मंसीर ४ गते हुने संघीय तथा प्रदेश सभाको निर्वाचनको सरगर्मी तनहुँमा ह्वात्तै बढेको छ । कार्तिक मासको बद्दै गरेको चिसो मौसममा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको माहौलले तनहुँको राजनीतिक वातावरण तातेको छ । तनहुँका २ वटा प्रतिनिधी सभा निर्वाचन क्षेत्र र ४ वटा प्रदेश सभा क्षेत्रमा आफ्नो उम्मेदवारी दर्ता गराइसकेपछि नेताहरु भोट माग्नका लागि मतदाताको घरदैलोमा पुगेका छन् ।

तनहुँमा जम्मा ५७ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । दुई प्रतिनिधिसभा र चार प्रदेशसभा सदस्य निर्वाचनका लागि ६२ जनाले उम्मेदवारी दर्ता गराएकोमा पाँच जनाले फिर्ता लिएपछि ५७ उम्मेदवार कायम छन् । मादी वारी र पारी गरि तनहुँका क्षेत्रहरु छुट्याइएको छ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल २०४८ सालदेखि लगातार तनहुँ क्षेत्र नम्बर २ बाट बाट चुनाव जित्नै आएका थिए । तर, अघिल्लो पटक उनी तनहुँ क्षेत्र नं १ बाट तत्कालिन नेकपा एमालेका उम्मेदवार कृष्ण कुमार श्रेष्ठसंग पराजित हुन पुगे । र यसपटक पनि उनी सोही क्षेत्रबाट चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् । नेता पौडेल ५ दलीय गठबन्धनको साझा उम्मेदवारका रुपमा छन् भने उनका सदावहार प्रतिष्पर्धी काँग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले स्वतन्त्र रुपमा आफ्नो उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिएका छन् । त्यसैगरि नेकपा एमालेका नेता एकबहादुर रानापनि चुनावी मैदानमा खरो रुपमा उत्रिएका देखिन्छन् ।

पौडेल यस पटक पनि कठिन मोडमा छन् । गठबन्धनको कमाण्डर समेत रहेका नेता पौडेल यस पटकको निर्वाचन जित्नै पर्ने बाध्यतामा छन् नत्र उनको राष्ट्रिय राजनीतिमा गम्भिर प्रश्न उठ्न सक्छ । तर, अहिले सत्ता गठबन्धनको सहयोगमा चुनावी मैदानमा उत्रिएका कारण उनलाई केही सहज पनि देखिएको छ । तनहुँमा पौडेल र जोशीबीच लामो समयदेखि चल्दै आएको अन्तरद्वन्द्वले काँग्रेसका कार्यकर्तामा विशेषतः निर्वाचनका बेलमा अन्यौलता छाउँदै आएको छ।

तीब्र प्रतिस्पर्धा हुने संकेत

राजनीतिक हिसाबमा तनहुँ पावरफूल जिल्ला मध्ये एक हो । पछिल्लोसमय प्रत्येक जसो सरकार गठन हुँदा तनहुँमा प्राय एक जना मन्त्री परेकै हुन्छन् । क्षेत्रप्रताप अधिकारी, रामचन्द्र पौडेल, गोविन्दराज जोशी, अमरराज कैनी, शंकर भण्डारी, किरण गुरुङ, आशा खनालसम्म तनहुँले मन्त्री पाएको छ ।

सरकारमा सहभागी मात्रै होइन, पार्टीका केन्द्रीय नेता र सांसदका कारण पनि तनहुँ सधैँ चर्चा रहिरहन्छ । गठबन्धन बनाएर प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा होमिएका काँग्रेस, माओवादीका नेता कार्यकर्ता बढी उत्साही देखिन्छन् । उनीहरु चुनाव जित्ने दाबी गर्छन् । यसैगरि तनहुँको क्षेत्र नम्बर २ मा पनि चुनावी प्रतिष्पर्धा रोचक हुने देखिएको छ । गठबन्धनको साझा उम्मेदरका रुपमा कांग्रेसका युवा नेता शंकर भण्डारी छन् भने एमालेबाट किरण गुरुङ प्रतिष्पर्धामा उत्रिएका छन् ।

