तनहुँको सदरमुकामस्थित दमौली अस्पतालमा कार्यरत चिकित्सकहरु आन्दोलित भएका छन् ।

सङ्घीय सरकारबाट छात्रवृत्ति करारमा कार्यरत विशेषज्ञ चिकित्सक, चिकित्सक तथा स्वास्थ्यकर्मीले ६ महिनादेखि तलब नपाएपछि प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र बुझाएका छन् । तलव निकासाका लागि उनीहरुले प्रजिअ समक्ष अनुरोध गरेका छन् नत्र आन्दोलनमा उत्रिनुपर्ने बाध्यता हुने उनीहरुको भनाई छ ।

मेडिकल अधिकृत आठ जना, विशेषज्ञ चिकित्सक दुई जना र नर्सिङ अधिकृत दुई जना गरी ११ जनाको साउनदेखि तलब बापतको रकम निकासी नभएको दमौली अस्पतालका सहायक लेखापाल खिलबहादुर कुमालले जानकारी दिए ।
विशेषज्ञ चिकित्सकको ६ लाख ३८ हजार १२०, मेडिकल अधिकृतको २६ लाख ६९ हजार ९४० र नर्सिङ अधिकृतको ५ लाख ५८ हजार १८० रुपियाँ गरी तलब बापतको ३८ लाख ६६ हजार २४० रुपियाँ भुक्तानी दिन बाँकी रहेको उनले जानकारी दिए।

माग गरी पठाए पनि निकासी नआएकाले तलब भुक्तानी दिन नसकिएको अस्पतालले जनाएको छ । गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तलब निकासीका लागि सङ्घ सरकारको अर्थ मन्त्रालयलाई पत्राचार गर्न लगाएको दमौली अस्पतालका प्रमुख डा. सुनिल पौड्यालले जानकारी दिए ।

नेपाल सरकारले काममा खटाई सकेपछि समयमा नै तलब दिनुपर्छ डा.पौड्यालले भने । तलब नपाएकाले घरखर्च बाट माग्नु पर्ने तथा ऋण खोज्नु पर्ने अवस्था आएको उनले बताए । स्थायी कर्मचारीको भने नियमित तलब निकासी भइरहेको अस्पतालले जनाएको छ ।

जागिर खाएकाले घरमा तलब बुझेर दिनुपर्नेमा तलब पाइएन भनेर उल्टै घरबाट खर्च माग्नु पर्ने हुँदा अप्ठ्यारो महशुस भएको छ, छात्रवृत्ति करारमा कार्यरत मेडिकल अधिकृत डा. सिन्चन पाण्डेले बताए ।
कामबाट पछि हट्ने

यसैबीच तलब नपाएका चिकित्सक तथा स्वास्थ्यकर्मीले आईतबारदेखि दैनिक कामबाट पछि हट्न बाध्य हुने जनाएको छ। प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई संयुक्त रुपमा ज्ञापनपत्र बुझाइएको ज्ञापनपत्रमा यति लामो समय वितिसक्दा पनि केही उपलब्धी नहुँदा माघ २३ गतेबाट कामकाज गर्न असमर्थ हुने उल्लेख गरिएको छ ।

अस्पतालमा कार्यरत डा. आस्था रेग्मी, डा. राजुराना मगर, डा. दिवस ढकाल, डा. सुनयन सुवेदी, डा. सिन्चन पाण्डे, डा. पुजा सैँजु, डा. प्रशन्न कार्की, डा. अभिनन्दन तिवारी, डा. संजीव भण्डारी, डा. कृष्ण गिरी, डा. सुशिल विकले संयुक्त निवेदन दिएर ज्ञापनपत्र बुझाए ।