
तनहुँमा आयुर्वेदिक स्वास्थ्योपचार सेवाप्रति बिरामीको विश्वास बढ्दै गएको छ ।
आयुर्वेदिक उपचारमा गुणस्तरीय सेवा थपिएपछि यस उपचारप्रति बिरामीको आकर्षण बढेको हो। आयुर्वेदिक उपचार प्रभावकारी भई बिरामीले लाभ लिन थालेपछि तनहुँको सदरमुकाम दमौलीस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा बिरामी चाप बढेको छ ।
रोग निको हुने तथा कम खर्चमा राम्रो स्वास्थ्य सेवा पाइएकाले आयुर्वेद स्वास्थ्यमा उपचारका लागि आउने गरेको बिरामीले बताएका छन्।
नसा च्यापिने समस्याबाट धेरै लाभ मिलेको नेपाली कांग्रेस व्यास नगरपालिकाका सभापति सूर्यचन्द्र हड्खलेले बताए । २५० रुपियाँ खर्चमै आयुर्वेदिकबाट लाभ मिल्यो, हड्खलेले भने ।
ऋषिङ गाउँपालिका–५ रूपटार निवासी ५५ वर्षीय विष्णुमाया गिरीले लामो समयदेखिको टाउको दुख्ने समस्याको छुटकारा पाएको बताइन् । ठूला अस्पतालमा गएर उपचार गराउँदा निको नभएको रोग आयुर्वेदिक उपचारबाट निको भएको छ, गिरीले भनिन् । स्वास्थ्य केन्द्रमा उपचारका लागि आउने अधिकांश पायल्स, ढाडको समस्या, जन्डिस, ग्यास्ट्रिक, दमखोकी, हाडजोर्नी, नसा, आवाज रोकिने, श्वासप्रश्वाससम्बन्धी समस्या भएका, दम, बाथ, प्रसूति, बमनथेरापी, अम्लपित्तलगायत सेवा लिन धेरै बिरामी आउने गरेको स्वास्थ्य केन्द्रले जनाएको छ।
सो केन्द्रमा पञ्चकर्म र क्षारसूत्र विधिबाट विभिन्न रोगको सफल उपचार गरेपछि मानिसको आयुर्वेदिक उपचारतर्फ आकर्षण बढ्दै गएको केन्द्रका प्रमुख डा. रामप्रवोध मण्डलले बताए ।
एलोप्याथिक विधिबाट लामो समय उपचार गरेर थकित भएका व्यक्ति आउने गरेका छन् । केन्द्रमा तनहुँका अतिरिक्त छिमेकी जिल्ला गोरखा, लमजुङका बासिन्दासमेत उपचारका लागि आउने गरेका छन् ।




