
नेपाली कांग्रेसले पूर्वसहमहामन्त्री गोविन्दराज जोशी र कांग्रेस चितवनका पूर्वसभापति विकास कोइरालामाथिको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ ।
आइतबार पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले कांग्रेस नेताहरू जोशी र कोइरालामाथिको कारबाही फुकुवा गर्ने निर्णय गरेको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए ।
कारबाही फुकुवा गरिएका नेताहरुको पुरानै क्रियाशील सदस्यता कायम हुने पनि सहमहामन्त्री पाण्डेले बताए । ‘२०७९ अघिका निर्वाचनमा बागी उम्मेदवारी दिएका चितवन, तनहुँ र बाराका नेताहरूमाथिको अनुशासनको कारबाही पुरानै क्रियाशील सदस्य काययम हुने गरी फुकुवा गर्ने निर्णय बैठकले गरेको छ,’ उनले भने ।
चितवनका पूर्वसभापति कोइरालाले २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाविरुद्ध चितवन-४ मा बागी उम्मेदवारी दिएका थिए । बागी उम्मेदवारी दिएपछि कांग्रेसले २ कात्तिक २०७० मा कोइरालामाथि अनुशासनको कारबाही गरेको थियो ।
यस्तै, पूर्वसहमहामन्त्री जोशीले २०७४ सालको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिएका थिए । तर, भ्रष्टाचार मुद्दामा विशेष अदालतले दोषी ठहर गरेका जोशीले उम्मेदवारी दिएको भन्दै पौडेलले निर्वाचन आयोगमा उजुरी दिएपछि उनको उम्मेदवारी खारेज भएको थियो ।
पौडेललाई हराउन भूमिका खेलेको भन्दै कांग्रेसले २४ पुस २०७५ मा जोशीमाथि अनुशासनको कारबाही गरेको थियो । ४ मंसिरमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि जोशीले तनहुँ १ मा स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
आगामी १० वैशाखमा चितवन २, बारा २ र तनहुँ १ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनलाई मध्यनजर गर्दै कांग्रेसले यी तीन जिल्लाका नेता-कार्यकर्तामाथिको कारबाही फुकुवा गरेको हो । कांग्रेसबाट चितवन २ मा जितनारायण श्रेष्ठ र तनहुँ १ मा कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराई उम्मेदवार छन् । बारा २ मा भने कांग्रेसले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने निर्णय गरेको छ ।
२०७९ मा भएको स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा बागी उम्मेदवार बनेकाहरूको हकमा भने १० वैशाखमा हुने उपनिर्वाचनमा गर्ने कामलाई हेरेर आगामी दिनमा निर्णय गरिने सहमहामन्त्री पाण्डेले बताए । उनका अनुसार अनुशासन समितिलाई सक्रिय बनाउने पनि निर्णय भएको छ । शिलापत्रबाट




