
हरेक वर्ष माघ १६ गते नेपालमा सहिद दिवस मनाइन्छ । सहिद दिवसका अवसरमा देशभरिनै विभिन औपचारिक कार्यक्रमहरु गरिन्छन् । केवल खोक्रो औपचारिकतामा शहिदहरुको मूर्ति र फोटोमा माल्र्यापण गरेर दिवस मनाइने चलन छ । तर सहिदहरुको योगदान र उनहरुले देखेको सपना त्यतिकै तुहाइन्छ । यतिसम्मकी सहिदहरुकै जन्मभूमि पनि उपेक्षामा परेका छन् । यसैको एक ज्वलन्त उदाहरण हो, तनहुँका दुई सहिद भूमि पुलिमराङ र तनहुँसुर । यी पवित्र भूमिहरु राज्य पक्ष र स्थानीय निकायको नजरमा अझै पनि परेको छैन् ।
व्यास नगरपालिका–८ पुलिमराङ गाउँको सिरानमा सहिद पार्क बन्दैछ । पार्कको स्मारकमा सहिद भारत गुरुङ, शमसेरबहादुर गुरुङ, लालध्वज गुरुङ, धर्मध्वज गुरुङ, सर्वसिंह गुरुङ, हस्तवीर गुरुङको लहरै अर्धकदको प्रतिमा छन् । यी सबै सहिद पुलिमराङको माटोले जन्माएको हो । जो राणा शासन र निर्दलीय पञ्चायती व्यवस्थाविरुद्ध होमिए, शहादत प्राप्त गरे ।
१ माघ २००७ मा बन्दीपुरमा राणा शासनविरुद्धको आन्दोलनमा पुलिमराङका धर्मध्वज गुरुङले शहादत प्राप्त गरे । राणा शासनको दमनविरुद्ध नेपाली कांग्रेसले चलाएको आन्दोलनमा होमिएका पुलिमराङको ठिटोको रगतले बन्दीपुरे भूमि पोतियो । र, क्रान्तिमा होमिएको एउटा छोरा पुलिमराङले गुमाउनुपर्यो। धर्मध्वजहरूले चाहेजस्तै राणा शासन त अन्त्य भयो। र, प्रजातन्त्र स्थापना पनि भयो ।
फेरि २०१७ मा निर्दलीय पञ्चायती व्यवस्था लागूभयो । धर्मध्वजले देखेको सपना अधूरै हुने देखियो । र, धर्मध्वज गुमाएका माटो चुपचाप बस्न चाहेन । देशको विकास र परिवर्तनका खातिर यहाँका युवामा क्रान्तिको ज्वाला झनै दन्कियो। निर्दलीय पञ्चायती व्यवस्था विरुद्धको क्रान्तिमा लाग्न थाले ।
२०१८ सालमा निर्दलीय पञ्चायती व्यवस्थाविरुद्धको लडाईँमा पनि पुलिमराङ अग्रमोर्चामा देखियो । त्यो लडाँइमा फेरि पुलिमराङले पाँच जनालाई गुमाउन पुग्यो । २०१८ मा पुलिमराङका लालध्वज गुरुङ, सर्वसिंह गुरुङ र हस्तविर गुरुङले कोत्रेमा शहदात प्राप्त गरे । शमसेरबहादुर गुरुङ भरतपुरमा र भारत गुरुङ पुलिमराङमै मारिए । राणा शासन र निर्दलीय पञ्चायती व्यवस्था विरुद्धको लडाईँमा पुलिमराङ गाउँका ६ जना सहिद बने ।
व्यवस्था परिर्वतनको लडाईँमा होमिएर ६ जना सहिद भए पनि पुलिमराङवासीले चाहेजस्तो गाउँ विकास अझै भएको छैन। राजनीतिक खिचातानीले देशका लागि कुर्वानी दिएका सहिदको वलिदानीको उपेक्षा भएको बताउँछन् स्थानीय । न राज्यले पुलिमराङलाई सम्झेको छ, न कुनै पार्टीले नै । राज्य र पार्टी दुवैको उपेक्षामा छ सहिद गाउँ पुलिमराङ ।
गाउँमा अझै हिउँदमा मात्रै मोटर चल्न सक्ने सडक छ । बेलामै विकासले गाउँलाई नछुदा गुज्लार गाउँ रित्तिएको छ । बुढापाकाले मात्र घर रुँघेर बसेका छन् । बसाईसराईंले युवा पुस्ता गाउँमा देख्न मुस्किल हुन्छ । विद्यालयमा विद्यार्थी वर्षेनि घटेर कुनै दिन बन्द नहोला भन्न सकिदैन् ।
