तनहुँ क्षेत्र नम्बर १ का लागि अनपेक्षित उम्मेदवार हुन्, राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले । ४ मंसिरको चुनावमा कांग्रेसकै उम्मेदवारहरुलाई जिताउन तनहुँ आएका अर्थविद् स्वर्णिम यसपटक आफैं उम्मेदवार बनेर आए, त्यो पनि रास्वपाबाट । कांग्रेस तनहुँका पूर्व सभापति रघुनाथ पौडेल भन्छन्, ‘कांग्रेस नै परित्याग गरेर स्वर्णिम आफैं उम्मेदवार बन्नु हाम्रा लागि अपेक्षित होइन ।’

मनोनयनका दिन दमौली बजारमा चुनावको परिणामबारे चर्चा परिचर्चा भइरहँदा स्वर्णिम भने बुल्दी खोला नजिकैको एक होटलमा बसेर आफ्नै विरासतको पार्टी कांग्रेस नजिकका मान्छे भेट्दै आफ्नो पक्षमा माहोल बनाउँदै थिए ।

व्यास–४ सिमलटारको एक होटलमा स्वर्णिम आइतबारदेखि बसिरहेका छन् । रास्वपामार्फत तनहुँ–१ मा स्वर्णिमलाई जोडेका श्रीराम न्यौपानेले मानिसहरुसँग सहजीकरण गरिरहेका छन् । तनहुँबाट चितवन बसाइँ सरेका श्रीरामले तनहुँ–१ मा पुरानो सम्बन्धलाई जोड्ने र स्वर्णिमलाई बुझाउने काम गरिरहेका छन् ।

अघिल्लो चुनावमा गोविन्दराज जोशी समूहमा लागेर वडाध्यक्षमा उठेका चुडामणि दाहालले स्वर्णिमलाई भेटेर भन्दै थिए, ‘तनहुँमा यसपटक पुराना दलले पाठ सिक्छन् ।’ राष्ट्रपति रामचन्द्र पौडेलकै गाउँ व्यास–८ रिस्तीबाहुन पोखराका उपेन्द्रले स्वर्णिमलाई नै वचन दिए । ‘रामचन्द्र काकालाई जिताएकै हो, उहाँ राष्ट्रपति बनेपछि अब तनहुँले पनि राजनीतिक परिवर्तन खोजेको छ ।’

स्वर्णिमले भेट्न आउनेहरुलाई भनिरहेका छन्– यो पटक नयाँ राजनीतिक डिस्कोर्स थाल्नुपर्छ ।

रास्वपाले मनोनयनको अघिल्लो दिनदेखि नै गण्डकी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गरिरहेको छ । चितवन–२ मा पार्टी सभापति रवि लामिछानेले जित्ने पक्काजस्तै भएको निश्कर्ष निकाल्दै तनहुँकै सबै शक्ति लगाउने रास्वपाको योजना छ ।

अघिल्लो चुनावमा रास्वपाका विकास सिग्देलले तनहुँ–१ मा ६ हजार ३२ मत पाएका थिए । पाँच दलीय गठबन्धनको समर्थन पाएका कांग्रेसका रामचन्द्र २५ हजार ३१८ मतका साथ विजयी हुँदा एमालेका एकबहादुर रानाले १९ हजार ९४३ मत ल्याएका थिए । कांग्रेसबाटै कारबाहीमा परेका स्वतन्त्र उम्मेदवार पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले ६ हजार ८७८ मत ल्याएका थिए ।

तनहुँ–१ स्वर्णिमका निम्ति त्यति सहज भने छैन । तनहुँ–१ यस्तो क्षेत्र हो, जहाँ अधिकांश चुनाव कांग्रेसले नै जितेको छ। त्यसमाथि कांग्रेसले गोविन्द भट्टराईको मनोनयन दर्ताका निम्ति मात्रै होइन, तनहुँको निर्वाचनमै महामन्त्री गगन थापालाई खटाएको छ । गगनका प्रिय पात्र भनेर चिनिएका स्वर्णिमले भने नेताहरु आफूमाथि नखनिने देखेका छन् ।

समानुपातिकतर्फ १२ हजारभन्दा बढी मत ल्याएको रास्वपाको रणनीतिबारे एक केन्द्रीय नेताले भने, ‘रविको लोकप्रियतासँगै स्वर्णिमको व्यक्तित्व बुझाउने, स्वर्णिमको विरासत सबैभन्दा बढी कांग्रेसमै जोडिएकाले त्यता फोकस गर्ने, एमाले र स्वतन्त्र मानिसलाई पनि तान्ने हर सदस्यले कोसिस गर्ने छन् ।’ उनीहरु गोविन्दराज जोशीको समर्थन पाउनेमा आशावादी छन् । जोशी समूहले पनि उम्मेदवारी नदिने तर व्यक्ति हेरेर मत दिने बताएको छ ।

