
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल यसपटक १४औं महाधिवेशनको प्रक्रियामा सहभागी भएनन् । १३औं महाधिवेशनमा शेरबहादुर देउवाका निकटतम प्रतिद्वन्द्वी पौडेल पार्टीभित्र प्रतिपक्षको भूमिकामा थिए ।
देउवाको विकल्प अनिवार्य छ भन्दै कस्सिएर लागेका पौडेल १४औँ महाधिवेशनको संघारमा अन्ततः प्रक्रियाबाट बाहिरै रहे। यो कार्यकालमा आफ्नै समूहबाट सहयोग नपाएको गुनासो गर्दै आएका पौडेल तटस्थ भूमिकामा बाहिर रहँदा त्यसको अप्रत्यक्ष फाइदा सभापतिमा पुनः निर्वाचित शेरबहादुर देउवालाई नै पर्यो ।
उनै पौडेल अहिले दैनिक निवासमा आउने कार्यकर्ता भेटघाटबाहेक पार्टीको काममा सक्रिय छैनन् तर उनले आफू राजनीतिबाट बिश्राम नलिएको र मैदानबाट नभागेको बताउँदै आएका छन् ।
प्रस्तुत छ, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसंग लिइएको अन्तर्वार्ता
नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा अभिभावकीय भूमिका निर्वाह गरेर बस्नुभयो । महाधिवेशनको प्रक्रियामा सहभागी हुनुभएन । आजको दिनसम्म पनि कार्यकर्ता भेटघाटका लागि आइरहेका छन् । पार्टीभित्रका नेताहरुलाई पनि तपाईंले के निर्णय गर्नुभएको होला भन्ने लागेको पाइयो । तपाईंसँग कार्यकर्ता आएर के भनिरहेका छन् ? उनीहरुको धारणा के रहेछ ?
वास्तवमा मैले अभिभावकीय भूमिकामा आफूलाई राखेको होइन । म त्यो उद्घोष पनि गर्दिन । केबल यो चुनावको प्रतिष्पर्धाबाट आफूलाई अलग राखेको हुँ ।
अन्तिम दिनमा प्रकाशमानजीले म ‘नलडी’ छोड्दिन भन्नुभयो । त्यसपछि डा. शेखर कोइरालाले पनि ‘अब रामचन्द्र दाइ लड्नुहुँदैन तपाईं जोगिएर बस्नुपर्छ’ भन्नुभयो ।
प्रकाशमान सिंह लडे पनि ‘रामचन्द्र दाइ हामी तपाईंको साथमा छौं’ भन्नुहोला भन्ने अपेक्षा राखेको थिएँ । उहाँले पनि तपाईं लड्न हुँदैन भन्नुभयो । शशांक डा. सा’बले ‘चुनाव त रामचन्द्र दाइ लडे मात्रै जितिन्छ’ भन्दा केन्द्रीय सदस्यसहित हाम्रा पक्षका नेताहरुले त्यसलाई महत्व दिनुभएन ।
यो मनोनयनको अघिल्लो दिनको कुरा हो । मैरै टिममा रहेका केन्द्रीय सदस्यहरुले समेत महत्व नदिएपछि मैले सोचे कि अब यो प्रतिष्पर्धाबाट आफूलाई अलग राख्नु नै श्रेयष्कर हुन्छ । त्यसकारण तपाईं प्रतिष्पर्धाबाट अलग नै रहनुपर्छ भन्ने साथीहरुको आशय बुझेपछि म अलग रहेको हो । मैले अरु केही गरेको होइन ।
कार्यकर्ताहरुको धारणा के रहेछ त ? तपाईंलाई निरन्तर के भन्न आइरहेका छन्, महाधिवेशन प्रतिनिधि र जिल्लाका नेताहरु ?
साथीहरु के भन्नुहुन्छ भने हामी त एकदमै बिचलित भयौं । तपाईं नउठ्दा धेरैजनाको बिचल्ली भयो । तपाईं उठ्नुभएको भए चुनाव जितिन्थ्यो । हामी अलपत्र पर्यौँ भन्नुहुन्छ साथीहरु । यस्तो बेलामा मैले के गरुँ ? मैले त सकेसम्म मिलाएर लैजान कोशिस गरेकोे हो । सबै मिलेर जाऔं अहिलेको पार्टीलाई नयाँ विकल्प दिऔं, पार्टीमा रुपान्तरण गरौं भन्ने चाहना थियो । त्योअनुसार मैले सबै प्रयत्न गर्दा पनि मैले सकिन ।
तपाईंको यो निर्णयपछि कांग्रेसभित्र विभिन्न टिकाटिप्पणी भइरहेको सुनिन्छ । राजनीतिक रुपमा आफूलाई क्षति भएको महसुस भइरहेको छ कि, मैले ठिक गरेँ जस्तो लागिरहेको छ ?
मेरो आत्मालाई सोध्दा त त्यो बेलामा जे निर्णय गरेँ त्यो ठिकै गरेँ भन्ने छ । त्यो दिन बेलुका प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाजी मकहाँ आउनुभयो । मैले उहाँ बस्नेबित्तिकै भनेँ यो प्रतिष्पर्धा स्वस्थ भइहरेको मलाई लागेन ।
त्यसकारण ‘शेरबहादुरजी म यो प्रतिष्पर्धाबाट अलग भएँ’ भन्दा उहाँ निरुत्तर हुनुभयो । त्यो शब्दले उहाँलाई पनि समात्यो । यो प्रतिष्पर्धा स्वच्छ भएन भन्ने शब्दले समातेको हो । त्यसपछि उहाँले एउटामात्रै कुरा भन्नुभयो ‘रामचन्द्रजी तपाईं स्वास्थ्य राम्रो राखेर बस्नुस् । राष्ट्रलाई तपाईंको आवश्यकता छ ।’
योभन्दा बढी राजनीतिक कुरा हुँदै भएन । प्रधानमन्त्री घरमा आइसकेपछि सबै परिवार आए फोटो खिचाए, राजनीतिकभन्दा बढी पारिवारिक कुराकानी भए । त्यसपछि प्रधानमन्त्री जानुभएको हो ।
तर, त्यो भेटलाई कतिपयले शेरबहादुर देउवा तपाईंको निवासमा आएपछि तपाईंमा परिवर्तन आयो । लामो समयसम्म देउवाको प्रवृत्तिविरुद्ध लडिरहनुभएको नेता उतै लाग्नुभयो । प्रधानमन्त्रीसमेत रहेका देउवाले भेटेर राष्ट्रपति, भावि प्रधानमन्त्री वा अरु केही आश्वासन दिनुभएको हुनसक्छ भन्नेहरु छन् नि ! के तपाईंले कुनै आश्वासन पाउनुभएको हो ?