‘एउटै गाउँका ६ जना सहिदको योगदानलाई स्मरण गर्दै राज्यले विकासको त मुल फुटाउनुपर्ने थियो, पुलिमराङवासीको अपेक्षा थियो । तर त्यो अपेक्षा पुरा भएन दशकौँसम्म पनि । राज्यसत्ता र पार्टीले पुलिमराङलाई देखेन,’ स्थानीय टेकबहादुर गुरुङले भने ।
‘गाउँमा विकास गर्नलाई नेताले कुरा बुझेनन् । आज सबै हानालुछमा व्यस्त छन् । राम्रो भन्ने छैन्, हाम्रो भन्ने छ । यदि सबैले चाहेको भए यो गाउँमा नहुने कुरा के थियो र ?,’ उनले भने, ‘सहिद परिवारले र गाउँले केही त पाओस् न ।’ सहिद परिवार र गाउँको पहिचान राज्यले गर्न नसकेको उहाँको बुझाई छ । राज्यले सहिद गाउँको अपहेलना गरेको हो त ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘अहिलेसम्म त अपहेलना नै गरेको हो । शहिद स्मारक बनाउन समेत धेरै दुख गर्नुप¥यो हामीले । अरु कुरा त के गर्ने !’
टेकबहादुरका अनुसार सहिद पार्क बनाउन तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पहल गरेका थिए । २९ चैत २०५१ मा पुलिमराङ गाउँमा सौर्य परियोजना उद्घाटन गर्न आएको बेला कोइरालाको तदारुकतामा समिति बनेको थियो । ‘समितिमा कोही कहाँका कोही कहाँका मान्छे राखियो । भागबण्डमा बैठक समेत बस्न नसक्ने गरेर मान्छे राखियो । बैठक त बस्न नसक्ने समितिले कसरी पार्क बनाउथ्यो र’, उनले सुनाए ।
२०६६ मा बल्ल गाउँमा सहिद स्मारक बनाएर ६ जना सहिदको अर्धकदको सालिक ठडियो । ती शालिकको झण्डै एक दशकसम्म त अनावरण नै भएन । अनावरण मात्रै नभएको होइन् त्यो अवधिमा सहिदका शालिकले ओतसमेत पाएननन्। २०७५ मा सहिद दिवसको दिन शालिक अनावरण गरिएको हो । अनावरणसँगै सहिद स्मारक भवनले पूर्णता पनि पाएको छ ।
४२ रोपनी क्षेत्रफलमा फैलिएको सहिद पार्कलाई आकर्षक बनाउन आठ करोड ६७ लाख रुपैयाँको वृहत गुरुयोजना तयार पारेको सहिद स्मारक पार्क संरक्षण तथा निर्माण समितिका अध्यक्ष एकबहादुर गुरुङले जानकारी दिए । गुरुयोजना अनुसार काम गर्न बजेटको अभाव भएको उनले बताए । ‘व्यास नगरपालिकाले वर्षेनि १० देखी २५ लाख रुपैयाँसम्म बजेट दिएको छ । तर त्यो रकम पर्याप्त हुँदैन । पर्खाल लगाउने, जग्गा सम्याउने, भवन र शौचालय बनाउने काम भइरहेको छ’, उनले भने ।
संघीय सरकारले चालु आर्थिक वर्षमा तीन करोड रुपैयाँ बजेट दिने प्रतिबद्धता जनाएको गुरुङले उल्लेख गरे । ‘यो बजेट आयो भने गुरुयोजना अनुसार काम गर्न सुरुवात हुन्छ होला’, उनले भने ।
‘सुन हे साथी अमर धर्मध्वजको कहानी
देशका लागि कुर्वानी भयो कलिलो जवानी
जुँगाको रेखी बसेको ठिटो बिर्सन्न मनमा
उनको गीत सुनिन्छ अझै कुन्छाको वनमा ‘.’
