहनेहरुलाई मात्रै समावेश गरिने हुनाले यसमा भ्रम नपाल्नु हुन अनुरोध गर्दछौँ।’

नेपालमा रेमडेसिभिर औषधि र कन्भालेसेन्ट प्लाज्मा थेरापी विधिबाट उपचार गर्ने पहिलो व्यक्ति डा. ज्ञानेन्द्रमान सिंह कार्की हुन्। उनी पछि अन्य गम्भीर संक्रमितको उपचार यो विधिमार्फत भइरहेको छ।