स्वर्णिमले पनि विभिन्न क्षेत्रका मानिसहरुलाई भेटेर माहोल बनाइरहेका छन् । होटलमा एकसरो भेटघाट सकेर दमौली बजार निस्कनुअघि स्वर्णिमले अनलाइनखबरसँग कुराकानी गर्दै जनतालाई आफ्नो एजेण्डा बुझाउन लाग्ने बताए ।

मर्स्याङ्दी पारी गोरखाबाट चितवन सरेका स्वर्णिम यसपटक तनहुँ–१ मा इतिहास रच्ने सपनासहित चुनावमा होमिएका छन् । भन्छन्, ‘यो मेर लागि नयाँ ठाउँ होइन, मेरा थुप्रै आफन्त यहीँ हुनुहुन्छ । म यसपटक यहीँको माटोमा आफूलाई परीक्षण गर्न आएको छु ।’

नेतृत्वको व्यवहार, असहिष्णु रबैयाका कारण आत्मसम्मानका लागि लामो कांग्रेस विरासत छोडेर निस्किएको स्वर्णिमले दोहो¥याइरहेका छन् । मंसिरको चुनावमा टिकट नपाए पनि कांग्रेस रिफर्म होला भन्ने सोचेको, तर ४÷५ महिनापछि पनि त्यो नदेखेपछि बाहिरिने निश्कर्षमा पुगेको उनको भनाइ छ ।

‘आफ्नो उर्वर उमेरमै केही हस्तक्षेप गरौं भन्ने भयो । म चाहिँ समयसीमा तोकेर दुई कार्यकालभन्दा राजनीति गर्न हुन्न भन्नेमा विश्वास भएको मान्छे हुँ,’ उनले भने । राजनीतिलाई पेशा बनाउने र भ्रष्टीकरण गर्ने राजनीतिक व्यवस्थाको एउटा उत्तर पनि आफ्नो पार्टी त्याग र उम्मेदवारी भएको उनको भनाइ थियो ।

‘आफ्नो प्राइम इयर्सको पाँच वर्ष हात बाँधेर बस्ने ? यो भएन भन्ने भयो’ उनले भने, ‘अहिले अवसर पनि आयो । उपचुनावमा ३/३ वटा ठाउँ खाली भयो, जुन त्यतिबेला थाहा थिएन । एक पटक परीक्षण गरौं न भनेर मैदानमा उत्रिएको हुँ।’

अवसरका लागि मात्र कांग्रेस छोडेर रास्वपा रोजेको आरोपलाई स्वीकार्दैनन्, उनी । ‘अवसर त आफैंमा नराम्रो होइन’, कांग्रेसमा अपेक्षित सुधार नदेखेकाले हाम फालेको भन्दै उनले भने, ‘मलाई हराइदिएर पठाइदिए भयो नि ! म आफ्नो कुरा राख्छु, लोकतन्त्रमा जनताले के भन्छ भन्ने कुरामा विश्वास राख्नुपर्ने हुन्छ ।’

रामचन्द्र पौडेलले आफैं बोलाएर सल्लाहकार हुन भनेको तर आफू दरखास्त हालेर नगएको उनले बताए । मनोनयन दर्तासँगै आजैदेखि क्याम्पेन सुरु भएको उनको भनाइ छ । तनहुँको चुनावलाई देशैभरिबाट चासोका साथ हेरिएको छ । तनहुँ–१ मा राष्ट्रिय निर्वाचन क्षेत्रजस्तो भएको उनी पनि बताउँछन् ।

तनहुँ–१ स्वर्णिमका निम्ति त्यति सहज भने छैन । तनहुँ–१ यस्तो क्षेत्र हो, जहाँ अधिकांश चुनाव कांग्रेसले नै जितेको छ। प्रजातान्त्रिक आन्दोलनमा परिवारै लागेका पदमको नाममा राखिएको चोकनेर भेटिएका एक स्थानीयले भने, ‘यहाँ व्यक्तिभन्दा धेरै पार्टी हेरिन्छ । दमौली अझै पनि गाउँ नै हो । त्यति सजिलै मत बदलिन्न । जतिसुकै अब्बल व्यक्ति आए पनि भन्न सकिन्न ।’

त्यसमाथि कांग्रेसले गोविन्द भट्टराईको मनोनयन दर्ताका निम्ति मात्रै होइन, तनहुँको निर्वाचनमै महामन्त्री गगन थापालाई खटाएको छ । गगनका प्रिय पात्र भनेर चिनिएका स्वर्णिमले भने नेताहरु आफूमाथि नखनिने देखेका छन् ।

अनलाइनखबरबाट