कोरोना संक्रमणको “हव” बन्दै गएपछि भानु नगरपालिकामा थप १० दिन निषेधाज्ञा लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय तनहुँले भदौ १५ गतेदेखि २४ गते राति १२ बजे सम्म भानु नगरपालिकाको सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।

समुदायस्तरमा कोरोनाको जोखिम बढ्दै गएकाले भानु नगरपालिकामा निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बताए ।

निषेधाज्ञा अवधिभर अत्यावश्यक सेवा बाहेकका नियमित सेवा, बैङ्क तथा वित्तीय संस्थाबाट प्रदान गरिने बाह्य सेवा, सामाजिक सङ्घसंस्थाले सञ्चालन गर्ने कोभिड नियन्त्रण एवं स्वास्थ्य सुरक्षा बाहेक अन्य कार्य र उद्योग, कलकारखाना र अन्य व्यवस्थापन बन्द रहने कार्यालयले जनाइएको छ ।

निषेधाज्ञा अवज्ञा गरे सङ्क्रामक रोग ऐन, २०२० को दफा ३ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम कारवाही गरिने भएको छ ।

भानु नगरपालिकामा शुक्रबार मात्रै २२ जना सङ्क्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

तनहुँमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या २ सय ७५ पुगेको छ भने १ सय ९८ डिस्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।