
वि.सं. २००१ सालको असोजमा तनहुँको रिस्ती गाविस स्थित बाहुनपोखरामा जन्मेका नेता रामचन्द्र पौडेल १६ वर्षको उमेरदेखि नै राजनीतिमा लागे । राजा महेन्द्रले ०१७ सालमा तत्कालीन प्रधानमन्त्री बीपी कोइरालालाई जेल हालेपछि आक्रोशको ज्वालामुखी बोकेर आफु राजनीतिमा होमिएको पौडेल पञ्चायती राजतन्त्रका विरुद्ध संघर्षका क्रममा २०१९ देखि वि.सं. २०४६ सम्म विभिन्नपटक गरी १३ वर्ष जेल जीवन बिताएका छन् ।
नेपाली कांग्रेसद्वारा सञ्चालित ०१८ को सशस्त्र क्रान्तिमा पौडेलले सहभागिता जनाएका थिए । ०१९ सालमा स्वतन्त्र विद्यार्थी आन्दोलनका एक अभियन्ता पौडेल ०२३ सालमा सरस्वती क्याम्पसका विद्यार्थी युनियन सभापति निर्वाचित भएका थिए । ०२४ सालमा उनी प्रजातान्त्रिक समाजवादी युवा लिगको महासचिवमा निर्वाचत भए । ०२७ सालमा नेपाल
विद्यार्थी संघको स्थापनामा पौडेल पनि सहभागी थिए र, उनी संस्थापक केन्द्रीय सदस्य बने । त्यस्तै ०४० सालमा पौडेललाई कांग्रेसले केन्द्रीय प्रचार समितिको संयोजक बनायो । ०४४ सालमा नेपाली कांग्रेसको केन्द्रीय सदस्य बनेका पौडेल त्यसयता निरन्तर केन्द्रीय समितिमा छन् । पञ्चायतको अन्त्य भई ०४६ सालमा प्रजातन्त्रको पुनस्र्थापनापछि पौडेल ०४८ को निर्वाचनमा तनहुँ १ बाट संसद सदस्यमा निर्वाचित भए । त्यसपछि बनेको सरकारमा स्थानीय विकास मन्त्री भए । दोस्रोपटक ०४९ मा उनी स्थानीय विकास तथा कृषि मन्त्री बने । ०५१ सालको मध्यावधि चुनावमा तनहुँ २ बाट सांसद निर्वाचित भए । ०५१ सालको प्रतिनिधिसभामा सभामुख निर्वाचित भएर ५ वर्ष सेवा गरे । रामचन्द्र ०५६ सालमा तनहुँ २ बाट संसद सदस्यमा तेस्रो पटक निर्वाचित भए र ०५७ सालमा उपप्रधानमन्त्री, गृह तथा सञ्चारमन्त्रीको जिम्मेवारी सम्हाले । ०६२ सालमा कांग्रेस महामन्त्री भए ।
माओवादी शान्ति प्रक्रियामा आएपछि पौडेल शान्ति सचिवालयाको संयोजक पनि थिए । ०६३ सालमा उनी शान्ति तथा पुनर्निमाण मन्त्री भए, जुन सरकारमा माओवादी पनि संलग्न थियो । ०६४ सालमा उनी नेपाली कांग्रेसको उपसभापति भए । सोही वर्ष सम्पन्न संविधानसभा चुनावमा तनहुँ २ बाट चौथो पटक निर्वाचित भए । ०६५ सालमा उनी नेपाली कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भए । ०७० मा सम्पन्न संविधान सभाको दोस्रो निर्वाचनमा तनहुँ २ बाट पाचौं पटक निर्वाचित भए ।
सुशील कोइरालाको निधनपछि नेपाली कांग्रेसको कार्यवाहक सभापति बनेका पौडेल पटक–पटक मन्त्री भएर सरकारमा गए, पार्टीमा महामन्त्री र उपसभापतिसम्म भए । तर, सरकार र पार्टी दुवैतर्फको पहिलो स्थानसम्म नपुगेका पौडेल अहिले देशको तेस्रो राष्ट्रपतिका लागि उम्मेदवार बनेका छन् ।