स्वर्गीय राष्ट्रकवि माधवप्रसाद घिमिरेका यी कविताका हरफले भनेजस्तै धर्मध्वजहरुको कहानी केवल कहानीमै सीमित बनेको छ । धर्मध्वजहरुको बलिदानीलाई सार्थक बनाउन जुट्नुपर्ने सत्ताको मातमा लिप्त भएका छन् । परिवर्तनको नारा बिर्सिएका छन् । ‘नेता स्वार्थी भइदिए । यहाँ कुनै कार्यक्रममा भयो भने आएर सहिदको नाम जप्छन् । यहाँबाट गएपछि फर्केर आउदैनन् । टुलुक्क हेर्दैनन’, सहिद परिवारका सदस्य भुपालजंग गुरुङ बताउँछन् । चुनाव आएपछि मात्र सहिद सम्झिदै नेताले ‘इमोस्लनल ब्ल्याकमेलिङ’ गर्ने उहाँको भनाई छ ।
१६ माघ अर्थात सहिद दिवसको दिन मात्रै राज्यपक्ष पुलिमराङ पुगेर सहिदको शालिकमा माल्यार्पण गर्ने र उनीहरुको योगदानलाई स्मरण गर्ने काम हुन्छ । वर्षमा एक दिन मात्र सहिदको योगदानलाई स्मरण गरेर राज्य पन्छिन् नमिल्ने सहिद धर्म आधारभूत विद्यालयका प्रधानध्यापक खड्ग गुरुङले बताए ।
यसैबीच, तनहुँमा पनि सहिद दिवसकै अवसरमा व्यास नगरपालिका कार्यालयको आयोजनामा छैठौं अल्ट्रा म्याराथन प्रतियोगिता गरिदैंछ । पुलिमराङ प्रवर्धन गर्न भन्दै व्यास नगरपालिकाले वर्षेनि सहिद दिवसको दिन व्यास अल्ट्रा म्याराथन गर्दै आएको छ । व्यास–५ मानहुँकोटबाट पुलिमराङसम्मको ४४ किलोमिटर दुरीको म्याराथन गर्दै सहिदलाई सम्झने गरिएको बताइएको छ । तर, त्यतिले मात्र यो पवित्र सहिद भूमिको सम्मान र गरिमा पुग्दैन् ।
त्यस्तै पीडा छ, अर्को सहिद भूमि तनहुँसुरको । विस २००७ सालको प्रजातान्त्रिक आन्दोलनमा बन्दीपुरमा भएको गोलिकाण्डमा तनहुँसुरका सात जना व्यक्तिहरु धर्मध्वज गुरुङ, धर्मराज श्रेष्ठ, चन्द्रबहादुर सार्की, खड्क बहादुर गोदार, सन्तवहादुर श्रेष्ठ, उत्तरकुमार श्रेष्ठले ज्यानको बलिदानी दिएका थिए त्यसैले तनहुँसुरलाई शहिदहरुको गाँउ भनेर पनि चिनिन्छ । त्यसअर्थमा पनि तनहुँसुरको विशेष ऐतिहासिक महत्व छ । तर त्यही पावन भूमि अहिले राज्यपक्षकै उपेक्षामा परेको छ । सो ठाउँको विकास निर्माणको पक्ष त परकै कुरा छ स्वयं सहिदहरुको सम्झनामा निर्माण गरिएका शालिक हरुै उपेक्षामा परेका छन् । जीर्ण बनेका छन्, भत्किएका छन् ।

