इलामको कोल्बुङमा बस दुर्घटना भएको छ । विद्यार्थीहरु सवार सो बस दुर्घटनामा ३७ जना घाइते भएको बताइएको छ ।

शैक्षिक भ्रमणको शिलशिलामा धनुषाको जनकपुरबाट विद्यार्थी बोकेर इलामको कन्याम पुगेको आइतबार बेलुका कन्यामबाट फर्कने क्रममा रोङ गाउँपालिका– ३ कोल्बुङमा बस दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक बासुदेव खतिवडाका अनुसार ना ६ ख ८४२४ नम्बरको बस मेची राजमार्गबाट करिब तीन सय मिटर तल झरेको थियो ।

बेलुका साढे ५ बजे दुर्घटनामा परेको बसमाा ३७ जना सवार रहेको उनले बताए । बसमा सवार मध्ये ३६ जनाको उद्दार गरी उपचारका लागि विर्तामोड पठाइएको छ ।

बसमा च्यापिएका थप एक जनाको उद्धार गर्ने प्रयास भइरहेको उनले बताए । ‘बसमा सवार ३६ जनाको उद्दार गरी उपचारका लागि पठाएका छौं,’ उनले भने,‘ केही सामान्य र केही गम्भीर घाइते छन् ।’

स्रोत : अनलाइन खवर