यो शंकालु मनोवृत्ति मात्रै हो । वास्तवमा त्यो निर्णय त मैले शेरबहादुर देउवा मेरो निवासमा आइसकेपछि गरेको होइन नि । मैले त सानेपामा नै गरेको थिएँ । चाक्सीबारीमा नै त्यो निर्णय गरेको थिएँ । अनुपम (मनोनयनको अघिल्लो दिन) मा गएर त त्यो निर्णयको पुष्टि भइसकेको थियो ।
शेखर कोइरालाले समेत तपाईं अब अलग्गै बस्नुपर्छ, चुनाव लड्नुहुँदैन भनेर भनिसकेपछि अरु साथीहरुमा पनि कता कता त्यो आशय देखेँ । मैले त्यसपछि त्यही बेलामा सुनाएको निर्णय हो । म अब प्रतिष्पर्धाबाट आफूलाई विल्कुलै अलग राख्छु । ‘साथीहरु आ– आफ्नो सुरक्षा आफैं गर्नुस्’ भनेर मैले शेरबहादुरजीलाई भेट्नुभन्दा कति अघि नै निर्णय दिइसकेको थिएँ ।
शेरबहादुर देउवाबाट परिवर्तन हुने भन्ने कुरै आएन । मलाई यस्ता कुराले कहिल्यै परिवर्तन गर्न सकेन । यस्ता कुरा कहिल्यै सम्झौता नगर्ने मान्छे हुँ म, यति कुुरा सबैले बुझ्नुपर्छ । आजसम्म कस्ता कस्ता ‘अफरहरु’लाई मतलब नराखेर आफ्नो आस्था, विश्वासमा अडिग भएर अघि बढिरहेको हो । उहाँसँग मेरो कुनै किसिमको ‘लप्पन छप्पन’ कुरै थिएन ।
तपाईं तटस्थ बस्दा त्यसको फाइदा शेरबहादुर देउवाले लिनुभयो, होइन र ?
फाइदा चाहिँ त भएको हुनसक्छ । केही फरक त पर्न सक्छ । केही फरक पर्दैन भनेर त म पनि भन्न सक्दिन । म नै मैदानमा कस्सिएर प्रचार गर्दै गएको भए सायद अलिअलि फरक हुँदो हो ।
तर, तात्विक फरक चाहिँ मैले देख्दिन । किनभने विमलेन्द्र निधिले आफ्नो भोट लिइहाल्नुभयो ।
प्रकाशमान सिंहले काठमाडौंको उहाँका भोट लिनुभयो । बाँकी रहेका त हाम्रा भोट हुन् सबै । शेरबहादुर देउवाका तलैदेखि बनेर आएका मान्छे थिए । तिनलाई मैलेमात्रै अपिल गर्न अलिकति सक्थेँ । किनभने उहाँको र मेरोबीचमा तुलना हुँदा सहानुभूतिको भोट मतिर आउँथ्यो । त्यो चाहिँ म आफैं मैदानमा नै भएको भए निश्चय नै फरक पर्थ्यो होला । तर, मैले गएर प्रचार गर्दा धेरै फरक पार्ने देख्दिन ।
जिल्ला जिल्लाबाट आउने जो रामचन्द्र पौडेलका प्रतिनिधिहरु थिए उनीहरु चाहिँ विभाजित भए कि ?
जो जिल्लाबाट आए उनीहरुले जहाँ भोट हाल्ने हो त्यहीँ हालेर गए । फरक परेको भए त उहाँ (शेखर कोइराला)को १८ सय बढी भोट कहाँबाट आउथ्यो ? त्यसैले साथीहरुले आफ्नो निष्ठा, इमान चाहिँ राखेका छन् । यति मात्रै हो कि शेरबहादुरलाई दिउँ कि रामचन्द्रलाई दिउँ भनेर आएकाहरु शेरबहादुर देउवातिरै गए । म भएको भए उनीहरु यता आकर्षित हुनेरहेछन् भन्ने मलाई पछि थाहा भयो ।
महाधिवेशनमा तपाईं उमेदवार भएको भए जित्नुहुन्थ्यो ?
मैले जति रिपोर्ट पाएको छु । आफैं उमेदवार भएको भए त्यहाँ शेरबहादुर देउवाकैबाट आए पनि विवेकले चाहिँ यसपाली रामचन्द्रलाई न्याय गर्नुपर्छ, यिनलाई अति नै भयो, सँगै दुःख गरेर आएका मान्छे समकालीन हुन्, शेरबहादुर देउवाले पटकपटक अवसर पाएका छन् ।
त्यसको सदूपयोग गर्न सकेका छैनन्, रामचन्द्रलाई एकपटक टेस्ट गरौं न भन्ने ठूलो संख्या त्यहाँबाट निस्कन्थ्यो भन्ने मलाई लाग्छ ।
चारजना सभापतिको उमेदवार हुँदाहुँदै पनि ति कार्यकर्ताको जोडबल रहेछ । तपाईं किन पछि हट्नुभयो त ? दोस्रो चरणमा जाँदा सबैलाई समेट्न सक्नुहुन्थ्यो नि, होइन र ?
