नेकपाका उपाध्यक्ष वामदेव गौतमले अघि सारेको ६ बुँदे प्रस्तावको पार्टीका नेताहरुले विरोध गरेका छन् ।

पार्टीभित्र देखिएको विवाद समाधानका लागि भन्दै उपाध्यक्ष गौतमले ल्याएको प्रस्ताव फिर्ता लिन उनी निकट नेताहरुले दबाब दिएका छन्।

गौतमले ओलीलाई अनावश्यक काँध थापेको भन्दै बुधबार गौतमको निवासमा पुगेर नेकपाका केन्द्रीय सदस्यहरुले विरोध जनाएका थिए ।

गौतमले यो संसदको कार्यकालभर ओलीलाई प्रधानमन्त्री र महाधिवशेनसम्म अध्यक्ष कायम राख्नुपर्ने भन्दै शनिबार गरेको प्रस्तावप्रति उनी निकट नेताहरु नै असन्तुष्ट देखिएका हुन्।

केन्द्रीय सदस्यहरु ठाकुर गैरे, रामकुरीमा झाँक्री, दीपकप्रकाश भट्ट, रविन कोइराला, जीवनराम श्रेष्ठ, सुरेन्द्र मानन्धरलगायतका केन्द्रीय सदस्यहरुले उक्त प्रस्तावले ओलीलाई थप स्वइच्छाचारी बनाउने भन्दै गौतमलाई प्रस्ताव फिर्ता लिन दवाव दिएका छन् ।

नेताहरुले भने, ‘हामीले उक्त प्रस्तावले निकास दिँदैन भनेका हौं। अध्यक्ष ओलीको व्यवाहार सुध्रने अवस्था छैन। उहाँको स्वइच्छाचारीताले सीमा नाघेको छ।’

गौतम नेकपाको शक्ति सन्तुलनमा जहिले पनि ढुलमुले व्यवहार देखाएको भन्दै केन्द्रीय सदस्यहरुले त्यसलाई सुधार्नसमेत आग्रह गरेका छन्।

जवाफमा गौतमले आफूले पार्टी विभाजन रोक्ने उद्देश्यका साथ प्रस्ताव ल्याएकाले त्यसबाट पछि नफर्किने जवाफ दिए।

दीपकप्रकाश भट्टका अनुसार गौतमले आफू पार्टीको जुनजुन निकायमा रहेको छ त्यहाँ नै यो विषयमा छलफल चलाउन आग्रह गरेको थिए।

भेटमा सहभागी अर्का एक नेताका अनुसार उनले ओलीसँगको सम्बन्धबारे तीतो पोखेका थिए। ओलीलाई जहिले पनि साथ दिँदा पनि उनीबाट धोका मात्रै भएको तर पनि एकता जोगाउनु पर्ने बाध्यता रहेको उल्लेख गरे।

गौतमले व्यक्त गरेको कुरा उल्लेख गर्दै सहभागी एक नेताले भने, ‘यसअघि ओलीजीलाई साथ दिएर मैले जे गरेँ, त्यो गलत थियो। तर, अहिलेको परिस्थितिमा पार्टी विभाजन रोक्नैपर्ने अवस्था देखिएकाले प्रस्ताव अघि सारेको हुँ।’

नेकपाभित्रको विवाद बढ्दै जाँदा स्थायी समितिम अनिश्चित बनेपछि बुधबार नै १५२ जना केन्द्रीय सदस्यहरुले केन्द्रीय कमिटीको बैठक माग गर्दै हस्ताक्षर बुझाएका छन्।