तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनमा अपनाउने रणनीतिका सन्दर्भमा नेपाली कांग्रेसका पुराना नेता गोविन्दराज जोशीको दौडधुप तीव्र बनेको छ। यो क्षेत्रबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि उपनिर्वाचन हुँदै गर्दा कसलाई मत दिने भनेर जोशी समूह छलफल र वार्तामा छ।

तत्कालीन कांग्रेस नेता तथा वर्तमान राष्ट्रपति पौडेल प्रतिनिधिसभा उम्मेदवार बन्दा पौडेल बागी तथा स्वतन्त्र उम्मेदवार उठेर भोट काट्दै आए पनि यसपटक चुनावमा नउठ्ने घोषणा गरेका छ्न्।

आफू नउठे पनि कांग्रेस–माओवादीसहित सत्ता गठबन्धनका साझा उम्मेदवार कांग्रेसका गोविन्द भट्टराईलाई मत दिने वा हराउने अभियान चलाउने वा चुनाव नै बहिष्कार गर्ने भन्नेबारे जोशी समूहले निर्णायक छलफल गर्दैछ।

कांग्रेसले पार्टीका पूर्व सहमहामन्त्रीसमेत रहेका जोशीलगायत नेता कार्यकर्तालाई गरिएको अनुशासनको कारबाही फुकुवा गरेपछि उपचुनावको मुखमा जोशी र पार्टी नेतृत्वबीच वार्ता चलिरहेको छ। जोशी समूहका अनुसार कारबाही फुकुवा गरेपछि नेतृत्वले उनलाई छ्लफलको लागि बोलाएको हो।

उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापाले जोशीसँग वार्ता गरेका छ्न्। पार्टी सभापति शेरबहादुर देउवासमेत कतिपय छलफलमा बसेको जोशी समूहको दाबी छ। जोशीले पार्टी बिपीको सिद्धान्त र विधिविपरीत हिँडेको भन्दै विद्रोह गर्दै आएका हुन्। उनले २०६७ सालमा बिपी विचार राष्ट्रिय समाज गठन गरेका थिए। उक्त समाजका संस्थापकसमेत रहेका जोशी सहसभापति छ्न् भने कांग्रेसका पुराना नेता केबी गुरुङ सभापति छ्न्।

जोशीले अहिले कांग्रेससँगको वार्तामा पनि पार्टीलाई बिपीको सिद्धान्तमा हिँडाउनुपर्ने, अन्यथा कांग्रेसकै उम्मेदवारलाई हराउन बाध्य हुने चेतावनी दिएका छ्न्।

तनहुँमा जोशी समूहसँग ८ देखि १० हजार भोट रहेको दाबी छ। गत मंसिर ४ को निर्वाचनमा पौडेलविरुद्ध उठेका जोशीले ६ हजारभन्दा धेरै मत ल्याएका थिए। जोशीले मंसिर ४ मा ६ हजार मात्रै मत ल्याए पनि ८ देखि १० हजार मत जोशी समूहसँग रहेको स्थानीय नेता कार्यकर्ता बताउँछन्। पौडेल प्रधानमन्त्री वा राष्ट्रपति बन्ने चर्चा भएका कारण जोशी समूहको पनि केही मत पौडेललाई गएको उनीहरुको बुझाइ छ।

जोशीले अब भने आफूहरुको भोट कतै नजाने र अन्तिम समयमा भट्टराई हराउन लाग्ने बताएका छ्न्। जोशीको यस्तो चेतावनीपश्चात नेतृत्व उनलाई फकाउने रणनीतिमा छ। जोशीले पार्टीमा सहमहामन्त्री बनिसकेकोले उपसभापति पाउनुपर्ने दाबी गरेका छ्न्। आफ्ना समूहका केही नेता कार्यकर्तालाई कांग्रेस केन्द्रीय सदस्य बनाउनुपर्ने तथा आफूलाई पार्टीको उपसभापति बनाउनुपर्ने जोशीले नेतृत्वसँग अडान लिएका छ्न्।