मलाई के लाग्यो भने यो चार, पाँच जना किन भइरहेको छ ? जति गर्दा पनि साथीहरु किन टसमस हुनुहुन्न ? जसरी पनि म चुनाव लड्छु लड्छु भनिरहनुभयो ।
शेरबहादुर देउवाबाट पार्टीलाई एउटा विकल्प दिन चाहेका थियौँ, रुपान्तरणकै पक्षमा उहाँहरु हुनुहुन्थ्यो भने त रामचन्द्र दाइ फ्रन्टमा हुनुहुन्छ, उहाँ अघिल्लो पटकको घाइते हो । उहाँलाई नै बलियो बनाउँ भन्ने हुुनुपर्थ्यो नि । तर, त्यो मैले कहिँ पनि देखिन साथीहरुमा । हुँदाहुँदा प्रकाशमान सिंह र शेखर कोइरालाले मेरो फोनसम्म उठाउन छाड्नुभयो । शेखर कोइरालालाई विराटनगरमा यस विषयमा कार्यकर्ताले प्रश्न पनि गरे । रामचन्द्र दाइको फोन किन नउठाउनुभएको ? भनेर पनि प्रश्न गरे ।
उहाँले ‘रामचन्द्र दाई एउटा उमेदवार बनौं भन्ने हो, मिलौं भन्ने हो । उहाँ सिनियर मान्छे, सम्मानित मान्छेलाई चित्त दुखाउनुभन्दा मैले फोन नै नउठाएपछि तितो कुरा त गर्नुपर्दैन नि’ भनेर खुलेआम भन्नुभएको कुरा मलाई थाहा छ नि ।
अनुपम फुडल्याण्डमा पुगेपछि शेखर कोइरालाले प्रकाशमान सिंह उठे पनि तपाईं उठनुस् म पछि हट्छु भन्नुभएको होइन ? त्यहाँ के भन्नुभएको हो ?
शेखर कोइरालाले रामचन्द्र दाइ तपाईं अघि बढ्नुस् भनेको भए म लड्थेँ । त्यसो भन्नुभएन । मैले उहाँबाट त्यही अपेक्षा गरेको थिएँ । ‘रामचन्द्र दाइ अब प्रकाशमानलाई जान दिऔं अगाडि बढौं’ भन्नुहुन्छ भन्ने मलाई विश्वास थियो । तर, उहाँले त्यसको सट्टामा तपाईं कुनै हालतमा चुनाव लड्नुहुँदैन । तपाईं अलग रहनुपर्छ भन्ने ‘डिम्लोम्याटिक’ भाषा प्रयोग गर्नुभयो ।
तपाईंको पुरानो समूहबाट दुइवटा उमेदवार प्रतिस्पर्धामा भाग लिए । साँच्चिकै तपाईंको आत्मसम्मानलाई ठेस पुर्याउने, अलग्गै बस्न बाध्य पार्ने व्यक्ति चाहिँ को थियो दुईजनामा ?
अलिकति ‘रफ’ तरिकाबाट प्रकाशमान सिंह प्रस्तुत भएकै हो ।
अलिकति खस्रो ढंगले प्रस्तुत हुनभो । शेखर डा. सा’बको चाहिँ अलिकति ‘डिप्लोम्याटिक’ थियो । उहाँको ‘रफ’ कुरा केही थिएन । तर, भित्र अडानचाहिँ प्रकाश लडेपछि म पनि लड्छु लड्छु भन्ने लाग्यो । तर, उहाँले त्यसरी व्यक्त गर्नुभएन । प्रकाशजी छोड्नुहुन्छ भने त म पनि छोड्छु नि भन्ने हिसाबमा भन्नुभयो । प्रकाशजीले नछोड्ने नै भइसकेपछि अब तपाईं लड्नुहुन्न भन्नेमा पुग्नुभो ।
अब चाहिँ तपाईं राजनीतिमा कसरी अघि बढ्नुुहुन्छ ? तपाईं महाधिवेशनको प्रकियाबाट बाहिरिनुभएको हो कि राजनीतिबाटै बाहिरिन खोज्नुभएको हो ? कांग्रेसका केही पुराना नेताहरु उत्तरार्धतिर पार्टीबाटै अलग भएजस्तै तपाईं पनि हुन लाग्नुभएको हो ?
म न्यायको पक्षमा लडिरहन्छु सत्यका पक्षमा बोलिरहन्छु । यो कर्मबाट म टाढा भाग्दिन ।
चाक्सीबारीमा म केही ‘सेन्टिमेन्टल’ पनि भएकै हो । कांगेसको राजनीति, देशको राजनीति यी सबैसित केही वितृष्णा पनि आएकै हो । मैले के बिराएको छु र यस्तो गर्छौ भनेर चाक्सीबारीमा म द्रवित भएकै हो ।
तर, पछि सोचेको छु कि मैले गिरिजाबाबुलाई रामबरण यादव राष्ट्रपति हुनुअघि भनेको थिएँ । म त्यो कुरा मेरो मनमा अहिलेसम्म कायमै राखेको छु । त्यो के हो भने यो मुलुकमा डेमोक्रेसीको लडाइँ अझै सकिएको छैन । त्यो लडाईँ लड्न बाँकी छ र म मैदानबाटै लड्छु ।
मेरो मनमा अहिले पनि त्यही कुरा आएको छ । म जहाँ रहुँ यो मुलुकमा स्थिरता, सुशासन, विकास, सामाजिक न्याय यी चार कुराका लागि ‘मनसा, बाचा कर्मणा’ मेरो बाचा शक्तिले भ्याएसम्म, जीवन रहेसम्म यसका लागि लडाईँ चाहिँ लडिरहन्छु । मलाई कुन पद, के ठाउँको मतलब छैन । यो विचारलाई लिएर मानसिक क्रियाशीलता, शारीरिक क्रियाशीलता जीवितै राख्ुछ । म लोकतन्त्र रक्षाको मैदानबाट भाग्दिन ।
त्यागी नेता गणेशमान सिंहको निवास चाक्सिबारीमा भावुक भएर बाहिरिँदै गर्दा के कुरा मनमा आइरहेको थियो ?
