बसन्त कंडेल

१४० मेगावाट क्षमताको जलाशययुक्त तनहुँ जलविधुत आयोजनासंग सिंगो तनहुँबासीको गौरव र सपना जोडिएको छ । देश र जिल्लाको गौरवसंग गाँसिएको तनहुँ जलविधुत आयोजनाको प्रारम्भिक चरणका कामहरु सकिएको छ भने दोस्रो चरणका कामहरु अगाडि बढाइएको छ ।

आयोजनाको सुरुङ, विद्युतगृह निर्माण र हाइड्रो मेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायत दोस्रो प्याकेजका काम गर्न चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसन लिमिटेडले आयोजनस्थलमा काम गरिरहेको छ। सिनो हाइड्रोले अहिले आयोजनास्थलमा कार्यालय भवन, श्रमिक आवास गृहलगायत संरचना निर्माण, आयोजनाको प्रवेशमार्ग र अन्य संरचनाको सर्वेक्षण, डिजाइन र निर्माण गरिरहेको छ भने केही कार्य सम्पन्न पनि भइसकेको छ ।

आयोजनाको तेस्रो प्याकेज अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी केईसी इन्टरनेसनलसँग ठेक्का सम्झौता भएर काम अगाडि बढेको छ ।

आयोजनाको परिचय

वि.सं. २०६२ सालमा पहिचान भएको र बर्षैभरि १४० मेगावाट विधुत उत्पादन हुने नेपालकै दोस्रो जलाशययुक्त आयोजना हो । आयोजनाको लम्बाई करिब १८ किलोमिटर र जलाशय क्षेत्र ७२६ बर्ग किलोमिटर रहेको छ । त्यस्तै, जलाशयको कुल भण्डारण क्षमता २९५.१ मिलियन घन मिटर रहने छ । आयोजनाको बाँध स्थल दमौली नजिकैको दुले पहरामा १४० मिटर अग्लो बाँध निर्माण हुनेछ भने काँहुडाँडा भित्र ११ सय ६२ मिटर लामो सुरुङमार्ग बाट निर्माण गरि सेती नदिको पानीलाई भूमिगत विधुत गृहमा पुर्याएर विधुत उत्पादन गरिने बताइएको छ। तनहुँ जलविधुत आयोजनाबाट उत्पादित विधुत २२० केभीको डवल सर्किट बाट ३९ किलोमिटर लामो प्रसारण लाइन निर्माण गरेर भरतपूर स्थित राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ ।

जापान अन्तराष्ट्रिय सहयोग नियोगकोको १८४ मिलियन यू.एस.डलर अर्थात १८ अर्ब नेपाली रुपैयाँ, एशियाली विकास बैंक र युरोपियन इन्भेष्टमेन्ट बैंकको १५० मिलियन डलर अर्थात १५ अर्ब नेपाली रुपैंया र बाँकी नेपाल सरकारको गरी कूल ५५ अर्ब रुपैयाको लागतमा सो आयोजना निर्माण सम्पन्न हुने आयोजनाका उपनिर्देशक तुलसीप्रसाद सापकोटले जानकारी दिए ।

यसैवीच, जाइका अध्ययन टोलीले प्राविधिक तथा आर्थिक दृष्टिले अत्यन्तै उपयुक्त साथै प्राकृतिक ,सामाजिक, आर्थिक र साँस्कृतिक वातावरणमा कम प्रभाव पार्ने योजनाका रुपमा तनहुँ जलविधुत आयोजनालाई लिएको छ । यो आयोजनाको जलाशय क्षेत्रमा जमिन र घना जङ्गल भएकाले वातावरणीय प्रभाव तुलनात्मक रुपमा न्यून हुने बताइएको छ । आयोजना निर्माणका क्रममा जलाशय क्षेत्र, बाँध र विधुत गृह क्षेत्र, भौतिक संरचनाका क्षेत्र र तल्लो तटीय क्षेत्रमा केही प्रभावहरु पर्ने भएतापनि अन्य जलविधुत आयोजनाका तुलनामा यसको प्रभाव कम रहेको आयोजनाले जनाएको छ ।

तथापी आयोजनाको जलाशय क्षेत्रले व्यास नगरपालिका का साथै अन्य स्थानीय तहहरु रिसिङ, म्याग्दे, र भिमादमा पर्ने ६ सय ३३ हेक्टर भूमि डुवानमा पर्नेछ । जसमध्ये १ सय ५१ हेक्टर खेतीयोग्य भूमि , २ हेक्टर जमिन घर बसोबास भएको क्षेत्र, र बाँकी जमिन जंगल र पर्ती क्षेत्रहरु रहेका छन् ।

त्यसैगरि तनहुँ जलविधुत आयोजनाका कारण ७ वटा झोलुङ्गे पुल, ग्रामीण बाटोहरु, सिँचाई कुलो, मोटरेवल पुल, कजवे, र विधुत वितरण लाइनहरु पनि प्रभावित हुनेछन् । त्यस्तै आयोजना निर्माणका क्रममा ७ सय ५८ जग्गाधनी घरपरिवारबाट जग्गा अधिग्रहण गर्नुपर्ने हुन्छ जसवाट ४ हजार २ सय ५७ जना व्यक्तिहरु प्रत्यक्ष प्रभावित हुनेछन् । त्यस क्रममा ८६ घरपरिवारलाई अन्यन्त्र ठाउँमा स्थानान्तरण गर्नुपर्ने आयोजनाको विस्तृत अध्ययनमा उल्लेख छ ।

