कोरोना भाइरसको संक्रमणका कारण विश्वभरमा २ सय ४७ जना नेपालीको मृत्यु भएको छ ।

शनिवार साँझसम्म नेपालका ५८ सहित विश्वभर २ सय ४७ जना नेपालीको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । विदेशमा मात्र १ सय ८९ जना नेपालीको मृत्यु भएको बताइएको छ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण यो साता विश्वभर थप २८ जना नेपालीको ज्यान गएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ ।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार कोरोना संक्रमणका कारण भारतमा मात्रै २५ जना नेपालीको ज्यान गएको छ ।

एनआरएनए स्वास्थ्य समितिका संयोजक डा। संजीव सापकोटाले भने, ‘अल इन्डिया इष्टिच्युट अफ मेडिकल साइन्स नयाँदिल्लीमा कार्यरत डा. सागर पौडेलले दिएको जानकारी अनुसार भारतमा विभिन्न मितिमा ज्यान गुमाएका नेपालीको संख्या २५ पुगेको पुष्टि यो साता भएको हो । भारतको महाराष्ट्रमा रहेका नेपालीहरु बढी प्रभावित छन् ।’

यस्तै यही साता साउथ अफ्रिकामा पहिलो पटक एक नेपालीको मृत्यु भएको छ । यस्तै साउदी अरबमा दुई जनाको संक्रमणकै कारण ज्यान गएको छ ।