मलाई गणेशमानजीले कलबलगुडीमा म कांग्रेस छोड्छु, राजनीतिबाट अलग बस्छु भनेपछि एउटा रुवाबासी पार्टीमा चलिरहेको थियो । त्यही कुरा मनमा आइरहेको थियो ।
तपाईंले डेमोक्रेसीका लागि लड्ने मैदान कुन हो ? त्यो मैदानका लागि आगामी प्रतिनिधिसभामा तनहुँबाट चुनाव लड्नुुहन्छ ?
त्यसबारे मैले सोचेको छैन । चुनाव लड्ने कुरा, पद प्राप्त गर्ने कुरालाई महत्व दिएको पनि छैन । तर, इस्यूमा कजका लागि लड्ने हो । त्यसैले मैले सधैं भन्दै आएँ । मैले सत्ताको लागि होइन व्यवस्थाको लागि लडिरहेको छु ।
म सत्तालाई भन्दा व्यवस्थालाई महत्व दिन्छु । किनभने ७० वर्षदेखि भौतारियौं । नेपालमा कहिल्यै व्यवस्थाको टुंगो लाग्न सकेन ।
त्यही भारतमा सन् १९४७ मा परिवर्तन आयो त्यही व्यवस्था चलिरहेको छ । त्यही चीनमा १९४९ मा व्यवस्थामा आयो । त्यहीले त्यत्रो उद्योग चलिरहेको छ । दुनिँयामा यत्रो २१औं शताब्दीका उदयमान शक्ति राष्ट्र बन्न पुगे ।
तर हामीले अहिलेसम्म पनि व्यवस्थाको टुंगो लगाउन सकेनौं । भर्खरै संविधानसभाबाट संविधान बनाएर संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रसहितको बहुदलीय संसदीय प्रणालीको टुंगो लगायौं ।
तर पनि यसमाथि प्रश्न उठाइरहेको छ भने त्यो गराउन चाहने शक्तिसँग अझै लड्नु छ । मैदान छाड्दिन ।
त्यसका लागि त प्रधानमन्त्री वा पार्टीको नेतृत्वमा नपुगीकन त निकै लामो संघर्ष गर्नुपर्यो नि त । त्यसका लागि तयारीमा हुनुहुन्छ कि हुनुहुन्न ?
रक्षाको लडाईं त जहाँ बसेर नि गर्न सकिन्छ । त्यसलाई साकार पार्नका निम्ति जिम्मेवारीमा पुगेर गर्न सजिलो हुन्छ । त्यो जिम्मेवारी आइपर्छ भने त्यसबाट भाग्नेवाला पनि छैन ।
तर, जिम्मेवारीका लागि भनेर लड्दिन । पदका लागि भनेर लड्दिन । त्यसको ‘बाई इम्पिलिकेसन’ जुन म लडाईं लडिरहेको हुन्छु यो पुष्टि गर्नका लागि मेरा सामु जिम्मेवारी आउँछ भने मुख मोड्ने पनि होइन ।
प्रधानमन्त्री हुन्छु, देश यसरी अघि बढाउँछु, लोकतन्त्रका अवयव यसरी चलायमान बनाउँछु भन्ने केही सोच त होला नि तपाईंमा ?
समाजका लागि मैले अघि सारेका चार कुरा भए सुखी शान्त नेपाल बन्छ ।
नेपालको उन्नती हुन्छ भन्ने कुरामा म विश्वास गर्छु । यो हुनपर्छ भन्ने कुरामा पनि म विश्वास गर्छु । तर, म प्रधानमन्त्री भएमा मात्रै यी चारवटा कुरा हुन्छ वा मैले पद लिएर मात्रै यो कुरा गर्ने भन्नेमा छैन ।
कांग्रेस अब २०५६ सालको मोडलमा जानुपर्छ, गिरिजाबाबुले किसनुजीलाई अघि सारेर चुनावमा जानुभएको थियो । कतिपयले यो नेतृत्वले पनि त्यसैगरी रामचन्द्र पौडेलको अनुहार लिएर जानुपर्छ भन्छन्, हुन त त्यो संख्या थोरै छ । पार्टीले त्यो निर्णय गर्यो भने तपाईंलाई स्वीकार्य छ ?
कसरी जाने भन्ने मैले निर्णय गर्ने पनि होइन, यो अपेक्षा राख्ने कुरा पनि होइन । पार्टीका साथीहरुले के आवश्यकता महसुस गर्छन्, पार्टीले के महसुस गर्छ ? पार्टीले मलाई कुन ठाउँमा प्रयोग गर्न चाहन्छ त्यो पार्टीको कुरा हो । मैले भनेर हुने कुरा पनि होइन ।
मैले अपेक्षा राखेर, माग गरेर हिँड्ने कुरा पनि होइन । तर, पार्टीको आवश्यकतालाई इन्कार गर्नसक्ने स्थितिमा हुन सक्दिन । किनभने मैले काम गर्ने मौका, काम गर्ने ठाउँ पाउँदा त्यसबाट भाग्ने गरेको छैन ।
राष्ट्रपतिको उमेदवार बन्ने कुरामा के हो नि तपाईंको धारणा ?
मलाई आफूले भनेका काम गर्ने हुटहुटी हो । मैले सुविधा भोग्ने पदको अपेक्षा गरेकै छैन ।
मैले यो राष्ट्रका लागि देन दिन सक्छु भने नेपाल र नेपालीलाई केही न केही योगदान दिन सक्छु भने जहाँबाट दिन सक्छु त्यसलाई मैले त्यो जिम्मेवारीबाट मुख मोड्दिन ।
मलाई सुविधाजनक पदको अभिलाषा छैन र कसैसँग कम्प्रमाइज गर्ने कुरा आउँदैन ।
पार्टीले निर्णय गर्यो भने ?
पार्टीको निर्णयलाई त मैले अवज्ञा गरेकै छैन । कुनै पनि निर्णयको अवज्ञा गर्दिन । निर्णयको लागि म लड्छु । निर्णय भइसकेपछि मैले मानेकै छु ।
तपाईंको विचारमा राष्ट्रपति पद चाहिँ सुविधाको पद मात्रै हो ?
