नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले फागुन पार्टीको १४औं महाधिवेशन हुने संभावना टरेकाले अब कसरी अघि बढ्ने भन्ने विषयमा गम्भीर छलफल हुनुपर्ने आवश्यकता औंल्याएका छन्।

१०७औं वीपी जयन्तीको अवसरमा पार्टीले आयोजना गरेको जुम बैठकमा पूर्वमहामन्त्री समेत रहेका सिटौलाले महाधिवेशनको कार्यतालिका अनुसार तयारी अघि नबढेकाले अब फागुनमा महाधिवेशन हुने संभावना सकिएको बताएका हुन्।

उनले क्रियाशिल सदस्यता वितरण र नवीकरणका लागि निर्धारण गरेको साउन मसान्तको कार्यतालिका नाघेको उल्लेख गरे।

सभापति शेरबहादुर देउवासमेत सहभागी कार्यक्रममा उनले तुरुन्त केन्द्रीय कार्यसमितिको बैठक बोलाएर अब कसरी अघि बढ्ने भन्ने विषयमा समीक्षा गर्न ध्यानाकर्षण गराए।

उनले भने, ‘अब फागुनमा महाधिवेशन हुने संभावना सकिएको छ। केन्द्रीय समितिको बैठक राखेर छलफल गरौं। अब कसरी अघि बढ्ने समीक्षा गरौं। कार्यतालिका प्रभावित भइसकेको छ।’

कांग्रेसले आउँदो फागुन ७ देखि १० गतेसम्म १४औं महाधिवेशन गर्ने निर्णय गरेको छ।

उनले आउँदो महाधिवेशनलाई खेलको नियम जस्तै सहज रुपमा आएको परिणामलाई स्वीकार गर्नुेगरी अघि बढ्न सभापति देउवालाई आग्रह गरे।

‘खेलको नियम आधारमा एकले अर्कालाई स्वीकार गर्नुसक्नुपर्छ। त्यसैलाई आधार बनाएर महाधिवेशनमा जाऔं, उनले भने।

सिटौलाले आउँदो महाधिवेशनले राजनीतिको नयाँ मार्गचित्र दिन सक्नुपर्ने उल्लेख गरे। केपी ओली नेतृत्वको सकारले जनताको पक्षमा कुनै गतिलो काम गर्न नसकेको उल्लेख गर्दै उनले गुटले मात्र नेकपा र सरकारसँग संघर्ष गर्न नसक्ने भएकाले एक जुट हुनुपर्ने आवश्यकता औंल्याए।

‘गुटले मात्र कम्युनष्टिसँग संघर्ष गर्न सक्दैन। पार्टी एक ढिक्का हुनैपर्छ, सिटौलाले थप भने, ‘सरकारले अन्तराष्ट्रिय सम्बन्धलाई पनि बिगारी रहेको छ। अन्तराष्ट्रिय मञ्चमा विश्वसनियता गुमाइ रहेको छ। मलको हाहाकार छ।’

सिटौलाले वीपी कोइराला सयमको प्रवाहलाई बुझ्न सक्ने डाइनामिक नेता भएको स्मरण गरे।