तनहुँको दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पस क्याम्पस सञ्चालक समितिको अध्यक्षमा बुद्धिमान श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

क्याम्पसको ११ औं वार्षिक साधारण सभापछि भएको अधिवेशनबाट निर्वाचित भई आएका सदस्यहरु मध्येबाट श्रेष्ठलाई समितिको अध्यक्षमा चयन गरिएको हो । क्याम्पसको नियमावलीमा साधारण सभाबाट निर्वाचित सदस्य १६ जना र क्याम्पस सञ्चालक समितिका निवर्तमान अध्यक्ष मध्येबाट क्याम्पस सञ्चालक समिति अध्यक्ष छनौट गर्ने व्यवस्था रहेको छ ।

यसैबीच, भदौ २२ गते भएको सञ्चालक समितिको सदस्यका लागि भएको निर्वाचनमा खुलातर्फ मोहन गिरी, लक्ष्मीभक्त खनाल, अपार पौडेल, प्रदिप काफ्ले, सहवीर उच्चै ठकुरी, प्रा.डा. इश्वरचन्द्र वाग्ले र विष्णु ब. बस्नेत निर्वाचित भएका छन् । त्यसैगरि, लेखा समितिको सदस्यमा विवेक भट्टराई, ठाकुर दरै र सोमराज सिग्देल चयन भएका छन्। अल्पसंख्यक÷ जग्गादाताबाट खरसिं दरै, जनजातिबाट बुद्धिमान श्रेष्ठ र क्या. सुर्ज कुमार मल्ल, महिलाबाट कल्पना कोइराला पोख्रेल, शुशिला शर्मा र सृजना तिवारी, दलितबाट होम बहादुर रसाइली, अभिभावकबाट सरिता भण्डारी र चिज बहादुर दरै, र पुस्तकालय सल्लाहकारतर्फ हेम पौडेल, नीर बहादुर ठकुरी र प्रेम बहादुर राउत निर्वाचित भएका थिए ।

सो निर्वाचनमा ८९५ जना मतदाता रहेकोमा ६३७ जनाले मतदान गरेको निर्वाचन प्रवन्ध समितिका संयोजक अधिवक्ता त्रैलोक्य वाग्लेले जानकारी दिए। निर्वाचन समितिमा नेपाल पब्लिक क्याम्पस संघ क्याम्पस इकाई सभापति विजयराज खनाल र उपसभापति चिरञ्जीवि बस्नेत सदस्य रहेका थिए ।

यसैगरि, सञ्चालक समितिको शनिवारको बैठकले गोपाल सुर्खाली, ताराराम श्रेष्ठ र गजेन्द्रराज पन्थलाई सदस्य पदमा मनोनित गरेको छ । समितिमा जिल्ला समन्वय समिति, व्यास नगरपालिका, लायन्स क्लव तनहुँ, उधोग बाणिज्य संघ तनहुँ, शहिद चन्द्र नेपाली छात्रावास समितिका अध्यक्ष एवं प्रमुखहरु पदेन सदस्य रहने व्यवस्था छ ।

क्याम्पस सञ्चालक समितिका निवर्तमान अध्यक्ष ब्रह्मदत्त तिमल्सेनाको अध्यक्षतामा शनिबार बसेको समितिको बैठकले क्याम्पसको ११औं साधारण सभाबाट निर्वाचित सञ्चालक समिति सदस्य, पदेन सदस्य, पुस्तकालय सल्लाहकार सदस्य र आन्तरिक लेखा समिति सदस्यहरुलाई स्वागत गर्दै ३६औं वार्षिकोत्सव एवं ११औं साधारणसभा सम्पन्न गर्न सहयोग गर्ने क्याम्पस सञ्चालक समिति, साधारण सभा सदस्य निर्वाचन प्रबन्ध समिति, सरोकारवाला संघ सस्था, पत्रकार, अभिभावक प्राध्यापक कर्मचारी एवं विद्यार्थी लगायत सबैलाई धन्यवाद ज्ञापन गरेको छ । बैठकमा निवर्तमान अध्यक्ष तिमल्सेनाले नवनिर्वाचित अध्यक्ष श्रेष्ठलाई क्याम्पस संचालक समितिको निर्णय पुस्तिका हस्तान्तरण गरेका थिए । नवनिर्वाचित अध्यक्ष एवं सदस्यहरुलाई अविर र खादा लगाई वधाई ज्ञापन गरिएको थियो ।

बैठकमा गण्डकी प्रदेशका माननीय आन्तरिक मामलामा मन्त्री डोबाटे विक, जिल्ला समन्वय समिति, तनहुँका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, पूर्व अध्यक्ष तारा प्रसाद श्रेष्ठले नव गठित समितिलाई बधाई तथा कार्यकालको सफलताको शुभकामना दिएका थिए ।