मलाई लाग्छ अहिलेको शुशोभनको पद मात्रै हो । यसबाट एक्सनमा आएर काम गर्न सकिँदैन । सुशासन दिने भूमिका केही हुँदैन । विकास गर्ने भूमिका हुँदैन । देशलाई सामाजिक न्याय कायम गराउन जे–जे गर्नुपर्ने नियम, सरकारी कामकारबाही केही पनि त्यहाँ एक्टिभ पोष्ट नै होइन ।
त्यहाँबाट देशमा आपत पर्यो, असहज स्थिति आइपर्यो भने राष्टलाई जोगाउनुपर्ने अन्तिम बिन्दुमा मात्र भूमिका हुन्छ । राष्ट्र विपदमा पर्दा खस्न लागेकोलाई थाम्न सक्ने पद हो ।
२०७४ सालको चुनावपछि शेरबहादुर देउवाले लिएका निर्णयहरु, अभिव्यक्तिहरुले कांग्रेसलाई घाटा पुर्याइरहेका छन् । उनको विकल्प खोज्नु अनिवार्य सर्त हो भनेर तपाईं लागि पर्नुभएको थियो । अहिले आएर देउवा नै सभापतिमा निर्वाचित भए । त्यतिमात्रै होइन ८२ प्रतिशत उहाँकै पक्षधरको केन्द्रीय समितिमा प्रतिनिधित्व भयो । यो देखेर तपाईंलाई खुसी लागेको छ कि दुःख ?
यो मलाई दुःख त के लाग्ने ? शेरबहादुरजी र म सानैदेखि सँगसँगै हुर्किएर आएको मान्छे हो ।
तर, मलाई चिन्ता अवश्य छ । मलाई यो देशप्रति चिन्ता छ । गरिब जनताप्रति मेरो चिन्ता छ । किनभने ‘कन्ट्रिव्युसन’ केही गर्न नपर्ने, सत्तामा दोहोर्याइ दोहोर्याइ आउने अनि असफल भइरहने । मलाई चिन्ता छ । सभापतीलाई बधाई दिँदा पनि त्यही भनेँ ।
हाम्रा सभापतिजीको भाग्य ठूलो रहेछ, परीपरी आउने । सत्तामा पुग्नुभयो । केपी ओलीसँग मिलेर चुनावमा जान खोजेको मान्छे प्रधानमन्त्री बन्न पुग्नुभयो । प्रधानमन्त्रीको हैसियतले फेरि सभापति बन्न मद्दत पनि गर्यो । हाम्रै बीचमा खेल्ने खेलमा पनि उहाँ सफल हुनुभयो । त्यसमा त मैले उहाँको रिस गरेर भएन ।
तपाईंहरुको बीचमा चाहिँ उहाँ नै खेल्नुभएको हो र ?
खै मलाई त लाग्दैन यो प्रतिष्पर्धा सोझै स्वच्छ ढंगले भएको हो । हाम्रो राजनीति स्वच्छ ढंगले गएको भन्ने लागेको छैन । त्यो कुरा उहाँलाई प्रष्ट ढंगले भनेको हुँ र उहाँ ‘स्पिचलेस’ पनि हुनुभएकै हो ।
अघिल्लोपटक मन्त्री छान्ने क्रममै तपाईंहरुको टिममा विभाजन हुँदैछ भन्ने संकेत देखिएको थियो नि । प्रकाशमान सिंहले अब रामचन्द्र पौडेलसँग होइन सीधै शेरबहादुर देउवासँगै कुरा गर्छु भन्नुभएको थियो होइन ?
प्रकाशजीले त्यो भन्नुभएको होइन । बाहिर कुरा कहाँबाट आयो थाहा छैन । मन्त्रीको चर्चा चल्दा अस्ति भर्खरै भइसकेको मान्छे भन्नुभो । मैले राजन केसीको चर्चा गर्दा पहिल्यै भइसकेको भन्ने कुरा उहाँकै मुखबाट फ्याट्ट आएको थियो ।
काठमाडौंको दबाब उहाँलाई परेर पछि अलि समय घर्किएपछि इस्यु बनाउनुभएको मात्रै हो । तर त्यसमा सुरुदेखि फरक मत थिएन ।
सुदूरपश्चिमलाई एउटा दिने भन्ने कुरामा सर्वसम्मत भयौं, दिलेन्द्र बडुको बारेमा । मिनेन्द्र रिजालजीको कुरा आइदियो । उहाँलाई हरेक काम लगाइराखेको । क्रियाशीलकै कुरामा हाम्रो प्रतिनिधि बनाएर त्यहाँ पठाएको, उहाँ नेता हो । अब अलिकति राजनजी अस्ती भर्खर भएको पनि, मिनेन्द्रजी अघिल्लो क्याबिनेटमा नपरेको पनि । त्यसो भएकाले मिनेन्द्र रिजाललाई नचिढ्याउँ भनेर हामीले निर्णय गरेको हो ।
सभापतिमा पुनः निर्वाचित भएपछि देउवासँग तपाईंको कुराकानी भएको छ कि छैन ?
