
तनहुँको क्षेत्र नं १ मा बैशाख १० गते हुने उप–निर्वाचनको माहौल अहिले निकै तातेको छ । विभिन्न पार्टीका उम्मेदवारहरु अहिले आफ्नो पक्षमा भोट माग्न दलबल सहित विभिन्न गाउँ, बजार, चोक र गल्लीहरुमा पुगेका छन् । नागरिकहरुलाई विभिन्न आश्वासन दिदैं उम्मेदवारहरुले आफुँलाई मतदान गरेर विजयी गराइदिन आग्रह गरेका छन् ।
तथापी, यस उपनिर्वाचनमा ९ जनाले उम्मेदवारी दर्ता गराए पनि कांग्रेसका गोविन्द भट्टराई, एमालेका सर्वेन्द्र खनाल र रास्वपाका डा. स्वर्णिम वाग्लेबिच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ । कांग्रेसका भट्टराई मत संरक्षण गर्दै विरासत जोगाउने रणनीतिमा छन् । रास्वपाका डा. वाग्ले र एमालेका खनाल विरासत भत्काएर जित निकाल्न दाउमा देखिन्छन् ।
कांग्रेसले कांग्रेस छोडेर रास्वपाबाट उम्मेदवार बनेका स्वर्णिमले भोट काट्ने डरमा मत सुरक्षित गर्नेमात्र दाउमा छैन, असन्तुष्ट गोविन्दराज जोशी पक्षलाई रिझाउन हरसम्भव प्रयत्न गरिरहेको छ ।

कांग्रेसका महामन्त्री गगन थापा नै जोशी पक्षलाई कांग्रेसमा रिझाउन लागिपरेका छन् । कांग्रेसले जोशीमाथिको कारबाही केही दिनअघि फुकुवा पनि गरिसकेको छ । जोशीले कारबाही फुकुवालाई नमान्ने प्रतिक्रिया दिएका थिए । तर, कांग्रेस फर्कन लचक देखिएको उनी निकटस्थ बताउँछन् ।
कारबाहीयता उनी कांग्रेसमा सक्रिय हुन नपाएका मात्रै होइनन्, २०७९ को स्थानीय निर्वाचनमा छोरालाई व्यास नगरपालिको मेयर उम्मेदवार बनाई कांग्रेसलाई नै टक्कर दिएका थिए । मंसिरको आम निर्वाचनमा त उनी रामचन्द्र पौडेलविरुद्ध स्वतन्त्र उम्मेदवार बने । त्यति बेला जोशीले ६ हजार मत प्राप्त गरेका थिए । तर, यसपटक भने जोशी आफू उठेनन् र कसैलाई उठाएनन् पनि । निर्वाचनमा कसलाई सघाउने भन्ने सार्वजनिक गरेका छैनन् । कांग्रेसले कारबाही फुकुवा गरेसँगै जोशी कांग्रेसमा फर्किन केही लचक देखिएका छन् ।
जोशीले कांग्रेस सभापति देउवालाई वडादेखि जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म आफ्नो समूहका नेताको व्यवस्थापन गरे कांग्रेसको उम्मेदवारलाई सहयोग गर्ने सर्त राखेको स्रोत बताउँछ । जोशीले ७ हजार मत आफूसँग रहेको दाबी गर्दै आएका छन् । जोशीले आफूनिकटका नेताहरुको पार्टीमा व्यवस्थापन गर्न खोजिरहेको देखिन्छ ।
तर, उक्त समूहका गोविन्दराज जोशीका छोरा दीपकराजले आफूहरुले कांग्रेसमा भाग नखोजेको बताए । ‘हामीले कांग्रेससँग पद खोजेको होइन तर, नेविसंघ, तरुण दल, पार्टीको वडा, क्षेत्र, जिल्ला, प्रदेश, केन्द्रसम्म खुबी भएकालाई क्षमता हेरेर राख्नुपर्छ,’ दीपकले भने ।
मंसिरको निर्वाचनमा एमालेका उम्मेदवार एकबहादुर रानाले १९ हजार ९८१ मत प्राप्त गरेका थिए । एमाले आफ्नो मत जोगाएर चुनाव जित्ने दाउमा देखिन्छ । कांग्रेसको मत कांग्रेस छोडेर रास्वपाबाट उम्मेदवार बनेका स्वर्णिमले काट्ने भएकाले आफ्नो मत जोगाएमात्रै विजयी हुने आत्मविश्वास एमाले नेताहरुमा छ ।
गत मंसिरको निर्वाचनमा कांग्रेसले हामीले भन्दा करिब साढे ५ हजार बढी मत ल्याएको थियो, अहिले कांग्रेसको मत रास्वपाको उम्मेदवारबाट काटिन्छ, अहिले हामी आफ्ना मत सुरक्षित राखेर जित निकाल्नेमा ढुक्क छौं,’ एक एमाले नेताले भने ।