यसका साथै, तनहुँसुरको ऐतिहासिक पक्ष पनि ओझेलमा परेको छ । तनहुँसुर बाइसे चौविसे राज्यको पालामा एउटा शक्तिशाली राज्य थियो । तत्कालिन सेनबंशी राज्यव्यवस्थाको एउटा जिउँदो इतिहास तनहुँसुरमा अझै पनि देख्न सकिन्छ । तनहुँसुर बाइसे चौविसे राजाहरुको पालामा निकै शक्तिशाली राज्यको रुपमा परिचित थियो । तत्कालिन पाल्पाली राजा मणिमुकुन्द सेनका बंशजहरुले करिव २३० बर्षसम्म यही ठाँउमा बसेर शासन चलाएको इतिहासमा उल्लेख छ । तनहुँसुर ऐतिहासिक र पुरातात्विक दृष्टिले मात्र नभई प्राकृतिक, भौगोलिक र लोकसाँस्कृतिक दृष्टिले समेत निकै धनी रहेको छ । यतिका धेरै महत्व बोकेको तनहुँसुरको संरक्षण, सम्वर्धन र प्रचारप्रसारका लागि हालसम्म पनि कुनै पहल नहुँदा यो स्थल को अस्तित्व अहिले संकटमा परेको छ । तनहुँसुरको ऐतिहासिक, पुरातात्विक महत्वलाई बुझेर पुरातत्व विभागले यहाँका केही ऐतिहासिक र पुरातात्विक बस्तुहरुको उत्खनन र अध्ययन गर्न शुरु गरेको भएता पनि सो कार्य अहिले स्थगित भएको छ । त्यसवाहेक तनहुँसुरको संरक्षण, संवर्धन का लागि आजसम्म कुनै पनि निकायले चासो नदिएको स्थानिय बासिन्दाहरु बताउछन् । र त्यसमा पनि अचम्मको कुरा के छ भने, तनहुँसुरका स्थानीय बासिन्दाहरु शहर बजारमा बसाई सरेर गएपछि यो स्थल अहिले उजाड र उराठ भएको छ । जसकारण तनहुँसुरको अस्तित्व नै संकटमा परेको छ ।
करिव पन्ध्र बर्ष अगाडि सम्म तनहुँसुरको बसाई निकै लोभलाग्दो र आकर्षक थियो । नेवार जातीको बसोबास रहेको तनहुँसुर खेतीपाती, समयको चक्र सगै व्यापार, व्यवसायका क्रममा यहाँका पुराना बासिन्दाहरु दमौली , पोखरा, बन्दिपुर,र काठमाण्डौ जस्ता सुगम स्थलमा बसाई सरेर गएपछि तनहुँसुर आजकल निकै उजाड र उराठ भएको छ । उनीहरुले छाडेका घरहरु अहिले भग्नावशेषमा परिणत भएको छन् । विगतमा करिव १५० घरहरु रहेको तनहुँसुरमा अहिले जम्मा पाँच छ वटा मात्र घरहरु देख्न सकिन्छ । बचेका ति घरहरुमा अहिले मानिसहरुको बसोबास नहुनाले घरहरु भत्किएर खण्डहरमा परिणत भएका छन् । घरहरु संरक्षण र सम्वर्धनको अभावमा भूत बंगला जस्तै भएका छन् । घरका छाना, भित्ता, ढोका, झ्यालहरु भत्किएर जीर्ण भएका छन् । तर पनि ऐतिहासिक ति घरहरुको संरक्षण र पुन निर्माणमा कसैलै चासो दिएका छैनन् ।
वास्तवमा, साँस्कृतिक, धार्मिक, ऐतिहासिक र पुरातात्विक स्थलहरुको संरक्षण र सम्वर्धन गर्ने भन्ने बारेमा सरकार र स्थानीय सरकारले निकै प्रचारवाजी पनि गरयो । तर ती सवै कुरा खोक्रा नारा र कागजमा मात्र सिमित हुन पुग्यो । व्यवहारिक रुपमा पुलिमराङ र तनहुँसुर जस्ता पवित्र सहिद भूमि, ऐतिहासिक र पुरातात्विक महत्वका स्थलहरुको जर्गेना गर्न सम्बन्धित निकायको ध्यान पुग्न सकेन् । जसकारण, पुलिमराङ तनहुँसुर जस्ता स्थलहरुको अस्तित्व अहिले संकटमा परेको छ ।




