
तनहुँको व्यास नगरपालिकाकी उपप्रमुख इन्दीरा दरैले महिलाहरु संगठित भई सक्षम हुनुर्नेमा जोड दिएकी छिन् । महिला दिदीबहिनीहरु विच आत्मियता बढाउन शनिबार दमौलीमा नारी सद्भाव कार्यक्रमका अवसरमा उपप्रमुख दरैले सो कुरा बताएकी हुन् । व्यास नगरपालिका–२ दमौली स्थित उद्यमशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडद्धारा सो कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रममा बोल्दै उपप्रमुख दरैले नारीहरु विच आत्मियता बढाउन गरिएको कार्यक्रम निकै रचनात्मक भएको बताईन् । ‘कार्यक्रमले महिला दिदीबहिनी विच सद्भाव बढाउन अहम् भुमिका खेल्ने ठानेको छु,’ उनले भनिन्, ‘महिलाहरु संगठित र सचेत बनाउन यस कार्यक्रमले ठुृलो सहयोग पुर्याएको मैले ठानेको छु, त्यसको लागि आयोजकलाई धन्यवाद व्यक्त गर्दछु।’
महिलालाई एकिकृत गरी उद्यमशीलता र नेतृत्व विकासमा सहकारी संस्थाले पुर्याएको योगदानको जति प्रशंसा गरे पनि कम हुने महिलाउद्यमी संघ नेपाल तनहुँ शाखा अध्यक्ष निर्मला मल्लले बताईन् । उद्यमशीलले सहकार्यका साथ समाज परिवर्तन गर्न चाहेको आफूले महशुस गरेको उनले सुनाईन् । ‘सहकारीले महिलाहरुको नेतृत्व विकासका कार्यक्रम गरेको यस अघि थाहा पाएको थिईन,’उनले भनिन्, ‘त्यसको लागि सहकारी संस्थालाई धन्यवाद भन्नैपर्छ ।’
कार्यक्रममा लायन्स क्लव अफ व्यास सिटीका अध्यक्ष अञ्जु दाहाल, कृष्णदेव वचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक रञ्जीता क्षेत्री लगायतले महिलालाई संगठित गराउन सहकारीले गरेको कार्यक्रम फलदायी भएको बताए । महिलाहरुको हक, अधिकार र संगठित भई आपसी सद्भावको विकास गर्न अन्य सहकारीलाई समेत प्रेरणा जाग्न आवश्यक रहेको उनीहरुले बताएका थिए ।
महिलाहरुले मौलिक तिज गितको संरक्षण गर्न आलोपालो गित गाएर प्रस्तुती गर्दै नृत्य समेत गरेका थिए । कार्यक्रममा सरल र सहज भेषभूषाका साथै उत्कृष्ट नृत्य गर्नेलाई समेत सम्मान गरिएको थियो । निर्णायकहरु महिला उद्यमी संघ नेपाल तनहुँशाखा अध्यक्ष मल्ल, लायन्स क्लव अफ व्यास सिटीका अध्यक्ष दाहाल र महिला नेतृ योगिता श्रेष्ठ गरी ३ सदस्यिय समितिको सिफारिसमा उत्कृष्ट नृत्यमा शोभा घिमिरे, गरगहना रहित उत्कृष्ट सरल र सहज पहिरनमा अस्मिता दाहाल र नारायणी मल्ल सम्मानित भए । सरल र सहजपहिरनमै लक्ष्मी श्रेष्ठलाई समेत सम्मान गरिएको थियो ।

महिलाहरुको क्षमता विकासमा सहकारीको समेत योगदान हुनुपर्छ भन्ने ठानेर आफूहरुले कार्यक्रम गरेको आयोजक सहकारी संस्थाका सदस्य तथा कार्यक्रम संयोजक राधिका लम्साल खनालले बताईन् । महिलाहरुको उल्लेख्य उपस्थितीले आफूहरुलाई थप हौसला मिलेको उनले बताईन् । महिलाहरुको नेतृत्व विकासमा पुरुषहरु पनि जिम्मेवार हुनुपर्छ भन्ने ठानेर आफूहरुले कार्यक्रम गर्ने जमर्को गरेको आयोजक सहकारी संस्थाका अध्यक्ष ईन्द्रलाल श्रेष्ठ विकल्पले बताए । कार्यक्रममा सहभागी सबैलाई उनले धन्यवाद व्यक्त गरे ।
कार्यक्रममा दमौली बजार क्षेत्रका १ सयभन्दा धेरै महिलाको सहभागिता रहेको थियो ।




