

प्रधानमन्त्री केपी शर्मा ओलीले शरिरको एण्टीबडी बढाउन बेसार, अदुवा, मेथी जस्ता मसला औषधिमय भएको कुरा पूर्वज ऋषिमुनि र आयुर्वेदको खोज तथा प्रयोगबाट प्रमाणित भएको बताउँदै आफ्नो भनाई मजाकमा नउडाउन आग्रह गरेका छन् ।
अन्तर्राष्ट्रिय योग दिवस मूल समारोह समितिले आइतबार आयोजना गरेको भर्चुअल कार्यक्रममा प्रधानमन्त्री ओलीले भान्सामा प्रयोग गरिने मसलाहरु औषधिमय भएकोले अत्यधिक प्रयोग गर्न सुझाव दिएका छन् ।
शरीरको प्रतिरोधी क्षमता बढाउने बेसार, अदुवा, मेथीको कुरा गरेको भन्दै उनले भने, कतिपय बुद्धिजीवीले बेसारको मजाक उडाए, कतिले मेथी, मरिच र कतिले अदुवाको मजाक उडाए । म उहाँहरुलाई सुझाव दिन चाहान्छु, पूर्वजका खोजहरुप्रति यसरी मजाक नउडाऔँ ।’
आयुर्वेद र योग असाधारण औषधि भएकाले यसको प्रयोग बढाउनु पर्नेमा उनले जोड दिएका छन् ।

प्रधानमन्त्री ओलीले नेपाल परापूर्व कालदेखि पवित्र योगभूमि भएको बताए । ‘व्यायाम, प्राणायम र ध्यान मिलेपछि पूर्ण योग बन्छ र शरीरलाई स्वस्थ्य रहन योगको अद्धितीय योगदान छ । ओलीले आफ्नो नेतृत्वको सरकार समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने सङ्कल्पमा रहेको बताए।
कार्यक्रममा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विद्यालयस्तरबाटै योग अध्यास र अध्ययनको क्रमको थालनी भएको भन्दै यसलाई व्यापक बनाउन आग्रह गरेका छन् ।
स्वामी आनन्द अरुणले कोरोना सङ्कटपछि विश्व पूर्ववत् अवस्थामा नरहने र मानसिक रोगी बढ्ने खतरा भएकाले योगमार्फत मानसिक स्वास्थ्य मजबुत बनाउनु पर्नेमा जोड दिएका थिए ।




