
तनहुँको व्यास नगरपालिका १४ स्थित प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल छाब्दी बाराही मन्दिरको गत आर्थिक वर्षमा ३ लाख भक्तजनले दर्शन गरेका छन । छाब्दी बाराही विकास कोषका अध्यक्ष थानबहादुर थापाले ३ लाख भक्तजनले छाब्दी बाराही मन्दिरको दर्शन गरेको जानकारी दिए । यस वर्ष भक्तजनहरुको संख्या अरु बढ्ने उनको दावी छ ।
कोरोनाका कारण अघिल्ला केही वर्षमा भक्तजनको संख्या घटेको हो उनले भने । चालु आर्थिक वर्षको ६ महिनामा २ लाख भन्दा बढी भक्तजनले मन्दिरको दर्शन गरिसकेका छन अध्यक्ष थापाले भने । यस वर्ष ४ लाख बढी भक्तजन नाघ्ने दावी उनको छ । साउन महिना, एकादशी र औसीमा बली नचढ्ने उनले बताए । अन्य दिन मन्दिरमा बोका, कुखुरा, परेवाको बली दिने गरिएको छ । छाब्दी बाराही मन्दिरमा ३ जना मगर जातिका पुजारीले पालो मिलाएर पूजा गर्दै आएका छन । मन्दिरको मुल पुजारीमा चोलबहादुर आले र सहायक पुजारीमा डोलबहादुर आले र कृष्णबहादुर आले रहेका छन ।
तनहुँ, लमजुङ, गोरखा, कास्की, चितवन, पर्वत, बाग्लुङ, म्याग्दी, धादिङ, काठमाडौंबाट भक्तजनहरु मन्दिरको दर्शनको लागि आउने गरेको कोषका सल्लाहकार हिमबहादुर रानाभाटले बताए ।
भाकल गर्ने र पूरा भएपछि बली चढाउन भक्तजनहरु आउने गरेका हुन । उक्त मन्दिरमा पूजा अर्चना र दर्शन गरेमा सन्तान नभएकाको सन्तान हुने र बोली समेत फुट्ने गरेको किंवदन्ती छ । मन्दिर नजिकैका कुण्डमा रहेका रजबामहरुलाई देवी देवताको अवतार मानेर पूजा गर्ने चलन रहेको मूल पुजारी चोलबहादुर आलेले बताए । छाब्दी बाराही मन्दिर वरपरको क्षेत्रमा पाटी पौवा, ४/५ वटा कुण्ड, प्रतिक्षालय, मन्त्स्य कन्याको मूर्ति, प्रवेशद्वार, पिकनिक स्पोर्ट लगायतका संरचनाहरु निर्माण गरिएको बताइएको छ । मन्दिरको वार्षिक ३० लाख रुपैयाँको हाराहारीमा आम्दानी हुने र त्यसैबाट विकास निर्माणका कामहरु हुने गरेको अध्यक्ष थापाले बताए । छिट्टै पृथ्वी राजमार्गको पोखरा काठमाडौंको बिचमा पर्ने गरी तनहुँको गल्वुवेसीमा छाब्दी बाराही विकास कोषले ठूलो प्रवेशद्वार निर्माण गर्ने तयारी गरिरहेको जानकारी उनले दिए ।
भक्तजनहरुलाई छाब्दी बाराहीको बारेमा जानकारी गराउन र पर्यटन प्रबद्र्धन गर्न प्रवेशद्वार राख्ने तयारी गरिएको हो । सदरमुकाम दमौलीबाट ९ किलोमिटर पूर्वमा प्रसिद्ध छाब्दी बाराहीको मन्दिर रहेको छ । उक्त मन्दिर जाने सडक कालोपत्रे भइसकेको छ । यस अघिका राजाहरुले छाब्दी बाराही मन्दिरलाई निकै महत्वका साथ हेर्ने र हरेक वर्ष दर्शनका लागि आउने गरेको स्थानीयहरु बताउछन । महेन्द्र, विरेन्द्र, पूर्व युवराज दिपेन्द्र शाह छाब्दी मन्दिरको दर्शनको लागि आउने गर्दथे ।




