सम्पादकीय

एक पछि अर्को गर्दै तनहुँको व्यास नगरपालिकाले उदाहरणीय कार्यहरु गर्दै आएको छ ।

गतहप्ता मात्रै विद्युतीय कर भुक्तानी (इ–पेमेन्ट) सुरुवात गरेको नगरपालिकाले फेरि नगरपालिकाका वडाहरुमा पुगेर एकिकृत घुम्ती सेवाको शुरुवात गरेको छ ।

विद्युतीय कर भुक्तानी सेवा सुरु भएपछि नगरवासीले कर तिर्नकै लागि नगरपालिका कार्यालयमा घण्टौंसम्म लाइन बस्नुपर्ने झंझट र समस्या केही हटेको छ, जसलाई नगरबासीले सकारात्मक रुपमा लिएका छन् । सो प्रणाली अन्तर्गत मालपोत कर, यवसाय कर, घर जग्गा बहाल कर लगायतको विद्युतीय भुक्तानी नगरबासीले घरमै बसेर आफ्नो करदाता पोर्टल र इन्टरनेटको मध्यमबाट विभिन्न अनलाइन एपबाट भुक्तानी गर्न सकिने गरि सो सेवा सञ्चालन भएको छ ।

त्यसैगरि, नगरपालिकाले यही पुस ११ गतेदेखि सबै वडामा योजनाबद्ध तरिकाले ग्रामीण भेगका सेवाग्राहीलाई लक्षित गरी एकिकृत घुम्ती सेवा मार्फत घर आँगनमै पुगेर सेवा दिन थालेको छ जसलाई पनि नगरवासीले स्वागतयोग्य र उदाहरणीय कार्य मानेका छन् । पहिलो चरण अन्तर्गत एकिकृत घुम्ति शिविर मार्फत सोमबार पुस ११ गते देखि पुस २० सम्म सेवा प्रदान गर्ने कार्य भईरहेको छ ।

घुम्ती सेवामा कृषि कृषि परामर्श र औषधी, बिउ बिजनहरु शिविरबाटै प्रदान गरिएको छ भने पशु औषधी र पशुपरामर्श पनि उपलब्ध गराइएको छ । त्यसैगरि महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाबाट उपलब्ध हुने कागजात, सामाजिक सुरक्षा भत्ता कार्ड वितरण र पञ्जिकरण एकाइबाट हुने व्यक्तिगत घट्ना दर्ता जस्ता सेवा दिन दिईएको छ । त्यस्तै, विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य, पाठेघरको मुख र स्तन क्यान्सर, औलो रोग, मधुमेह, उच्च रक्तचाप लगायत परीक्षण पनि गरिएको छ । नगरपालिकाले पहिलो चरणमा शुरु गरेका कार्यहरुको प्रशंसा भएपनि अर्को चरणमा थप थप प्रभावकारी कार्यक्रमहरु लिएर जनताको घरदैलोमा पुग्नु जरुरी छ ।

वास्तवमा, स्थानीय सरकारको अनुभुति नागरिकहरुले यसै गरि पाउनु पर्दछ । जनताको मत पाएर निर्वाचित जनप्रतिनिधिहरुले यसरी नै उनीहरुको सेवाभावमा समर्पित भइरहुन्, आम नागरिकको चाहना यत्ति नै छ ।