शेरबहादुरजीसँग मेरो छलफल भएको छैन । एकदिन चाहिँ सर्वदलीय बैठकमा बोलाउनुभयो । एमसीसीको कुरा चलेको थियो ।
बरु बैठकमा प्रचण्डजी, माधवजी, झलनाथजीलाई अहिले देशैभर एमसीसीविरुद्ध माहोल बनिरहेको छ, त्यो बनाउन तपाईंहरु सफल हुनुभयो । तर, तपाईंहरुका सबै प्रतिवेदन पढेको छु । तपाईँहरुका भाषण सुनेको छु । तर्क पढेको छु । एमसीसीको कुन चाहिँ धाराले, कुन बुँदाले यो राष्ट्रघात हुन्छ ? कुन बुँदा इन्डो प्यासिफिकमा जोडिन्छ भन्ने कुरा मैले कहीँ पनि पाइन तपाईंहरुले मलाई बुझाउनुस् त भनेको हुँ । सारा नेपालीलाई कन्भिन्स गर्नुभयो । अब मलाई पनि गर्नुस् न त भनेको थिएँ ।
मैले बैठकमा त्यसो भन्दा त्यसले सायद शेरबहादुरजीलाई राहत मिल्यो होला । ‘कन्साइन्स’ले देखेको कुरा बोल्ने मानिस हो म त ब्रह्मले देखेको कुरा ।
त्यसपछि बुँदागत रुपमा तीनजनाको कमिटीले छलफल गर्ने कुरा बल्ल आयो । नत्र त नो एमसीसी, नो एमसीसीमा हुनुहुन्थ्यो उहाँहरु । त्यही मिटिङमा भेट भएकाले देउवाजीको र मेरो कुरा गर्ने प्रसंग र विषय नै मिलेन । त्यसयता भेट भएको पनि छैन । टेलिफोन पनि भएको छैन । सञ्चार सम्पर्कमा म छैन ।
१३औं महाधिवेशनपछि तपाईं एउटा समूहको नेता हुनुहुन्थ्यो । जसलाई पौडेल समूह भनेर चिनिन्थ्यो । १४औं महाधिवेशनमा बाहिर रहनुभयो । अब तपाईं कुनै समूहको नेता हो कि होइन ? शेरबहादुर देउवा, शेखर कोइराला वा प्रकाशमान सिंह कसैलाई नेता मान्नुहुन्छ वा तपाईं आफैँ नेता हो ?
मैले नेता हुनलाई राजनीति गरेको पनि होइन । यो टिमको पक्ष पोषण गरेको पनि होइन । मैले कर्तव्य पालन गरेको हो । म आफ्नो कर्तव्य पथमा रहिरहन्छु । मलाई त्यहाँ कुन रुपमा हेर्छन् त्यो अरुको कुरा हो । आम कार्यकर्ता, जनताले मलाई कुन रुपमा हेर्छन् ? तर म चाहिँ डेमोक्रेसी रक्षाको लडाईंमा आफू काम गरिरहन्छु ।
पार्टीभित्र तपाईं कोसँग अलि नजिक हुनुहुन्छ ?
अहिले कसैसँग पनि मेरो सम्पर्क छैन । उहाँहरुले मलाई टेलिफोन गर्नुभएको छैन । सम्पर्कमा आउनुभएको छैन । कसैसँग पनि छैन । सभापतिमा चुनाव लडेकाहरु पनि कोही अहिले मेरो सम्पर्कमा हुनुहुन्न ।
देउवाको समर्थनमा १५औं महाधिवेशनका लागि तपाईंले बाटो बनाउनुभएको हो भनेर भनियो भने न्याय हुन्छ ?
त्यो चाहिँ होइन । मैले १५औं, १६औँ महाधिवेशन सोचिरहेको छैन ।
मैले केबल देशको राजनीतिक संकटलाई मात्र सोचिरहेको छु । यो, देशमा भइरहेको अस्थिरताको खेलप्रति मात्रै सजग छु।
अस्थिरताको खेल जो खेलिन्छ, नेपालले कहिल्यै विकास गर्न नपाउने जुन दुर्भाग्य व्यहोर्नुपरेको छ । त्यसैप्रति म संवेदनशील छु । त्यो भएर म जीवन रहेसम्म लडिरहन्छु । मैले यसका लागि जीवन, जवानी दिएको हुँ ।
परिआए १५औं महाधिवेशनमा पार्टीको नेतृत्व गर्न तयार हुनुहुन्छ ?
त्यो अहिले कल्पना गरिने विषय होइन । अन्दाज, अनुमान गर्ने विषय पनि होइन । त्यो धेरै परको कुरा छ । मान्छेको जीवन भनेको स्वास्थ्य रहेछ । मेरो स्वास्थ्य के हुन्छ ? म कस्तो रुपमा रहन्छु ।
आजसम्म सत्यमोहन जोशी १०३ वर्षमा पनि मिटिङमा आउनुहुन्छ । मलाई सानैबाट एसिडिटी भयो । त्यसले गर्दा मुख बार्न बाध्य भएँ । त्यो मेरो लागि आशीर्वाद नै भयो । म जथाभावी मुख छाडेर खान्नँ । त्यसैले मैले मेरो स्वास्थ्य अवस्थालाई तन्दुरुस्त राखेको छु ।
महाधिवेशनपछिको कांग्रेस कुन बाटोमा हिँडिरहेको छ ? आएका महाधिवेशन प्रतिनिधिहरु उत्साहित भएर फर्किएका छन् कि चिन्तित भएर ? कांग्रेस फेरि गुटबाट टाढा रहन सक्यो कि सकेन ?
