प्रधानमन्त्री केपी शर्मा ओलीका अल्पज्ञानका कारणले अहिले नेपाल र नेपालीले पाउनु सम्मको दुःख पाएका छन् । उनीभित्रको संयमहीनताले मुलुककै लागि असहज परिस्थितिसँगै संकट निम्त्याएको छ ।

उनमा अनेकौँ योग्यता र क्षमता होलान तर उनमा संयमको सर्वथा अभाव देखिएको छ ।

कोरोना भाइरसको संक्रमण, महामारी र औषधी (बेसार महात्म्य) का बारेमा नानाभाँती बोलेर नेपालीलाई हैरान पारेका ओलीले फेरि भानु जयन्तीका अवसरमा अर्को वितण्डा मच्चाएका छन् । ओलीले भगवान राम सम्बन्धी अर्को विवादास्पद अभिव्यक्ति दिए, जुन अभिव्यक्ति नेपालमै पचाउन गाह्रो भयो भने भारतमा त झन हल्लीखल्ली मच्चाएको छ ।

रामको जन्मस्थल वीरगञ्ज पश्चिमको ठोरी नजिक भएको र अहिले ‘अयोध्या’ का रुपमा भारत (उत्तर प्रदेश) को फैजावादस्थित क्षेत्र नक्कली भएको सार्वजनिक अभिव्यक्ति मात्र दिएनन् उनले, सांस्कृतिक थिचोमिचो गर्ने नियतले भारतले कृत्रिम अयोध्या जन्माएको अरोप पनि लगाए ।

नेपाल–भारतको सीमा विवादको उत्कर्ष रहदैं ओलीको बोलीले छिमेकी राष्ट्र भारत नेपालसंग नराम्रोसंग रिसाएको भान हुन्छ ।

पुरातत्व, इतिहास, सभ्यता र संस्कृति अनि तीसँग जोडिएका व्यक्तित्वबारे सर्वत्र एकमत हुँदैन, र निरन्तर अनुसन्धान का विषय मानिन्छन् ।

राम, रामायण र अयोध्याका बारेमा विशिष्ठ ज्ञान नभएका ओलीको बोलीको अहिले सर्बत्र खण्डन भएको छ । गहन विषयबारे हचुवाका भरमा बोलेका ओलीको बोलीले अहिले नेपाल र नेपालीकै आलोचना भएको छ ।

अल्पज्ञानी प्रधानमन्त्री ओलीले सांस्कृतिक, धार्मिक र आस्थाका केन्द्र रामको जन्मथलोबारे मनपरी बोलेपछि भारत र भारतका कैयौं धार्मिक संस्था र निकायहरु रुष्ट भएका छन् ।

आजन्म अध्येता, अनुसन्धानकर्ता र विद्धान योगी नरहरिनाथले महाभारत युद्ध र त्यसका अन्य पात्रसँगै युद्ध क्षेत्रबारे बृहत शोध र अध्ययनपछि वैकल्पिक मान्यता अघि सारेका थिए तर ओलीको अल्पज्ञानले त्यस सत्यलाई चुनौती दिएको छ ।

हेरौं, ओलीको यस्तै अल्पज्ञानले देश र नागरिकलाई कहाँ पुर्याउने हो ? समयले बताउला ।