अर्काेतर्फ जोशी समूहलाई कांग्रेससँग मिल्न नदिने एमाले रणनीति छ । एमालेले यसपालि आफ्नो मत सुरक्षित राखी जोशी समूहको मत तान्ने उसको जोडबल हो । मंसिरकै चुनावमा जोशी र एमाले उम्मेदवारले ल्याएको मत नै विजेता रामचन्द्र पौडेलका भन्दा बेसी थियो ।
तसर्थ पनि एमाले उम्मेदवार सर्वेन्द्र खनाललाई जोशीको भर चाहिएको छ । कांग्रेस छोडेर रास्वपाबाट उम्मेदवार बनेका स्वर्णिमले कांग्रेसकै भोट काट्दा आफूहरुलाई फाइदा हुने एमाले आंकलन छ ।
रास्वपाबाट उम्मेदवार बनेका डा वाग्ले पनि निर्वाचन जितेर नयाँ इतिहास लेख्ने दाउमा छन् । गत मंसिरको निर्वाचनमा प्रत्यक्षतर्फ रास्वपाका उम्मेदवार विकास सिग्देलले ६ हजार ४४ मत ल्याउँदा समानुपातिकतर्फ १२ हजार ७ सय ७३ मत ल्याएको थियो । तनहुँका जनताको चेतनास्तर राम्रो भएकाले रास्वपाका उम्मेदवारलाई भोट दिएर जिताउनेमा रास्वपा ढुक्क देखिन्छन् ।
‘अघिल्लोपटक आधार बनेको थिएन, पर्ख र हेरको अवस्था थियो नि त, यसपालि भने हाम्रो आधार बनेको छ । तनहुँ १ का जनताले रास्वपाका उम्मेदवारलाई जिताउँछन् भन्नेमा म ढुक्क छु,’ रास्वपाका एक नेताले भने ।
तनहुँ १ मा आँबुखैरेनी, देवघाट र बन्दीपुर गाउँपालिका, भानु नगरपालिका तथा व्यास नगरपालिकाका वडा नम्बर १, २, ३, ४, ७, ८, ९, १०, ११, १२, १३ र १४ पर्छन् ।
के छन् उम्मेदवारका भनाई ?
यसैबीच, कांग्रेसका तर्फबाट उम्मेदवार गोविन्द भट्टराईले तनहुँमा राष्ट्रपति कृषि कार्यक्रम ल्याउने बताएका छन् । गत मंसिरमा भएको निर्वाचनमा विजयी रामचन्द्र पौडेल राष्ट्रपति भए पछि बाहिर सार्वजनिक रूपमा विकासका काममा हिंड्न नमिल्ने हुँदा राष्ट्रपतिसँग तनहुँका जनतालाई जोड्न उक्त कार्यक्रम ल्याउने भट्टराईले बताएका हुन् ।
वाम लोकतान्त्रिक गठवन्धनबाट उम्मेदवार रहेका भट्टराईले सबैको साथ र सहयोगले चुनाव जित्ने र यहाँहरूको हरेक बिकास निर्माणका काममा सक्रिय भएर लाग्ने बताए । यहींको माटोमा म हुर्कें यहाँको भूगोलमा कहाँ के आवश्यक छ, निर्वाचित भए पछि काम गर्न मलाई सजिलो छ, उनले भने ।
विगतमा सत्ता, शक्ति र कुनै पदमा नहुँदा जनताको कामको लागि निवेदन बोक्दै मन्त्रालय धाएर भए पनि योजना हरू ल्याएँ तर अब चुनाव जितेर गएपछि ती काममा सहज हुने उनको भनाइ थियो । पञ्चायतको पालामा मन्त्रीको लागि अफर आउँदा नखाई लोकतन्त्रको लागि, प्रजातन्त्रको लागि लडेको स्मरण गर्दै १ पटक अवसर दिन आग्रह गरे । ‘जीवनभर म जनताका लागि लडेँ, यसपटक कांग्रेसको विरासत धान्ने र साँसद बनी विकासका काम गर्ने अवसर दिनुस,्,’ उनले भने, ‘म जनताको काम ईमानदारीपूर्वक गर्छु ।’

त्यस्तै, रास्वपाका उम्मेदवार डा.स्वर्णिम वाग्लेले तनहुँबासीले गौरव गर्ने सांसद बन्ने दावी गरेका छन् । शुक्रबार विहान दमौलीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै वाग्लेले निर्वाचित भएर गएपछि तनहुँले गर्व गर्ने र तनहुँबासीले गौरव गर्ने खालको काम गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
पत्रकार भेटघाटमा वाग्लेले तनहुँको सुगम देखि दुर्गम क्षेत्र सम्मको भ्रमणले धेरै काम गर्नु पर्ने देखिएको बताए । बर्गिय असमानता, बिकाशका पूर्वाधार बन्ने तर स्तरहिन हुनु, पर्यटकिय सम्भावना बोकेको बिभिन्न क्षेत्रलाइ छनौट नगरिनु जस्ता समस्या देखेको बताए । नजिकैको पोखरामा पर्यटकको आइरो लाग्नु तर तनहुँको बन्दिपुर बाहेक अरु स्थानमा एक रात पनि नबस्ने भन्दै पर्यटकलाइ लोभ्याउने बिभिन्न योजना ल्याउन जरुरी रहेको पनि उनले बताए ।