मलाई यसले चिन्तित बनाएको छ । महाधिवेशनपछि अहिले भर्खरै पनि हेरिरहेको छु । पार्टीले गति लिन सकेको छैन ।
गति दिन सक्नुभएको छैन नवनिर्वाचित सभापतिले । निर्णय नै उहाँले केही गर्न सक्नुभएको छैन । अझै पनि उहाँ अनिर्णयको बन्दी भइरहेको देख्छु । त्यो पार्टीका लागि शुभ सूचक होइन ।
साथीहरु महाधिवेशनबाट फर्किँदा उत्साहित भएको देखिन । मकहाँ भेट्न आउने साथीहरुलाई मैले अब हाम्रा अगाडि स्थानीयदेखि केन्द्रसम्मको चुनावको पहाड छ । यो चुनौतीको पहाड कसरी पार गर्ने भन्ने सबैको चिन्ताको विषय हो भन् भनेको छु, अब हामीले त्यतातिर ध्यान केन्द्रित गर्नुपर्छ ।
तर म अहिले जुन अवस्थामा छु । म मौन छु । कांग्रेसले मलाई कस्तो रुपमा हेर्छ, तपाईं साथीहरुले मबाट के अपेक्षा गर्नुहुन्छ ? त्यो हेर्न बाँकी छ । म अहिले कुनै सोलुसन दिने ठाउँमा छैन । प्रश्न मात्रै राख्ने अवस्थामा छु । तपाईंहरुका अगाडि प्रश्न राख्न चाहन्छु जवाफ तपाईंहरुले नै खोजेर ल्याउनुस् ।
पहिलो प्रश्न के हो भने देशमा आम जनतालाई आशावादी बनाउने र कार्यकर्तालाई उत्साही बनाउने म्यासेज के दिन सक्छ कांग्रेसले ? त्यो म्यासेजको जरुरी छ ।
दोस्रो– कांग्रेसमा त्यही बेलादेखि लागेको रोग अन्तर्घातको हो । यो महाधिवेशनबाट पनि त्यो मेटिएर गएजस्तो मलाई लागेको छैन । त्यसकारण यो अवस्थाबाट कांग्रेसलाई कसरी बचाउने ? फाटेको मनलाई जोड्ने उपाय के हो ? यसबाट पार्टीलाई मुक्त के गर्दा हुन्छ ? यो विषयमा साथीहरु आपसमा छलफल गर्नुस् यसो गर्दा हुन्छ भनेर ल्याउनुस् त्यसमा मैले सहयोग गर्ने ठाउँ रहेछ भने गर्छु भनेको छु ।
तपाईं पार्टीभित्रको सशक्त प्रतिपक्ष नेता भएर ०७२ सालपछि बिताउनुभयो । अहिले तपाईं तटस्थ भूमिकामा हुनुहुन्छ । प्रतिपक्षी नेता हुनुपर्ने डा. शेखर कोइराला हो । उहाँको वरीयता नै २०औं नम्बरमा पुगेको छ । अब सिनियरलाई नियुक्त गरे वरीयता अझै तल जाने होला । एउटा प्रतिपक्षमा लड्ने नेता त्यो पोजिसनबाट लड्न सक्छ कि सक्दैन होला ?
कुरा के हो भने चुनावमा दोस्रो मत डा. शेखरले ल्याउनुभएको छ । उहाँले यी सबै साथीहरुप्रति मेरो जिम्मेवार छ भन्नु भएको छ । त्यसकारण सबै साथीहरुलाई संरक्षण अवश्य पनि गर्नुहोला । त्यसको नेतृत्व गर्नुहोला भन्नेमा अन्यथा सोच्न सक्दिन ।
तर, उहाँले म कुनै भागबण्डा लिन्न भन्नुभएको छ । ठिक छ, भागबण्डा त मैले पनि खोजेको होइन । मैले न्याय, निष्पक्षता र पारदर्शिता होस् भनेको हो पार्टीमा ।
पार्टीमा अन्याय गर्नुभएन । जनताले पत्याउने एउटा मान्छे छ उसलाई नदिएर पार्टीलाई हराउने ? खबरदार ! यो गर्न पाइँदैन ।
कमसेकम दुःख पाएका, राम्रो इन्टिग्रिटी भएका मानिसहरुलाई एकातिर पन्छाउने, जो पायो उही मान्छेलाई अवसरको अवसर दिइराख्ने यो त हुँदैन है भने मैले पनि भनेको हुँ ।
अब डा. सा’बले कि यसको सट्टामा यो मान्छे गर्नुपर्छ भनेर योग्य मान्छे दिन सक्नुपर्यो । भागबण्डा त हुँदो रहेछ नि । अहिले पाँच दलीय गठबन्धनमा के भएको छ ? भागबण्डा एउटा मर्यादामा रहेर गर्नुपर्ने कुरा हो । राम्रो मान्छे तिमी पनि ल्याउ म पनि ल्याउँछु भनेर गर्नुपर्ने हो । त्यो चाहिँ यहाँ नेताहरुले गरिरहेका छैनन् । बदमासी भएको छ । अदालत, संवैधानिक निकायमा सबै पार्टीबाट बरबादी गरिएको छ ।
अहिलेका नेताको कुनैको पनि काम गर्ने शैली मलाई मन परेको छैन । क्राइटेरियाको आधारमा निर्णय गर्ने थिति बसाल्नुपपर्छ अनि हुन्छ भागबण्डाको अन्त्य ।
तपाईंले खुलेर सपोर्ट गरेको भए शेखर कोइरालाले नै जित्न सक्नुहुन्थ्यो भन्ने पनि लागेन ?
मैले अघि नै भनेँ सपोर्ट गर्ने स्थितिमा त उहाँहरुले मलाई राख्नु भएन । सोझै भन्नुभयो रामचन्द्र दाइ अलग्गै बस्नुस् । अनुपममा प्रतिस्पर्धामा होइन तपाईंलाई अलग्गै जोगाएर राख्नुपर्छ भन्नुभयो । जोगाएर राख्नुपर्छ भनेकाले जोगिएको हो ।
त्यहीँबाट रोकिएको हो । मलाई अरुले होइन । उहाँकै शब्दले रोकेको हो । परिस्थितिले पनि मलाई रोकेको हो । यहाँका खेलका चक्रमा म जसरी दुईतिरबाट उछिट्याइएँ त्यसले मलाई भिडेर एउटा पक्षमा लाग्ने कुराबाट पनि छुट्याएको हो ।
त्यसमा म भोट दिनुस् है भनेर गएको भए पनि प्रकाशमान सिंहका भोट आफ्नो ठाउँमा थिए । विमलेन्द्र निधिको भोट आफ्नै ठाउँमा थिए । पछि शेरबहादुर देउवाकहाँ मिसिन पुगे । त्यो त मेरो हातको कुरा थिएन । अरु साथीहरु मसँग आस्था राखेर देशभरबाट रामचन्द्र पौडेल समूह भनेर आएका हुन् तिनीहरुले शेखर डा. सा’बलाई भोट हाले ।
दोस्रो चरणमा निर्वाचन गइसकेपछि प्रकाशमान, विमलेन्द्र निधिलाई अब के गर्छौ भनेर सोध्नुभएन ?
