
चैत्र १० गते शुरु हुने आठौं तनहुँ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सवको विहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
यसैबीच, महोत्सवको तयारी र उद्घाटनका बारेमा जानकारी दिने उद्धेश्यले बुधबार महोत्सवस्थलमा पत्रकार सम्मेलन गरिएको छ ।
महोत्सवको तयारीको बारेमा जानकारी दिन र महोत्सवमा हुने क्रियाकलापको बारेमा जानकारी दिने उद्देश्यले पत्रकार सम्मेलनको आयोजना गरिएको हो ।

सो अवसरमा महोत्सवका निर्देशक मानकाजी श्रेष्ठले महोत्सवले पुख्यौली सम्पत्ती संरक्षण एवं सम्बद्र्धन गर्न सहयोग पुग्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको बताए ।
विभिन्न जातजातिको थलो भएको यस जिल्लामा ब्राह्मणको बालन नाच,गुरुङ जातिहरुको घाटु, मगर चुड्का, नेवार जातिहरुको लाखे,कुमाल जातिहरुको पाउदुरे नाच लगायतका पैतृक सम्पत्ति भएकोले यसको संरक्षण र स्थानीय उत्पादित बस्तुको प्रवर्धनको लागि तनहुँ महोत्सवको आयोजना गरिएको बताए ।
कोभिड –१९ का कारण बिगत दुई बर्ष देखि मेला महोत्सव हुन नसकेको हुँदा मनोरञ्जनको लागि पनि महोत्सवले थप आकर्षित गराउने बिश्वास आयोजक समितिले लिएको बताए ।

कार्यक्रममा महोत्सव मुल समारोह संयोजक एवं तनहुँ उद्योग बाणिज्य संघका अध्यक्ष पविन्द्र कुमार श्रेष्ठले महोत्सवको तयारी ९५ प्रतिशत पूरा भैसकेको जानकारी दिए । महोत्सवको लागि निर्माण गरिएका सबै स्टलहरु बुकिङ भैसकेका छन् ।
जिल्ला भित्र रहेका ऐतिहासिक, धार्मिक र साँस्कृतिक पर्यटकीयस्थलहरुको पहिचान गरी प्रवर्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको तनहुँ उद्योग बाणिज्य संघका अध्यक्ष एवं महोत्सव मूल समारोह समितिका संयोजक श्रेष्ठले जानकारी दिए ।
महोत्सव अवधिभर करिब तीन लाख दर्शकले महोत्सव अवलोकन गर्नुका साथै करिब रु.६ करोड बराबरको आर्थिक कारोबार भई १५ देखि २० लाखसम्म बचत गर्ने लक्ष्य राखिएको छ ।
महोत्सवस्थलमा एक जना डाक्टर सहितको प्राथामिक उपचार स्टल एम्बुलेन्स तयारी अवस्थामा राखिने छ भने एउटा एम्बुलेन्स स्टेन्डबाई राखिनेछ । साथै यसबर्षको महोत्सवको आर्कषणको रुपमा मादी र सेती नदीमा गरिने मोटर बोर्ड रहेको छ । दुई वटा मोटरबोर्ड मादीसेती नदीमा संञ्चालन गरिनेछ । दश जना क्षमताको उक्त बोर्डमा प्रतिव्यक्ति रु.२५० शुल्क रहनेछ ।
त्यसैगरी महोत्सवस्थलमा टिकटक पार्क निर्माण गरिएको छ । महोत्सवमा स्थानीय,क्षेत्रीय देखि राष्ट्रिय कलाकारहरुको सहभागिता रहनेछ भने स्थानीय कलाकारहरुलाई प्राथमिकतामा राखिएको आयोजक समितिले जनाएको छ ।

स्थानीयस्तरमा उत्पादित कृषि,घरेलु,हस्तकला उत्पादनलाई बढ्वा दिदै लोपोन्मुख भाषाभाषी, कलासंस्कृतिको संरक्षणमा महोत्सवले थप टेवा पुग्ने बिश्वास लिइएको छ । कार्यक्रम संघका महासचिव सुबोध अधिकारीले संञ्चालन गरेका थिए ।




