
कोरोना संक्रमणका कारण विदेशमा अलपत्र परेका र घर फर्कन चाहने ४० हजार ७ सय ९५ नेपाली स्वदेश फर्किएका छन्। नेपालीलाई उद्धार गर्ने सरकारको निर्णयअनुसार सोमबारसम्म सो संख्यामा नेपालीहरु विदेशबाट फर्किएका हुन् ।
यसैबीच, हजारौंको संख्यामा विदेशबाट नेपालीहरु फर्किएपछि नेपालमा बेरोजगारीको समस्या ह्वात्तै बढ्ने देखिएको छ ।
सोमबार मात्र विभिन्न ७ वटा उडानमार्फत एक हजार १ सय ६७ नेपाली फर्किएका छन्।
२ वटा शव र २ वर्षमुनिका ३ वटा बच्चा पनि आएका छन्। सोमबार यूएईबाट मात्र ७ सय ५७ जना आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय जनाएको छ।
हालसम्म साउदी अरबबाट ५ हजार ८ सय ७१, यूएईबाट १० हजार चार सय ८४, कुवेतबाट ६ हजार ३ सय २९, मलेसियाबाट पाँच हजार ९ सय ५७ र कतारबाट चार हजार ३ सय ८३ जना नेपाली स्वदेश फर्किएको कोरोना भाइरस संकट व्यवस्थापन केन्द्र(सीसिएमसी)ले जनाएको छ।