आफु चुनाबी प्रतिस्पर्धामा उत्रिरहँदा संस्कारयुक्त राजनिति गर्ने र कसैलाइ गालि गरेर होइन सम्मान गरेर संगै प्रतिस्पर्धा गर्ने उनले बताए । वाग्लेले तनहुँ जिल्ला लोकतन्त्रबादीहरुको किल्ला रहेको भन्दै आफु त्यही लोकतन्त्रको लिगेसी धान्न राजनीतिमा आएको बताए । राष्ट्रिय स्वतन्त्र पार्टीले जनताको विश्वास र मत दुबै जितेर स्थापित भएको भन्दै उनले अव देशको बैकल्पिक शक्ति नै रास्वपा भएको बताए ।
टुरिष्ट उम्मेदवार भन्ने आरोप लागेको प्रश्नमा उनले तनहुँका प्रदीप पौडेललाई काठमाडौँमा जिताउन आफुले धेरै सहयोग गरेको भन्दै त्यसबेला प्रदिप टुरिष्ट नहुने अहिले गोर्खाबाट आफु तनहुँ आउँदा कसरी टुरिष्ट भएँ ? भन्ने प्रश्न गरे । साथै उनले मादी वारीका शंकर भण्डारी मादी पारी चुनाव लड्न जाँदा टुरिष्ट नहुने र मस्र्याङदी पारीको आफु तनहुँमा चुनाव लड्न आउँदा कसरी टुरिष्ट हुने ? भन्ने प्रश्न सभेत गरे ।

देशको सिमा नक्शा मान्छेले कोरेका चित्र भएकाले यसले आफ्नो जितमा फरक नपार्ने उनले दावि गरे । ‘म यो भूगोलको लागि नयाँ होइन विभिन्न सन्दर्भमा मेरो यहाँ आउजाउ भइरहेकै हो’ उनले भने ‘अहिले झन् नजिकबाट यहाँको समस्या र सम्भावनालाई बुझने अवसर पाएको छु’ ।
तनहुँको सम्भावना र समस्याबारे आफुले यहाँका सरोकारवालहरुसँग छलफल गरी योजना बनाएको समेत उनले बताए । यहाँको सडक, शिक्षा, स्वास्थ्य, पोषण, सिंचाइ, खानेपानी लगायतका समस्या र जलस्रोत, कृषि, पर्यटनको सम्भावनाबारे योजना बनाएर अघि बढ्ने उनले बताए ।
नेकपा एमाले तनहुँ क्षेत्र नम्बर १ का उम्मेदबार सर्वेन्द्र खनालले आफु सांसदमा निर्वाचित भईसकेपछि अपराधीलाई कडा भन्दा कडा कारवाही गर्ने कानुन बनाउन पहल गर्ने बताएका छन् । खनालले आफु प्रहरी सेवामा हुँदा अपराधीलाई कारवाहीको दायरामा ल्याएपनि कानुनमा भएको छिद्र प्रयोग गरेर अपराधीहरुले उन्मुक्ति पाउने गरेको बताए ।
अव आफ्नो मुख्य ध्यान कानुनका ति छिद्रहरु टाल्ने भएको हुँदा त्यसकोलागि संसदमा जानु पर्ने आवश्यकता भएको उनले बताए । खनालले आफ्नो प्रहरी सेवाको क्रममा आफ्नो मुख्य ध्यान अपराध नियन्त्रण, शुशासन, भ्रष्टाचारको अन्त्य, गुन्डाराजको अन्त्य, मिटरव्याजीहरुलाई निस्तेज, अपहरणकारी, हप्ता अशुली, विद्युत चुहावट, म्याज फिक्सिङ, मानव बेचबिखन, दाईजो प्रथा जस्ता कुरीति र अपराधलाई जरैदेखी उखेल्ने प्रयास भएको बताए ।

तर त्यस्ता अपराधीहरुको विरुद्धमा प्रहरीले मुद्धा चलाईसकेपछि कानुनका छिद्र प्रयोग गरेर उनीहरुले उन्मुक्ति पाउने र त्यस्तै अपराधीहरु अहिले राजनीतिको मुलधारमा समेत आएको भन्दै खनालले त्यही कानुनको छिद्रलाई टाल्न आफु पनि राजनीतिको मैदानमा आएको बताए ।खनालले राजनीतिमा शुद्धिकरणकोलागि आफु राजनीतिमा प्रवेश गरेको बताए । राजनीतिमा भएको बिकृती र विसंगतीको अन्त्य तथा तनहुुँको विकास र समृद्धी नै आफ्नो मुख्य प्राथमिकता रहेको उनले बताए ।
यसैबीच, मुख्यतः नेपाली काँग्रेसले शनिबार देवघाटमा र रास्वपा पार्टीले शनिबार आँबुखैरेनी र देवघाटमा चुनावी सभा गरेका छन् ।




