
संविधान सभा सदस्य एवं नेपाली काँग्रेसका अग्रज नेता रामचन्द्र पोखरेलले पार्टीको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
नेता पोखरेलले मंगलबार दमौलीमा पत्रकार सम्मेलनको आयोजना गरि सो घोषणा गरेका हुन् ।
“मंसिर २४ देखि २७ सम्म काठमाण्डौंमा हुने काँग्रेसको महाधिवेशनमा केन्द्रीय सदस्य पदमा मेरो उम्मेदवारी रहने छ र म विजयी हुनेमा पूर्ण विश्वस्त छु”, नेता पोखरेलले भने । “निवार्चनमा विजयी हुने मेरा मुख्य पाँच आधारहरु छन्, उनले भने, पहिलो म लामो समयसम्म शिक्षाक्षेत्रमा काम गरे, मेरा धेरै विधार्थीहरुपनि मतदाता छन् । दोस्रो म पार्टीको केन्द्रीय कार्यालयमा मुख्य सचिव भएर काम गरे । तेस्रो, संविधान सभा सदस्यको हैसियतले र संविधान निर्माणमा पुर्याएको योगदानको मुल्याँकन हुनेमा म विश्वस्त छु । चौथो, म पेशाले पत्रकार पनि हुँ, र पत्रकार साथीहरुको साथ र समर्थन पाउँनेमा पनि म आशावादी छु । र पाँचौ, म पार्टीको एक सच्चा र इमान्दार सिपाही हुँ र मेरो पुरै परिवार लोकतन्त्र र प्रजातन्त्रको रक्षार्थ खटिएको छ ।”
अहिले कुनै प्यानल र पक्षमा नलागेको बताउँदै नेता पोखरलले आफुँ तनहुँबासी भएको नाताले पनि पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको साथ र समर्थनमा अगाडि बढ्ने बताएका थिए । जिल्लामा युवा पुस्ताका लागि स्थान दिनु पर्छ भन्ने सोँचबाट अभिप्रेरित भई आफुँले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने पोखरेलले बताए । 
विगतका महाधिवेशनमा गिरिजा प्रसाद कोइराला र रामचन्द्र पौडेलको अनुरोधमा केन्द्रीय सदस्यको उम्मेदवारीमा त्याग गरेको र अन्य नेताहरुलाई समर्थन गरेको उनले स्मरण गरे ।
नेता पोखरेल पार्टीको महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य र संविधान सभा सदस्य हुन् । पोखरेल तत्कालिन जिल्ला विकास समिति तनहुँको सभापति भएर कुशलतापूर्वक काम गरेका थिए । तत्पश्चात स्थानीय निकाय र स्थानीय सरकारको पक्षमा पोखरलले राष्ट्रिय र अन्तराष्ट्रिय मञ्चहरुमा वहस, पैरवी, र वकालत गर्दै आएका छन् । पोखरेल काँग्रेसका विश्वासिला, इमान्दार र बौद्धिक नेताका रुपमा परिचित छन् ।




