तनहुँको शुक्लागण्डकी नगरपालिका–२ मसारमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ ।

बुधबार बेलुका आँगनमा खेल्दै गरेका डेढ वर्षीय रोहन रानालाई चितुवाले लगेको र खोजी गर्दै जाँदा जंगलमा टाउको र हात मात्र भेटिएको प्रहरीले जनाएको छ । बालकका दुवै अंग घरबाट झण्डै तीन किलोमिटर पर जंगलमा भेटिएको तर अरु भाग अझै नभेटिएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए । बालक विष्णुकुमार रानाका छोरा हुन् ।

परिवारका अन्य व्यक्तिहरु घरायसी काममा व्यस्त भएको बेला आँगनमा खेल्दै गरेका रोहनलाई चितुवाले टिपेर लगेको परिवारले जनाएको छ ।

यसअघि पनि शुक्लागण्डकीमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ ।

२०७४ साल फागुन १ देखि चितुवाको आक्रमणबाट तनहु्ँमा १० जना बालबालिका मृत्यु भएको र ८ जना घाइते भएको जिल्ला डिभिजन वन कार्यालयका प्रमुख केदार बरालले जानकारी दिए ।