बिपी विचार समाज, तनहुँका सभापति हरिशरण पण्डितले जोशीले यस्तो अडान लिएकोबारे जानकारी दिए। उनले भने, ‘हामी नेतृत्वसँग निर्णयक छ्लफलमा छौँ। चैत महिनाभरि छलफलले के निष्कर्ष निकाल्छ कुरेर बस्छौँ। चित्त बुझ्दो निष्कर्ष नआए वैशाखमा कडा निर्णय लिन बाध्य हुनेछौँ।’ कडा निर्णय भनेको कस्तो निर्णय हो? भन्ने प्रश्नमा पण्डितले भने, ‘हामी सत्ता गठबन्धनका उम्मेदवार भट्टराईलाई हराउन लाग्ने छौँ।’

जोशीले कांग्रेसलाई सहयोग नगरे उनको मत राष्ट्रिय स्वतन्त्र पार्टीलाई जानसक्ने सम्भावना रहेको उनीनिकटहरु बताउँछन्। त्यसो हुँदा भट्टराईलाई जित्न हम्मेहम्मे पर्ने भएका कारण पनि पार्टीमा सकेसम्म जोशीको चित्त बुझाउने प्रयास भइरहेको छ।

पार्टी सभापति देउवा, उपसभापति खड्का र महामन्त्री थापा जोशीको माग पूरा गराउन पार्टीभित्र कसरतमा छ्न्। तनहुँ–१ का गठबन्धनका उम्मेदवार भट्टराईले पनि असहज परिस्थितिलाई खुकुलो बनाइदिन नेतृत्वसँग आग्रह गरेका छ्न्। अवस्था सहज बनाइदिन राष्ट्रपति पौडेलसँग समेत भट्टराईले आग्रह गरेका छ्न्।

जोशीले काठमाडौँमा भएका छलफलबारे तनहुँका आफ्ना नेता कार्यकर्तालाई जानकारी गराइरहेका छ्न्। बिपी विचार समाज तनहुँका सभापति पण्डितले भने, ‘जे हुन्छ सामूहिक निर्णयका आधारमा हुन्छ। जोशी सरले केन्द्रमा छलफल सकेपछि जिल्ला फर्किएर औपचारिक कार्यक्रम राखेर घोषणा गर्छौँ।’

जोशीमाथि गरिएको अनुशासनको कारबाही फुकुवा भएदेखि नै छलफल सुरु भएको हो। पछिल्ला छलफल सकारात्मक भएको पार्टीका एक पदाधिकारीले बताए। छलफलकै क्रममा रहेकाले धेरै खुल्न नमिल्ने उनको भनाइ छ।
जोशीमाथि २०७४ को चुनावमा तनहुँ–१ मा कांग्रेसका तत्कालीन उम्मेदवार रामचन्द्र पौडेललाई हराउन भूमिका खेलेको आरोप थियो। २०७५ पुस २४ गते कांग्रेसले जोशीमाथि कारबाही गरेको थियो।

कारबाहीमा परे पनि जोशीले पार्टी नछाडी तनहुँमा समानान्तर समिति गठन गरे। बिपी समाज र कांग्रेस स्वतन्त्र समूहमार्फत राजनीतिक गतिविधिमा सक्रिय रहे।

उनी गत मंसिर ४ को चुनावमा पनि तनहुँ–१ मा रामचन्द्र पौडेलसँग प्रतिस्पर्धामा उत्रिएका थिए। उनी स्वतन्त्र उम्मेदवार थिए। यहाँ पौडेलले २५ हजार ३ सय १८ मतसहित चुनाव जिते। जोशीले भने ६ हजार ८ सय ७८ मत ल्याएका थिए। एमालेका एकबहादुर रानाले झन्डै २० हजार र रास्वपाका विकास सिग्देलले ६ हजारभन्दा बढी भोट ल्याएका थिए। मंसिर ४ मा तनहुँ–१ मा ६८ हजार १ सय ५८ मत खसेको थियो। तनहुँ जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी हरि ढकालका अनुसार आगामी वैशाख १० गतेको उपचुनावमा लागि १ लाख २३ हजार ३ सय ५ मतदाता छ्न्। ६९ मतदानस्थल तथा १५२ मतदान केन्द्र तोकिएका छ्न्।

यहाँ कांग्रेसका भट्टराई, एमालेका सर्वेन्द्र खनाल र रास्वपाका स्वर्णिम वाग्लेबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ। तीनै उम्मेदवारले आफूले जित्ने दाबी गरिरहँदा नेता जोशीको मत निर्णायक छ ।

साभारः देश सञ्चार डटकम