म सोध्न गइनँ । म प्रतिस्धपर्धाबाट बाहिर बसेको मान्छे । जसले सोध्नुपर्ने उहाँले सोध्नुहुन्छ भन्ने भयो । मैले चियापानमा बोलाएको थिएँ । प्रकाशनमानले आउँदिन भन्नुभयो । शेखर कोइराला आउनुभयो ।
तपाईंको चियापानलाई लिएर त कांग्रेसमा थप प्रश्न उठेका छन्, नि !
भोलिपल्टसम्म हुँदैन भन्नेमा म थिएँ । महाधिवेशनको प्रक्रियाबाट अलग बसेपछि मैले त्यत्रो महाधिवेशनका साथीहरुसँग ‘फेस टु फेस’ हुन पाइन ।
कमसेकम साथीहरुलाई बोलाएर साक्षात्कार गरौं । आउँदो चुनौतीको सामाना गर्न मिलेर जाऔं है साथी हो । कांग्रेसले ठूला चुनौतीका पहाड पार गर्नुछ भनेर सद्भाव बढोस् भनेर भन्न बोलाएको थिएँ । गर्न खोजेको एउटा थियो तर, मान्छेहरुले दशथरी अर्थ लगाइदिए ।
शेरबहादुर देउवालाई सपोर्ट गर्नेगरी आयो भन्ने पनि छ नि !
शेरबहादुर देउवालाई समर्थन गर्नेगरी भन्ने त कतै आएको थिएन । किनभने शेखर कोइराला पनि आमन्त्रित हुनुहुन्थ्यो ।
प्रकाशमान सिंह, विमलेन्द्र निधि पनि आमन्त्रित हुनुहुन्थ्यो । सबै उमेदवार आमन्त्रित थिए । भएजति महाधिवेशन प्रतिनिधिलाई एसएमस पठाएको थिएँ । त्यसकारण कसैलाई समर्थन र असमर्थन गरेको होइन । पार्टीभित्र एकताको सन्देश जाओस्, मेलमिलाप, सद्भाव होस् भन्ने मेरो शब्द त्यही हो ।
अहिलेको महाधिवेशनबाट तपाईंलाई आदर गर्ने, तपाईसँगै हिँडेका मान्छेहरु निकै पछि परे । कोही एक मतले हारे । रामचन्द्रको टिम लडेर हन्डर खाएर आएका मान्छेहरुले महाधिवेशनको मैदानमा तपाईंलाई देख्न पनि पाएनन् । कतिपयले त घरमा नै नटेकी फर्के उहाँहरुका लागि के सन्देश छ ?
जो साथीहरु वास्तवमा एक दुई भोटले हार्नुभयो । आइएम भेरि सरी ! मेरो एक भोटले जित्नुुहुन्थ्यो कि के गर्नु हुन्थ्यो । फेरि बराबर पुग्दो हो । भोटले फरक नै त केही पर्दैन थियो होला ।
मेरो उपस्थितिले तात्विक अन्तर पर्नेवाला त केही थिएन । परेको पनि होइन ।
अब फरक प्रसंग
कांग्रेस अबको चुनावमा गठबन्धनमा मिसिएर जानुपर्छ कि ? एक्लै लड्नुपर्छ ?
कांग्रेसका साथीहरुले एक्लै जानुपर्छ, कसैसँग मिल्न हुँदैन जस्तो भाषा बोलीरहेका छन् । यसमा या त अहिलेको संविधानले जस्तो परिकल्पना गरेको छ त्यो नबुझेर बोलेका छन् या त अति भावुक भएर बोलेका छन् ।
किनभने यो संविधानको व्यवस्थाले कुनै पनि पार्टीलाई सजिलैसँग एकल बहुमतमा पुुर्याउँदैन । कसैले बहुमत ल्याउन सजिलो छैन । जसरी पनि यो ‘कोलिएसन कल्चर’मा, गठबन्धनमार्फत् संयुक्त सरकारको संस्कृति अपनाउनुपर्ने परिस्थिति संविधानले नै निर्माण गरेको छ ।
भोलि गएर कुनै पार्टीसँग मिलेर सरकार बनाउनु छ भने आजैदेखि मिलेर बहुमत ल्याउनुस् न । त्यो बुद्धिमानी हो कि !
म कसैसँग मिल्दिन भनेर सबैलाई टाढा पारेर फेरि प्रतिपक्षी एकै ठाउँमा अघिल्लो चुनावकै स्थितिमा पुगे भने के हुन्छ ? यसरी पनि सोच्ने हो कि !
राष्ट्रिय अन्तर्राष्ट्रियरुपमा कम्युनिस्ट एकीकरणको प्रयास पनि चलिरहेको छ । त्यस्तो बेलामा धकेलेर हामी पनि एकै ठाउँमा जाउँ भनेर पठाउँछौं भने त्यो हाम्रो बुद्धिमानी हो भन्ने मलाई लाग्दैन । मिलाएर लिएर जानुपर्छ । त्यसका लागि ‘पोलिटिकल विस्डम’को आवश्यकता छ । राजनीतिक दुरदर्शिता, राजनीतिक बुद्धिमताको आवश्यकता पर्छ यस्तो बेलामा । ‘सेन्टिमेन्टल’ भएर चल्दैन । भावनाले चल्दैन ।
अब, कांग्रेसमा तपाईं प्रतिपक्षी नेता हो कि के हो ?
म केही पनि होइन । प्रतिपक्षी पनि छैन । विपक्षी पनि छैन । सत्तापक्ष पनि होइन । म एकजना कांग्रेसको सिपाही हो । मैले जे भूमिका पाउँछु त्यही गर्ने हो । अहिलेसम्म त म खामोस छु । कांग्रेसले कुन रुपमा ग्रहण गर्छ भन्ने ‘वेट एण्ड सी’ मा छु ।
मैले देखेको सही कुरा भन्ने अवसर परेको बेलामा पार्टीको हितमा, डेमोक्रेसीको हितमा यो राष्ट्रको हितमा बोल्ने कुरामा कसर बाँकी राख्दिन ।
साभार : १२ खरी.कम




