अछामको रामारोसन गाउँपालिका–५ मा राहत बाड्न भनेर गएका गृहमन्त्री रामबहादुर थापा ‘बादल’, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, पूर्वउपप्रधान एवं रक्षामन्त्री भीम रावललगायतको चर्तिकला अहिले सामाजिक सञ्चालमा भाइरल बनेको छ ।

जनताको रासन मासेर भाषण गरेका नेताज्युहरु स्थलगत निरीक्षण र राहतका लागि भन्दै दलबलसहित अछाम पुगेका थिए र जनताले लगाएको बालीमाथि उभिएर भाषण गरेका थिए ।

थापासहित एक दर्जन बढि नेताज्यूहरु को टोलीमा सांसद शेरबहादुर कुँवर, तारामान कुँवर, गृहमन्त्रीका राजनीतिक सल्लाहकार सूर्य सुवेदी ‘पथिक’, सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, विपद् जोखिम न्यूनीकरण प्राधिकरणका प्रमुख अनिल पोखरेल लगायतका थिए । उनीहरू सवार नेपाली सेनाको एमआई १७ हेलिकप्टर रामारोसन गाउँपालिका–५ का मने साउदको खेतमा अवतरण गरेको थियो ।

टोलीले २५ बोरा चामल, १० बोरा दाल, नुन, तेललगायत राहत बाँडेको थियो ।

यो तस्विरले अहिले जगहसाँईको काम गरेको छ र नेताज्यूहरुको निकै आलोचना भएको छ ।

कोरोना संक्रमणका बेला भेला नहुन र भिड नगर्न निर्देशन दिइरहेको भए पनि स्वयं गृहमन्त्री थापाले सो नियमको धज्जी उडाएका छन् ।

मङ्गलबार आएको बाढीले रामारोसन–५ सैनीबजार बगाउँदा ७ जनाको मृत्यु भएको थियो भने ११ जना बेपत्ता भएका थिए ।