आयोजनाको वर्तमान अवस्था

देशकै गौरवको रुपमा रहेको आयोजना अन्तर्गत ११ करोडको लागतमा पाटन र झापुटार जोड्ने ८६ मिटर लामो पक्कि मोटरेवल पुल निमार्ण पुरा भई सकेको छ । यस्तै क्याम्प प्रवेश मार्गमा पर्ने घरजग्गा प्राप्तिको लागि प्रारम्भिक कार्य पुरा गरी मुआब्जा र क्षतीपूर्ति वितरणको कार्य पनि सम्पन्न भएको छ । त्यस्तै , चापाघाट देखि पाटन सम्मकोे २ किलो मिटर बाटोमा कालोपत्रे गर्ने काम सम्पन्न भएको छ भने नयाँ निर्माण गरिएको पक्की पुल देखि विद्युत गृह र सुरुङ निर्माण स्थल सम्मको ४ किलोमिटर बाटोको ग्रावेल गर्ने कार्य पनि सम्पन्न भएको छ । त्यसैगरि विद्युत गृहसम्म पुग्नको लागि टेस्ट अडिट टनेल अर्थात परीक्षण सुरुङ मार्गको निर्माण कार्य पनि सकिएको छ ।

आयोजनाका अनुसार टेष्ट अडिट (सुरुङ) भित्र भौगर्भिक परीक्षणको लागि कोर ड्रिलिङको काम, सव स्टेशनको निर्माण कार्य, र कर्मचारी आवास भवन लगायतका निर्माण कार्यहरु पनि सकिएका छन् । सन् २०२२ को अक्टोवर सम्ममा आयोजना सम्पन्न भई विधुत उत्पादन गर्ने लक्ष्य नेपाल सरकारको रहेको छ ।

अवसर र चुनौतीहरु

आयोजनको प्रारम्भिक कार्य शुरु हुन मात्र करिव ११ बर्ष लागेको छ । यसअवधिमा पनि आयोजनाले थुप्रै आरोह , अवरोह र चुनौतीहरुको सामना गर्नुपर्यो । आयोजनाको शुरुवातका कार्यहरु दु्रत गतिमा भएतापनि समयमै सम्पन्न हुन्छ कि हुँदैन भन्नेमा अझैपनि विभिन्न शंका र आशंकाहरु विधमान नै छन् । आयोजनाका बारेमा सहमति र असहमति जनाउनेहरु पनि छन् ।

नेपालको कुल विधुत खपतको पचास प्रतिशत भन्दा बढी काठमाण्डौं उपत्यकामा मात्र खपत हुने गरेकोमा तनहुुँ जलविधुत आयोजना ठूलो परिमाणमा विधुत खपत हुने लोडसेन्टरको नजिक छ । यहाँबाट उत्पादित विधुत काठमाण्डौं लैजान दमौली स्थित सवस्टेशनमा जोडिने र मध्य तराइको विधुत माग र आपूर्तिको सन्तुलन मिलाउन भरतपुर स्थित सवस्टेशनमा जोडिने छ । भौगोलिक रुपले अत्यन्तै सुगम ठाउँमा रहेको र नेपालकै मध्य विन्दुमा अवस्थित तनहुँ जिल्लामा जलाशययुक्त जलविधुत आयोजना निर्माण गरिनुका थुप्र्रै सकारात्मक पक्षहरु छन् ।

आयोजनाको निर्माणका लागि यसअघि नै लगानी जुटिसकेको छ । यसैबीच, आयोजनाको परामर्शदाता नियुक्तिमा भएको ढिलाइले आयोजनाको काम १–२ बर्ष पछाडि धकेलिएको छ । आयोजनाको प्रतिफल तय भएपछि प्रभावित क्षेत्रका र सर्वसाधारणलाई सेयर निष्कासन गरिने पनि जनाइएको छ । आयोजनाले ३ वटा चरणमा काम अगाडि बढाउने तयारी गरेको छ,जसअनुसार पहिलो चरणमा आयोजनाको बाँध निर्माण, दोस्रो चरणमा हाइड्रो र इलोक्ट्रोमेकानिकल कार्य र तेस्रो चरणमा प्रसारण लाइन र सवस्टेशनको निर्माण गरिने छ ।

आयोजनासंग सम्पूर्ण तनहुँबासीको सपना पनि जोडिएको छ । जिल्लाको समग्र आर्थिक, सामाजिक, राजनीतिक र पर्यटकीय विकासका लागि यो आयोजना कोशेढुङ्गा सावित हुने जानकारहरुको भनाई छ । तनहुँ जलविधुत आयोजनाले थुपैै्र सम्भावना, अवसर र चुनौतीहरुलाई एकैसाथ भित्र्याउन सक्ने अनुमान गरिएको छ । तर, आयोजना प्रभावित क्षेत्रका बासिन्दाले विभिन्न मागहरु राख्दै आन्दोलन समेत गर्दै आएका छन् जसले आयोजनाको गतिमा सुस्तता बढाएको छ ।