गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने पृथ्वी राजमार्गको दुरावस्थाले हद नाघिसकेको छ ।

गण्डकी प्रदेशवासीको लाइफलाईनको रुपमा रहेको पृथ्वी राजमार्गको मुग्लिन–कोत्रे सडक खण्डको अवस्था आजकल कन्तविजोग बनेको छ । हिलो, धुलो र सडक आसपासका भङ्गालोले राजमार्गको यात्रा कष्टकर मात्रै होइन् ज्यानकै जोखिम बनेको छ । राजमार्गमा पासो थाप्ने खाडल छन् भने त्यही खाडलमा वर्षातको पानी जमेर जलमग्न बन्छ । दैनिक हजारौँ सवारी गुड्ने देशकै एक प्रमुख राजमार्गको यात्रा हिउँद बर्खा सधैं कष्टकर बन्छ। सडकको खाडलमा पानी जमेर धान रोप्न मिल्ने जस्तो देखिन्छ ।

दुई लेनमा रहेको मुग्लिन–पोखरा सडक खण्डलाई चार लेन बनाउने क्रममा सो राजमार्ग अहिले निकै जीर्ण बनेको छ भने राजमार्गको यात्रा कष्टकर बनेको छ । विस्तारका क्रममा भत्किएको सडक बेलामै मर्मत नहुदाँ दुर्घटना बढेको स्थानीयको गुनासो छ ।

राजमार्ग विस्तारका क्रममा डोजर र निर्माण सामाग्रीको प्रयोगले राजमार्गमा ज्यान जोगाएर यात्रा गर्नु परेको छ। सडकमा दोहोरा नाला नभएकाले मास्तिरबाट आएको पानीको निकास नभएर सडक जलमग्न हुन्छ र भत्कन थाल्छ।
राजमार्गको अवस्था कन्तविजोग भएपनि मर्मत सम्भारका लागि निर्माण कम्पनीले खासै चासो दिएको छैन्। सडकमा टालाटुली हालेर अस्थायी काम हुँदै आएको छ ।

सडक ४ लेनको बनेपछि स्थायी समाधान हुने बताइएपनि अझै करिव २ वर्षसम्म सो राजमार्गको यात्रा कष्टकर बन्ने निश्चित छ । ४ लेनको सडक बनाउन सम्झौता भएपछि सो काम शुरु गरिएकोमा निर्माण कम्पनीको ढिलासुस्ती र कोरोना संक्रमकण कारण भएको लकडाउनका कारण निर्माण कार्य ढिलो सकिने भएको छ ।

राजमार्ग विस्तारका क्रममा नाली र कल्भर्ट पुरिएर सडक जलमग्न हुने गरेको छ भने राजमार्गमा सवारी साधन चिप्लिएर दुर्घटनाको जोखिम बढेको छ । जलमग्न सडक, कालोपत्रे उप्किएर बनेको खाडल छल्न खोज्दा सवारी साधनहरु दुर्घटनामा पर्दै आएका छन् । सडकको दुरावस्थाले कहिले बाइक पल्टन्छ । कहिले कार रोकिन्छ । कहिले स्थानीयले त कहिले यात्रुले नै धकलेर निकाल्छन् फसेका सवारी । त्यस्तै सडकमा एम्बुलेन्स गुडाउँदा विरामीलाई समयमै अस्पताल पु¥याउन समस्या भएको एम्बुलेन्स चालकको गुनासो छ।

दैनिक करिव ३ हजार सवारी साधन गुड्ने यो राजमार्गको दुरावस्थाले यात्रारत सबैलाई गिज्याइरहको भान हुन्छ । दुई पांग्रे देखि ठुला मालवाहक सवारीले निकै कष्टकरपुर्ण तरिकाले यो सडक पार गर्नु परेको छ तर पनि सडकको स्थायी समाधान र व्यवस्थापन गर्नमा खासै चासो कुनै पनि निकायले दिएका छैनन् । यति सम्मकी संघीय सरकारदेखि प्रदेश सरकारका मन्त्रीहरु करौंडौंको वातानुकुलित सवारी साधनमा यही राजमार्ग भएर यात्रा गर्छन् तर पनि उनीहरुको आँखा यसतर्फ पुग्न पुगेको देखिन्न ।

