तनहुँमा गाईभैंसीमा लम्पी स्किन रोग महामारीको रुपमा फैलिएको छ । यस रोगबाट हाल सम्म ४३ बढी गाईभैंसी मरेका छन् ।

समयमै किसानले रोगका बारेमा थाहा नपाउँदा र रोगी तथा निरोगी गाईभैंसीलाई एकै थलोमा बाँध्न थालेपछि रोग महामारीको रुपमा फैलिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठले बताए ।

महामारीले गर्दा छोटो अवधिमै जिल्लाभर ४३ बढी गाईभैंसी मरेका र ६४८ गाईभैंसीमा रोग फैलिसकेको श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार सबैभन्दा धेरै आँबुखैरेनी गाउँपालिकामा २३५ गाईभैंसीमा फैलिएको छ भने १६ वटा मरेका छन् । भिमाद १०२ प्रभावित भएका छन् भने ११ मरेका छन् । घिरिङ गाउँपालिकामा यसैगरी ८७ मा फैलिएको छ भने ११ मरेका छन् । बन्दीपुरमा २४ वटामा फैलिएका छन् भने दुई मरेका छन् । व्यास नगरपालिकामा १२ वटामा फैलिएको छ भने भानुमा २१ वटामा सङ्क्रमण भएको छ । म्याग्देमा १ मरेको छ ।

भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र र जिल्लाका १० वटै पालिकाले प्राविधिक खटाएर उपचार गर्दै आएपछि केही ठीक भएपनि गाईभैंसी मर्न छाडेका छैनन् । सङ्क्रामक विषाणुजन्य रोग लम्पी स्किनबाट भैंसीको तुलनामा गाईगोरुहरूमा बढी देखिएको केन्द्रले जनाएको छ ।

यस रोगको सङ्क्रमण हुँदा गाई भैँसीमा अत्यधिक ज्वरो आउने, पशु झोक्राउने, दाना पानी नखाने, दुहुना गाई भैँसीको दूध घट्ने, शरीरका विभिन्न भागहरूमा गिर्खा आउने र पछि गिर्खाहरू फुटी अल्सर हुने आँखामा कचेरा लाग्ने, नाकबाट सिँगान बग्ने, रोगी पशुलाई जीवाणुको सङ्क्रमणले निमोनिया र थुनेलो हुने जस्ता समस्या पैदा भई पशुको मृत्यु हुने गरेको केन्द्र प्रमुख श्रेष्ठले बताए ।

रोगको सङ्क्रमणको दर अनुसार पशुको मृत्युदर न्यून रहेको उनको भनाई छ । लामखुट्टे, झिँगा र किर्नाजस्ता कीराको टोकाइबाट यो रोग सर्ने बताइएको छ । गर्मीयाममा लामखुट्टे र किर्ना आदिको सङ्ख्या बढ्ने र ती कीरा बढी सक्रिय हुने भएकाले यसको प्रकोप बढीरहेको बताइएको छ । सङ्क्रमित गाईभैँसीको ओसारपसार, सामुदायिक चरणक्षेत्र दाना एवं पानी खाने साझा ठाउँ भएमा यो रोग छिटो फैलिने हुँदा सर्तकता अपनाउन किसानलाई आग्रह गरिएको छ ।

रोग नियन्त्रण र रोकथामको जनचेतना फैलाउन प्रचार प्रसार सामाग्री तथा सूचना प्रकाशन गर्ने, रोगको जोखिमयुक्त क्षेत्रको पहिचान गरी खोप कार्यक्रम सुरु गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र प्रमुख श्रेष्ठले जानकारी दिए । जस अनुसार केन्द्रबाट आकस्मित उपचार अन्तर्गत एक लाख रुपियाँको खोप खरीद गरिएको छ ।

रोगको सङ्क्रमणग्रस्त क्षेत्रमा तत्काल निःसंक्रमण, उपचार लगायतका नियन्त्रणका कार्यहरू सञ्चालन गर्न विज्ञ केन्द्रमा तत्काल सङ्क्रमण नियन्त्रण टिम गठन गरी पालिकासँग समन्वय गरी परिचालन गरिएको छ । रोग सर्ने जोखिमलाई मध्यनजर गर्दै प्रशासन कार्यालयसँगको समन्वयमा प्रचलित कानुन बमोजिम पशु ढुवानी र ओसारपसार कार्यलाई नियन्त्रण वा निषेध गरिएको केन्द्रले जनाएको छ ।

भारतबाट २०७७ मा मोरङ हुँदै नेपाल छिरेको लम्पीस्किन रोग हाल देशका ३० बढी जिल्लामा फैलिएको बताइएको छ । विशेषगरी यो रोग ठूला पशुचौपाया गाई, गोरु, भैँसी, राँगोमा देखा पर्ने विज्ञहरूको भनाइ छ ।