
विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणका कारण नेपालमा ज्यान गुमाएका ४५ जनासहित विश्वभर २ सय ६ जना नेपालीको मृत्यु भएको छ ।
गैरआवासीय नेपाली संघ स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार शनिवार साँझ सम्म विदेशमा मात्र १ सय ६१ जना नेपालीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।
समितिका अनुसार अनुसार ३६ मुलुकमा रहेका ३१ हजार १ सय ५० कुल संक्रमित मध्ये २९ हजार २ सय ४३ जना अर्थात ९३ प्रतिशत भन्दा बढी नेपालीहरु कोरोना संक्रमणमुक्त भएका छन्।
अघिल्लो साता अफ्रिकी मुलुकमा कोरोना भाइरसबाट संक्रमित नेपालीमध्ये अधिकांश संक्रमणमुक्त भएपनि यो साता त्यहाँ संक्रमणदर केही बढेको छ। यस्तै यूएई, कतार, कुवेत र साउदी अरबमा रहेका नेपालीमा पनि यो साता संक्रमण बढेको छ।
नेपालमा शनिबार साँझसम्म संक्रमितको संख्या १८ हजार ४ सय ८३ जना पुगेको छ।
यसैबीच स्वास्थ्य समितिले सार्वजनिक स्थलमा जाँदा, र सवारी साधन प्रयोगका क्रममा अपनाउनुपर्ने स्वास्थ्य मापदण्ड सम्बन्धमा विशेष मार्गदर्शन समेत तयार पारेको छ। समितिले सार्वजनिक स्थलमा जाँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्न समेत सुझाएको छ ।




