
तनहुँको म्याग्दे गाउँपालिका जनप्रतिनिधी व्यवसायिक कृषकको घरदैलोमा पुगेका छन् ।
गाँउपालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेको संयोजकत्वमा गठित समितीले पालिकाभित्र रहेर दर्ता गरेर व्यवसाय गरेका कृषकको अनुगमन तथा निरिक्षण गरेको हो । वास्तविक कृषकलाई पहिचान गरी उनिहरुलाई अनुदानका कार्यक्रमले उत्साहित बनाउन म्याग्दे गाँउपालिकाले व्यवसायिक फर्मको अनुगमन गरेको हो । अनुगमनमा पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, समितीका संयोजक घिमिरे, सदस्यद्धय हिरा गुरुङ, अनु महत श्रेष्ठ र शाखाका प्रमुख श्रीकृष्ण पौडेलले स्थलगत निरीक्षण गरेका थिए ।
अनुगमनका क्रममा म्याग्दे ४ मा रहेको नवदुर्गा कृषि तथा पशु फर्म, आशिक भैसी फर्म थर्पु, कायस्थ कृषि तथा पशु फर्म मनहरी, राना वंगुर फर्म लम्तरी, मिलीजुली एकीकृत कृषि तथा पशुपंक्षी फर्म मनहरी, हिमचुली कृषि तथा पशुपंक्षी फर्म मनहरि, थर्पु पशुपंक्षी फर्म लगायतको व्यवसायिक फर्ममा निरिक्षण गरेको हो । सो अवसरमा कृषकले पालिका सँग व्यवासायिक कृषकलाई पालिकाले राहत दिनुपर्ने, वजारको व्यवस्थापन गर्नुपर्ने, औजार उपलप्ध गराउनुपर्ने धारणा राखेका थिए ।
सो क्रममा नवदुर्गा कृषि फर्मका सञ्चालक युवराज शाहीले व्यवासायमा वैकवाट ऋण लिएर ठुलो लगानी गरेको तर वजारको व्यवस्थापन नभएको हुदाँ उत्पादित दुधले वजार नपाएको गुनासो गरे । वास्तविक किसान मर्कामा परेको तर अनुदान तथा राहत अरुले नै पाएको हुदाँ दुख लागेको वताए ।
म्याग्दे गाँउपालिकाले व्यवसायिक कृषकलाई अनुदानका लागि निवदेन दिन आग्रह गरेको थियो । कृषकले अनुदान माग गर्दै दिएको निवेदनको आधारमा अनुगमन गरिएको गाउँपालिकाका प्रेस सल्लाहकार राजकुमार श्रेष्ठ बिबिले जानकारी दिए । पालिकाले व्यवसायिक कृषकका लागि यस आर्थिक वर्षमा वोका वितरणमा ३ लाख ५० हजार, औजार च्याप कटरमा १ लाख, माछाको भुरा खरिदका लागी, गोठ खोर निर्माणका लागी ४ लाख, लोकल कुखुरामा १ लाख विनियोजित वजेट वाट कृषकलाई अनुदान वितरण गर्न लागिएको अनुगमन समितीका संयोजक तथा गाउपालिका उपाध्यक्ष वालकृष्ण घिमिरेले जानकारी दिए ।
पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले वास्तविक कृषक पहिचानका लागी अनुगमन तथा निरिक्षणमा गरीएको बताए । अनुगमनको संयोजक घिमिरेले जनताको आवश्यकता र कृषकको गुनासो सुन्न र त्यसको समाधानका लागी फर्म अनुगमनमा आएको बताए । उत्पादित वस्तुको वजारिकरणका सम्वन्धमा पनि पालिकाले चाडै नै धारणा वनाउने हुदाँ उत्पादनले मात्र समृद्ध म्याग्दे वनाउन सकिने हुदाँ असल कृषकलाई पालिकाले अनुदान दिने पालिकाले जनाएको छ ।
दुध उत्पादन गर्ने कृषकलाई प्रतिलिटर १० रुपियाँ दिने निर्णय भएको यसको लागि दश लाख रुपियाँ विनियोजन गरिएको तर रकम कम हुने अवस्था आएकोले थप वृद्धि गर्ने तयारी भईरहेको पालिकाले जनाएको छ । उत्पादनमा आधारित कार्यक्रमलाई प्रोत्साहन गर्ने प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताए ।




