नेपाली काँग्रेसको १४ महाधिवेशन अन्तर्गत मंसिर ११ गते तनहुँमा हुने जिल्ला अधिवेशनका लागि वर्तमान सभापति बैकुण्ठ न्यौपाने र कार्यवाहक सभापति जीतप्रकाश आलेको प्यानलबीच महाभिडन्त हुने भएको छ ।

सभापति लगायत उपसभापति, सचिव, उपसचिव र अन्य सदस्यका लागि न्यौपाने र आलेका छुट्टाछ्ट्टै प्यानल निर्वाचन समितिमा दर्ता भएका छन् । जिल्लाका दुई हेभिवेट नेताहरुको नेतृत्वमा हुन गइरहेको चुनावी प्रतिष्पर्धा निकै रोचक र प्रतिष्पर्धात्मक हुने अनुमान गरिएको छ । दुवै समूह अहिले चुनावी रणनीति र मतदाताहरुसंग (क्षेत्रीय प्रतिनिधिहरु) मत माग्न व्यस्त रहेका छन् । दुवै समूहले आफ्नो जीत सुनिश्चित भएको दावी गर्दै आइरहेका छन् । तथापी चुनावी वातावरण विगतमा भन्दा फरक बनेका र बनाइएका कारणले पनि यही समूहले जीत हासिल गर्नेछ भन्ने पूर्ण आधार देखिदैन् । यसै सन्दर्भमा रहेर यहाँ यस अघि भएका प्रदेश सभा र क्षेत्रको अधिवेशन साथै चुनावी परिणामलाई विश्लेषण गरिएको छ । यस विश्लेषणले पनि न्यौपाने र आले प्यानलमध्ये कसको पल्ला भारी छ र कसको मतभार कति छ भन्ने अनुमान गर्न सहज हुनेछ ।

क्षेत्र नं १ प्रदेश सभा (क) मा भएको निर्वाचनबाट न्यौपाने प्यानलबाट सभापतिमा विश्वेश्वर खनालले २९० मत र प्रदेश सभा (ख) मा काजीमान श्रेष्ठले २२० मत ल्याएर विजयी भएका थिए । उनीहरुको कूल मत ५१० भएतापनि मंसिर ६ गते भएको क्षेत्रीय निर्वाचनमा सो क्षेत्रबाट श्याम मौरतीले कूल ४८५ मत प्राप्त गरे । यसरी हेर्दा प्रदेश सभा र क्षेत्रीय अधिवेशनमा सो प्यानलको २५ मत कम भएको देखिन्छ ।

त्यस्तै क्षेत्र नं १ प्रदेश सभा (क) मा भएको निर्वाचनबाट जीतप्रकाश एवं शंकर भण्डारी प्यानलबाट सभापतिमा गोरा मियाँले २१६ मत र प्रदेश सभा (ख) मा राजेन्द्र पियाले १५४ मत ल्याएका थिए । उनीहरुको कूल मत ३७० भएतापनि मंसिर ६ गते भएको क्षेत्रीय निर्वाचनमा सो क्षेत्रबाट विश्वनाथ बास्तोलाले कूल ४०२ मत प्राप्त गरे । प्रदेश सभा र क्षेत्रीय अधिवेशनमा सो प्यानलको ३२ मत बढेको देखिन्छ ।

यसैबीच, क्षेत्र नं २ प्रदेश सभा (क) मा भएको निर्वाचनमा जीतप्रकाश एवं भण्डारी प्यानलबाट सभापतिमा चुडामणी खनालले ४४७ मत पाएर विजयी भएका थिए भने न्यौपाने प्यानलबाट सभापतिका उम्मेदवार कृष्णराज पण्डितले ३९६ मत सहित पराजित भएका थिए । सोही क्षेत्रको प्रदेश सभा (ख)मा जीतप्रकाश समूहबाट इन्द्र बहादुर आले सभापतिमा निर्विरोध निर्वाचित भएका थिए । श्रोतका अनुसार प्रदेश सभा (ख) मा रहेका कूल मतदाता ४१७ मध्ये जीतप्रकाश समूहको २८० र न्यौपाने समूहको १३७ रहेको छ । समग्रमा सो क्षेत्रको मतभार विश्लेषण गर्दा प्रदेश सभा र क्षेत्रीय अधिवेशनमा आइपुग्दा धेरै मत चलखेल भएको देखिन्छ ।

