
नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित भेटिएका छन् ।
दुईजनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
सोमबार स्वास्थ्य मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सहप्रवक्ता समीर अधिकारीले ओमिक्रोन संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।
एक जना विदेशी नागरिक र उनीसँग सम्पर्कमा रहेका अर्का नेपालीमा संक्रमण पुष्टि भएको हो । दुवै जनाले कोरोना भाइरस विरूद्धको खोप पनि लगाएका थिए ।
ओमिक्रोन भेटिएको देशबाट मंसिर ३ गते नेपाल प्रवेश गरेका एक ६६ वर्षीय विदेशी र उनको सम्पर्कमा आएका अर्का एकजना ७१ वर्षीय व्यक्तिमा ओमिक्रोन सङ्क्रमण भेटिएको उनले बताए। उनीहरूको मंसिर ७ गते परीक्षण गरिएको थियो।
दक्षिण अफ्रिकामा पहिलोपटक पहिचान भएको ओमिक्रोन भेरिअन्ट अहिलेसम्म छिमेकी भारत सहित ४० भन्दा बढी देशहरूमा फैलिइसकेको छ।
नेपालमा ओमिक्रोनका संक्रमित भेटिएपछिको अवस्थाबारे छलफल गर्न सोमबार दिउँसो स्वास्थ्य मन्त्रालयमा मन्त्रीस्तरीय बैठक बसेको छ।
दक्षिण अफ्रिकामा पहिलोपटक देखिएको ओमिक्रोन भेरियन्टको संक्रमण विश्वका विभिन्न देशमा फैलिने क्रममा छ।
विश्व स्वास्थ्य संगठनले यो भेरियन्टलाई चिन्ताको विषयका रुपमा लिनु पर्ने बताइसकेको छ ।




