तनहुँ–१ मा १ लाख २३ हजार ३०५ मतदाता कायम भएका छन् भने ६९ मतदान स्थल र १५२ मतदान केन्द्र तोकिएको छ।

मङ्सिरको भन्दा एक सय ८५ मतदाता घटेका छन् । पाँच सय २८ जनाको मृत्यु भएकोले मतदाता सङ्ख्या घटेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनएको छ । उपनिर्वाचनका लागि ७६० जना कर्मचारी परिचालन गरिने भएको छ । आवश्यक निर्वाचन सामग्रीसहित क्षेत्र नम्बर १ मा पर्ने पाँच वटा पालिकामा उक्त सो सङ्ख्यामा कर्मचारी परिचालन गर्न लागिएको हो ।

कार्यालयका अनुसार तनहुँ १ मा देवघाट गाउँपालिकाका पाँच वटा वडामा ८ वटा मतदान स्थल र १५ वटा मतदान केन्द्र, आँबुखैरेनी गाउँपालिकामा ६ वटा वडामा नौ वटा मतदान स्थल र १७ वटा मतदान केन्द्र, बन्दीपुर गाउँपालिकामा ६ वटा वडामा ११ वटा मतदान स्थल र २२ वटा मतदान केन्द्रमा कायम भएका छन् ।

यसैगरी, भानु नगरपालिकाको १३ वटा वडामा २१ वटा मतदान स्थल, व्यास नगरपालिकाको वडा नम्बर ५ र ६ बाहेक १२ वटा वडाका २० वटा मतदान स्थलमा ४८ वटा मतदान केन्द्रमा कायम भएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानले सुरक्षा व्यवस्था मिलाउने भएकाले म्यादी प्रहरी आवश्यक नपर्ने मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।