हाल राजमार्गका विभिन्न ठाउँमा डोजरले भित्ता काट्ने र खाल्टो भएको स्थानमा टेवा पर्खाल लगाएर फराकिलो बनाउने काम भईरहेको छ । मुग्लिन–पोखरा सडक खण्ड पर्यटकीय नगरी पोखरा भित्रने मुख्य प्रवेशद्वार हो । यहाँ पछिल्लो समय चार लेनको बनाउने गरी सडक विस्तार र स्तरोन्नति हुँदैछ । सङ्घीय राजधानी काठमाडौँ र गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने उक्त सडक विस्तार र स्तरोन्नतिको काम एसियाली विकास बैङ्कको आर्थिक सहयोगमा मुग्लिन–पोखरा सडक सुधार आयोजना अन्तर्गत भइरहेको छ ।

सुस्त गतिमा काम अघि बढ्दा सडक आसपासका व्यवसायी तथा सर्वसाधारण दिक्क छन् । पोखरा आउजाउ गर्ने यात्रुपनि सडकको धुलो र हिलोले हैरान छन् । सडकमा पानी पर्दा हिलो तथा अरू बेला धुलो नै धुलो हुन्छ । ठाउँ ठाउँमा पहिराका कारण यात्रु कष्टकर यात्रा गर्न बाध्य छन् । पोखरा–काठमाडौँको पाँच घण्टाको यात्रा १०/१२ घण्टासम्म लम्बिने गरेको छ ।

संकटमा पर्यटन व्यवसाय

सडक स्तरोन्नति सुस्त गतिमा हुँदा पोखराको पर्यटन व्यवसाय प्रभावित बनेको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायाण श्रेष्ठ बताउँछन्। विगतमा कोभिड–१९ लगायत कारणले थलिएको पोखराको पर्यटन व्यवसाय पोखरा–मुग्लिन सडकको अवस्थाले झन् थला परेको उनले बताए । “सडकको काम समयमै सम्पन्न गर्नेतर्फ सरकारको ध्यान जानुपर्छ”, उनले बताए– “चाँडो काम सम्पन्न गर्ने व्यवस्था मिलाएर आवतजावत सहज बनाउनुपर्छ ।” थलिएको पर्यटन बिस्तारै अघि बढे पनि मुग्लिन–पोखरा सडक खण्डका कारण समस्या भएको अध्यक्ष श्रेष्ठ बताउँछन् । सडक स्तरोन्नति र विस्तार आवतजावतलाई असर नगर्ने ढङ्गले गर्नुपर्ने उनको भनाइ छ ।

पोखरा–मुग्लिन सडक खण्डलाई आँबुखैरेनी र जामुने तथा जामुने–पोखरा गरी दुई खण्डमा विभाजन गरी काम अघि बढाइएको छ । आँबुखैरेनी–जामुने खण्डमा हालसम्म ३१ प्रतिशत र जामुने–पोखरा खण्डमा आठ प्रतिशतमात्र काम भएको छ । विदेशी तथा स्वदेशी पर्यटक घण्टौँ सडकमा बस्न बाध्य छन् । सडककै कारण बिरामी र अशक्त यात्रुलाई समस्या भएको अध्यक्ष श्रेष्ठले बताए ।

सम्झौता अनुसार उक्त सडक खण्डको स्तरोन्नति अबको आठ महिनामा सम्पन्न गर्नुपर्ने छ । दुई वर्षमा आँबुखैरेनीबाट जामुनेसम्मको खण्डमा ३१ प्रतिशतमात्रै काम भएको छ । जामुनेदेखि पोखरासम्मको खण्डमा आठ प्रतिशत काम भएको छ । पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत मुख्य बजारमा घरटहरा भत्काउने तयारी छ । मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)ले दमौली बजारमा घरटहरा भत्काउने तयारी गरेको हो । यसअघि मुख्य बजारभन्दा बाहेकका ठाउँमा घरटहरा हटाइएकामा अब मुख्य बजारमा काम थालिने योजना प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए ।

यस खण्डमा पाँच सय पाँच घरटहरा भत्काउनुपर्नेमा हालसम्म तीन सय ५० घरटहरा भत्काइसकिएको छ । घरटहरा भत्काउँदा रु २६ करोड मुआब्जा निर्धारण भएकामा हालसम्म रु १७ करोड ५० लाख मुआब्जा वितरण गरिएको उनले बताए । पूर्वी खण्डअन्तर्गत तनहुँको आँबुखैरेनी खण्डमा सात किलोमिटर कालोपत्र गर्न थालिएको छ । झण्डै ४२ किमी यो खण्डमा तीन ठुला र चार साना पुल निर्माण गरिनेछन् । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । यसको म्याद २०८१ वैशाखसम्म रहेको प्रमुख सुवेदीले बताए ।