एक श्रोतका अनुसार क्षेत्र नं २ को मूल ८६६ मतदाता मध्ये जीतप्रकाश समुहमा ६० प्रतिशत मत आउने सम्भावना रहेको छ भने न्यौपानेको पक्षमा ४० प्रतिशत मात्रै रहको छ । तर, क्षेत्र नं १ को कूल मतदाता ९४५ मध्ये मा न्यौपानेको पक्षमा ६० प्रतिशत र आलेको पक्षमा ४० प्रतिशत मतभार अनुमान गरिएको छ । यसैबीच, महाधिवेशन प्रतिनिधिको निर्वाचनमा जीतप्रकाशले कूल मतको ६७.४ प्रतिशत मत पाए भने न्यौपानेले ६० प्रतिशत मत प्राप्त गरेका थिए । उम्मेदवारहरुको जातियता र भौगोलिकताका आधारमा पनि मतभार फरक परेको कतिपयको अनुमान छ ।

यसका साथै दुवै पक्षका प्यानलमा रहेका उपसभापति, सचिव, सहसचिवहरुको व्यक्तिगत चिनजान र पहिचानका आधारमा मतमा तलमाथि हुने प्रशस्त सम्भावना रहेको छ ।

समग्रमा क्षेत्रीय अधिवेशनमा भएको मतदान र क्षेत्रीय सभापतिले प्राप्त गरेको नतिजाका आधारमा न्यौपाने समूहको पक्षमा क्षेत्र नं १ मा ४८६ र क्षेत्र नं २ मा ३९६ गरि कूल ८८१ मतदाता रहेका छन् भने जीतप्रकाश आले समूहको पक्षमा क्षेत्र नं १ मा ४०२ र क्षेत्र नं २ मा ४४७ गरि कूल ८४९ मतदाता रहेका छन् । सतही रुपमा जिल्लामा कूल १८२० मतदाता मध्ये क्षेत्रीय अधिवेशनमा सदर मत १७३० लाई आधार मान्दा न्यौपाने समूहको पक्षमा ४८ प्रतिशत र जीतप्रकाश समूहमा ४६ प्रतिशत मतभार रहेको छ । दुवै क्षेत्रमा रहेको बाँकी ६ प्रतिशत मत मध्ये २९ वटा मत नखसेको र ६७ वटा मत बदर भएको थियो ।

सभापतिका उम्मेदवारहरु न्यौपाने र आलेको मतभार क्रमश ४८ प्रतिशत र ४६ प्रतिशत (कूल ९४ प्रतिशतमा विश्लेषण गर्दा) रहेकोमा बाँकी ६ प्रतिशत मत जिल्ला निर्वाचनमा सहि तरिकाले खसाउन सक्ने उम्मेदवारको पक्षमा पल्ला भारी हुने निश्चित छ । आखिर चुनावी प्रतिष्पर्धामा जीतहारको नतिजामा १०–२० मतले पनि फरक पारेको प्रशस्त उदाहरणहरु छन् । तर, निर्वाचनको लागि केही घण्टामात्रै बाँकी रहँदा न्यौपाने र आलेमध्ये कसले बाजी मार्नेछ र तनहुँ काँग्रेसको विपी स्मृती भवनबाट जिल्लाको पार्टी नेतृत्व हाक्नेछ भन्ने कौतुहलता अहिले सबैमा छ । निर्वाचन र मत परिणामले २ दिन भित्रमै सबैको कौतुहलता मेट्नेमा कुनै दुविधा भने छैन् ।