
तनहुँ मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित शुक्लागण्डकी एफ.एम.का पुर्व अध्यक्ष स्वर्गीय पूर्ण कुमार श्रेष्ठको स्मृतिमा स्थापित ‘पूर्ण स्मृति शुक्लागण्डकी एफ एम पत्रकारिता पुरस्कार २०७९’ बाट पत्रकार विश्व बन्धु भण्डारी, पूर्ण स्मृति शुक्लागण्डकी एफ.एम. साहित्य सम्मानबाट साहित्यकार शेषमणि आचार्य र पूर्ण स्मृति शुक्लागण्डकी एफ.एम. सामाजिक व्यक्तित्व सम्मानबाट समाजसेवी भक्त बहादुर रिमाल सम्मानित भएका छन् ।
रेडियोका तत्कालीन अध्यक्ष स्वर्गीय पूर्ण कुमार श्रेष्ठको स्मृतिमा स्थापित पूर्ण स्मृति शुक्लागण्डकी एफ.एम. सम्मान तथा पुरस्कार सोमवार दुलेगौंडामा प्रदान गरिएको हो । गण्डकी प्रदेश सभा सदस्य श्यामराजा महत, स्वर्गीय पुर्ण कुमार श्रेष्ठका श्रीमती निर्मला श्रेष्ठ र एफ.एम.का अध्यक्ष ज्योती श्रेष्ठले दोषल्ला, सम्मानपत्र र नगदले आचार्य र रिमाललाई सम्मान गर्नुभएको हो ।
कार्यक्रममा पत्रकारिता पुरस्कार बाट सम्मानित विश्ववन्धु भण्डारी पारिवारिक स्वास्थ्यका कारण उपस्थित हुन नसकेपछि उनका छोरा सुदिप बन्धु भण्डारी मार्फत पुरस्कार प्रदान गरिएको छ । ४ दशकदेखि पत्रकारितामा क्रियाशिल विश्व बन्धु भण्डारी दमौलीबाट प्रकाशित हुने भञ्ज्याङ दैनिकको संस्थापक सम्पादक हुन् । प्रेस स्वतन्त्रता सेनानी भण्डारीले यसअघि पत्रकारिता क्षेत्रका ९ वटा पुरस्कार प्राप्त गरिसकेका छन् ।
साहित्यतर्फ सम्मानित शेषमणि आचार्यको रम्बास कविता संग्रह ‘डाली’, ‘मलाई एउटा बाासुरी देऊ’, ‘हामी’ लगायतका साहित्यिक कृति प्रकाशित छन् । समाजसेवातर्फ सम्मानित भक्त बहादुर रिमालले शुक्लागण्डकीको शिक्षा, स्वास्थ्य, सामाजिक तथा धार्मिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् । तनहूँ जिल्ला स्तरीय पत्रकारिता र साहित्य पुरस्कारको राशी दश–दश हजार रुपैयाँ र शुक्लागण्डकी नगर स्तरीय सामाजिक व्यक्तित्व सम्मानको राशी नगद पाँच हजार रुपैयाँ रहेको छ ।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदस्य श्यामराजा महतले पत्रकारिता, साहित्य र सामाजिक क्षेत्रका उदाहरणीय व्यक्तित्वलाई सम्मान गरेर शुक्लागण्डकी एफ.एमले नयाँ पुस्तामा प्रेरणा प्रदान गरेको बताए । सम्मान ग्रहण पछि बोल्दै साहित्यकार आचार्यले श्रेष्ठको निधनले शुक्लागण्डकीले एक असल अगुवा गुमाएको उल्लेख गरे । स्वर्गीय श्रेष्ठको कदर स्वरुप स्थापित पुरस्कारको पहिलो संस्करण प्रदान गरेकोमा गौरवान्वित महशुस भएको आचार्यको भनाई थियो ।
सम्मानित समाजसेवी भक्त बहादुर रिमालले सामाजिक क्रियाकलापमा सक्रिय हुन पुरस्कारले सबैलाई उत्प्रेरित गर्ने विश्वास व्यक्त गरे । रेडियोको स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेका पूर्णको २०७८ जेठ १२ गते हृदयघातका कारण ४८ वर्षको उमेरमा निधन भएको थियो ।
रेडियोका अध्यक्ष ज्योती श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका अध्यक्ष विमल प्रसाद रिमाल, पुरस्कार छनौट समितिका संयोजक नारायण श्रेष्ठ, समितिका उपाध्यक्ष सरस्वती सिग्देल, सचिव ऋषेश्वर भुवाई, स्टेसन मेनेजर राजन उपाध्याय लगायतले बोलेका थिए ।