वि.सं. २०२६ मा रेखाङ्कन भएको उक्त सडकमा सवारीसाधनको चाप बढ्दै गएपछि एसियाली विकास बैङ्क (एडिबी)को ऋण सहयोगमा चार लेनको बनाउन थालिएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाखमा तथा पश्चिम खण्डको ठेक्का रु सात अर्ब ४० करोड ४६ लाखमा गरिएको छ । पश्चिम खण्डअन्तर्गत जामुनदेखि पोखरासम्म २०७८ जेठ २ गते सम्झौता भई २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको हो ।

यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद २०८१ भदौसम्म रहेको छ । चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५/२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ ।

काम ढिलाइले अर्थतन्त्र मारमा

निर्माणाधीन सडक खण्डको ढिलाइले समग्र अर्थतन्त्र मारमा पारेको नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मी बताउँछन् । काम सन्तोषजनक नदेखिएको उल्लेख गर्दै उनले यसप्रति सम्बन्धित निकायको ध्यान जानुपर्ने बताए ।

मुग्लिन पोखरा सडकखण्डको कामको ढिलाइका कारण बन्दीपुरको पर्यटन व्यवसाय प्रभावित बन्न पुगेको क्षेत्रीय होटल सङ्घ बन्दीपुरका सभापति सङ्गीता प्रधानले बताइन् । उनले भनिन्, “चितवनबाट आउने पर्यटक मुग्लिनबाटै काठमाडौँ फर्किनुहुन्छ । बाटोकै कारण बन्दीपुरमा पर्यटकको आगमन घटेको छ । यहाँका व्यवसायी मारमा परेका छन् ।”

धुलाम्य र हिलाम्य बाटोका कारण पर्यटक बन्दीपुर उक्लिन गाह्रो मान्ने गरेको अवस्था रहेको उल्लेख गर्दै प्रधानले पोखरा आएका पर्यटक सडकमार्ग भन्दा हवाईमार्गबाट काठमाडौँ जाने गरेका बताइन् । उनले भनिन्, “सडक राम्रो हुन्थ्यो भने बन्दीपुर आएर एकरात भए पनि पर्यटक बस्ने अवस्था थियो । बन्दीपुरको मुख्य व्यवसाय होटल पर्यटन भए पनि अहिले हामी मारमा छौँ ।”

तनहुँ उद्योग वाणिज्य सङ्घका पूर्व उपाध्यक्ष वैकुण्ठनाथ मिश्र सडक धुलाम्य र जलाम्य हुँदा ज्यानै जान सक्ने खतरा रहेको बताउँछन् । उनले भने “काम सुस्त छ, प्रदूषणले गर्दा ज्यानै जान सक्ने खतरा बढेको छ । यसतर्फ सम्बन्धित निकायले ध्यान दिएको पाइँदैन ।” मिश्रले राजमार्गकै कारण व्यापार व्यवसाय चौपट भएको गुनासो गरे।

तनहुँ उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष इमकुमार मल्लले एउटै सडकमा तीनथरी मापदण्डले सबैमा अन्योल रहेको बताए । उनले भने, “सडक फराकिलो हुने कुरामा सबै खुसी छौँ, काममा ढिलाइ भइरहेको छ । तर मापदण्ड एउटै छैन । यसले अन्यौलता बढायो ।” तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले सडकको काम तीव्र गतिमा गर्नका लागि आयोजनालाई ध्यानाकर्षण गराइएको बताए ।

मुग्लिन पोखरा सडक आयोजना (पूर्वी खण्ड) का इन्जिनियर विष्णुप्रसाद पाण्डेले काम सन्तोषजनकरुपमा भइरहेको बताए । उन अनुसार हालसम्म ३२.५ प्रतिशत भौतिक प्रगति भएको छ । भदौदेखि कालोपत्रको काम सुरु गर्न निर्माण कम्पनीले सबै व्यवस्थापन गरिसकेको उनको भनाइ छ । उक्त खण्डमा १४ साना पुल सम्पन्न भइसकेका छन् । तीन वटा निर्माणको चरणमा छन् । बजार क्षेत्रमा छ तथा अन्यत्र चार लेनको सडक बनाउने योजना छ ।

जिल्लाका विभिन्न पालिका प्रमुखले आयोजनाको काममा सहजीकरण गर्दैआएको बताएका छन् । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले कामको गति सुस्त हुनुमा ठेकेदारको कमजोरी रहेको बाताए । शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले सडकको कामको गति बढाउनुपर्ने बताए । म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले काममा ढिलाइ गर्नेलाई कारबाही र छिटो गर्नेलाई पुरस्कारको व्यवस्था गरिनुपर्ने बताए । बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले सडक निर्माणको ढिलाइले बन्दीपुरको पर्यटन क्षेत्र पनि प्रभावित बन्न पुगेको बताए ।

राससको सहयोगमा