संविधान सभा सदस्य एवं नेपाली काँग्रेसका अग्रज नेता रामचन्द्र पोखरेलले नेपाली काँग्रेसको राजनीतिमा अझै ५ वर्ष सक्रियपूर्वक लाग्ने बताएका छन् ।

पार्टीको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यको निर्वाचनमा पराजय पश्चात सोमबार दमौलीमा पत्रकार सम्मेलनमा बोल्दै नेता पोखरेलले महाधिवेशनमा भोग्नु परेको पराजयले आफू कत्ति पनि विचलित नभएको बताउँदै यसबाट राजनीतिमा थप सक्रिय भएर लाग्ने उत्प्रेरणा जागेको बताए ।

नेता पोखरेलले आफूले जहिले पनि त्याग र निष्ठाको राजनीति गरेको स्मरण गर्दै यस पटकको महाधिवेशनमा आफ्नो पराजयको दोष अरुलाई नभई आफैलाई दिएको बताए । मैले तीनवटा कारणले निर्वाचन हारे : पहिलो –गृहकार्यको कमी भयो, दोस्रो– प्रचारप्रसारमा कमी भयो, तेस्रो – कुनै पनि प्यानलमा पर्न सकिएन् । पत्रकारहरुको जिज्ञासामा पोखरेलले भने – अवको ५ वर्ष म सक्रिय राजनीतिमै हुन्छु र पार्टीलाई सक्दो सहयोग गर्छु । आसन्न स्थानीय, प्रदेश र संघीय निर्वाचनमा पार्टीका उम्मेदवारहरुलाई जिताउनु आफ्नो कर्तव्य हुने बताउँदै नेता पोखरेलले भने – मेरो अनुभवको पूर्ण प्रयोग हुने स्थान मैले अझै पाएको छैन्, समयले त्यो स्थान मलाई प्रदान गर्नेमा म विश्वस्त छु ।

मंसिर २४ देखि २७ सम्म काठमाण्डौंमा सम्पन्न काँग्रेसको महाधिवेशनमा केन्द्रीय सदस्य पदमा विजयी हुने आफ्ना मुख्य पाँच आधारहरु रहेको बताउँदै पोखरले चुनावी मैदानमा उत्रिएका थिए । तर समय र परिस्थितिले आफ्ना आधारहरु कमजोर भएको उनले स्वीकार गरे ।

नेता पोखरेल पार्टीको महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य र संविधान सभा सदस्य हुन् । पोखरेल तत्कालिन जिल्ला विकास समिति तनहुँको सभापति भएर कुशलतापूर्वक काम गरेका थिए । तत्पश्चात स्थानीय निकाय र स्थानीय सरकारको पक्षमा पोखरलले राष्ट्रिय र अन्तराष्ट्रिय मञ्चहरुमा वहस, पैरवी, र वकालत गर्दै आएका छन् । पोखरेल काँग्रेसका विश्वासिला, इमान्दार र बौद्धिक नेताका रुपमा परिचित छन् । उनले शिक्षा क्षेत्र, पत्रकारिता क्षेत्र र राजनीतिक क्षेत्रमा उदाहरणीय कार्यहरु गरेका थिए । नेता पोखरेलले तनहुँका विभिन्न विधालयमा शिक्षक र प्रधानाध्यापकका रुपमा शिक्षा क्षेत्रमा समर्पित गरे भने पार्टीको केन्द्रीय कार्यालयमा मुख्य सचिवको भूमिका निभाए । साथै पत्रकारिता क्षेत्रमा राष्ट्रिय समाचार समिति लगायत विभिन्न चर्चित मिडियाहरुमा काम गरे ।

पढ्नुहोस् नेता पोखरेलले जारी गरेको प्रेस विज्ञप्ति :