यसअघिका निर्वाचनमा एमालेले जित्दै आएको सो क्षेत्रमा गत निर्वाचनमा पनि एमालेका केदार सिग्देल सिग्देलले जीत हात पारेका थिए । अघिल्लो पटक पराजित भएका भण्डारी यसपटक फेरि सोही क्षेत्रबाट विशेष तयारीका साथ चुनावी मैदानमा उत्रिएका देखिन्छन् र यसपटक आफुले चुनाव जित्ने उनको आत्मविश्वास देखिन्छ । स्थानीय तहमा प्राप्त मतसंख्याको हिसाब गर्दा बाम गठबन्नधनको मत केही बढि भएपनि कांग्रेस नेता भण्डारीको प्रभाव राम्रो भएकाले परिणाम कसको हातमा पर्छ भन्न मंसीर ४ नै कुर्नुपर्ने देखिन्छ ।

त्यस्तै क्षेत्र नम्बर १ को प्रदेशसभा क मा गठबन्धनबाट कांग्रेसका अशोक कुमार श्रेष्ठ र एमालेका रामबहादुर गुरुङबीच प्रतिस्पर्धा हुनेछ । प्रदेश सभा ख मा गठबन्धनबाट माओवादीका हरिबहादुर चुमानले एमालेका पूर्ण बहादुर गुरुङको सामना गर्नेछन् ।

उता, क्षेत्र २ को प्रदेशसभा क मा गठबन्धनबाट माओवादीका राजेन्द्रकेशरी न्यौपाने र एमालेका श्यामराजा महत चुनावी प्रतिष्पर्धा हुँदैछ । त्यस्तै क्षेत्र नं २ कै प्रदेश सभा ख मा गठबन्धनबाट काँग्रेसका तनहुँ सभापति जितप्रकाश आले र एमालेका तनहुँ अध्यक्ष केदार सिग्देलबीच रोचक प्रतिष्पर्धा हुने भएको छ ।

तनहुँमा मुख्यतः गठबन्धन दलहरु (नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी), नेकपा एमाले र स्वतन्त्र उम्मेदवारहरुकाबीच नै चुनावी प्रतिष्पर्धा हुनेछ । तथापि निर्वाचन कार्यालयका अनुसार तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यका लागि १५, प्रदेशसभा १ का लागि ११ र प्रदेशसभा २ का लागि ७ जना चुनावी मैदानमा उत्रिएका छन् । त्यसैगरि क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि १०, प्रदेशसभा १ का लागि ८ र प्रदेशसभा २ का लागि ६ जनाको उम्मेदवारी कायम रहेको छ ।

आसन्न निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयले सबै उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिसकेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यका नेपाली काँग्रेसबाट रामचन्द्र पौडेल, नेकपा (एमाले)बाट एकबहादुर राना, जनता समाजवादी पार्टीबाट पासाङ थापामगर, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विनोदकुमार घर्ती, नेपाल मजदुर किसान पार्टीबाट रामकृष्ण त्वायना, हाम्रो नेपाली पार्टीबाट प्रवीण पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट कृष्णप्रसाद पौडेल, मङ्गोल नेशनल अर्गनाइजेशनबाट प्रेमबहादुर थापा, नेश्नलिष्ट पिपल्स पार्टीबाट ताजमहमद मियाँ, राष्ट्रिय जनमुक्ति पार्टीबाट हस्तबहादुर किचिम थापा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विकास सिग्देल चुनावी मैदानमा छन् ।

स्वतन्त्रतर्फ गोविन्दराज जोशी, रामचन्द्र कार्की, बेलबहादुर दरै र पृथ्वीनारायण श्रेष्ठ चुनावी प्रतिस्पर्धामा छन् ।

त्यसैगरि, तनहुँ क्षेत्र नं २ तर्फ नेपाली कांग्रेसबाट शंकर भण्डारी, नेकपा (एमाले)बाट किरण गुरुङ, राप्रपाबाट नरेन्द्रप्रताप महत, नेपाल मजदुर किसान पार्टीबाट रामहरि गोरा, हाम्रो नेपाली पार्टीबाट विष्णु पराजुली, मङ्गोल नेशनल अर्गनाइजेशनबाट प्रविना थापामगर, राष्ट्रिय जनमुक्ति पार्टीबाट लालबहादुर सार्की गोतामे, नेपाली कांग्रेस (बिपी)बाट पुष्पराज पराजुली, जनसमाजवादी पार्टी नेपालबाट खड्कबहादुर विक र राष्ट्रिय स्वतन्त्र पार्टीबाट विजय जोशी चुनावी मैदानमा उत्रिएका छन् ।