
अझै केहि दिन देशको धेरै स्थानमा हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागले उत्तरपूर्व बङ्गालको खाडीमा रहेको न्यून चापीय क्षेत्र उत्तर–पश्चिमतर्फ सर्ने क्रममा आगामी चार–पाँच दिनसम्म देशका धेरै स्थानमा भारी वर्षा हुनुका साथै हावाहुरीको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ।
हाल देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
काठमाडौँ उपत्यकामा शुक्रबार बिहानैदेखि मौसम केही सफा देखिएको छ। तर पूर्वी नेपालमा भने अहिले पनि पूर्ण बदली र पानी परिरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १ र २ मा पूर्ण बदलीसहित धेरै ठाउँमा वर्षा भइरहेको छ।
ठाउँठाउँमा सामान्यदेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षासमेत भएको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन्। ‘काठमाडौँमा केही खुलेको देखिन्छ, तर पूर्ण मौसम सफा भने भएको छैन’, कँडेलले भनिन्, ‘रातिसम्म बदलीको अवस्था छ, आजदेखि नै मौसममा केही सुधार देखिएको र शनिबारदेखि भने विस्तारै मौसममा थप सुधार हुँदै जान्छ।’ उनका अनुसार मौसम सुधार भए पनि छिटफुट बदली र केही स्थानमा वर्षा भने कायमै रहने छ र शनिबारपछि भने लगातारको झरी नहुने कँडेलले बताइन्।
यसअघि तीन दिन मुलुकको अधिकांश क्षेत्रमा मौसम पूर्ण बदली भई धेरै स्थानमा वर्षा भएको थियो। मुख्य गरी प्रदेश १ देखि ५ सम्म बढी वर्षा भएको जल तथा मौसम विभागले जनाएको छ। यसपालि कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने कम वर्षा भएको छ। हाल भारतको मध्य प्रदेशको पूर्वी भूभागमा न्यून चापीय क्षेत्र रहेको छ। साथै यो न्यून चापीय क्षेत्र उत्तरपूर्व सर्दैछ। आज राति देशभर सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, २ र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। शनिबार प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ मा सामान्य बदली रही केही स्थानमा र कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
वर्षाका कारण बाढी र पहिरो जाँदा पछिल्लो तीन दिनमा १५ जनाभन्दा बढीको ज्यान गएको छ भने केही बेपत्ता भएका छन्। उनीहरुको खोजी जारी रहेको जनाइएको छ। यो वर्ष मुलुकका विभिन्न क्षेत्रमा विपद्मा परेर ३९१ जनाको ज्यान गएको छ भने ११० जना अझै बेपत्ता छन्। सबैभन्दा बढी पहिरोले मात्रै २८७ जनाको ज्यान लिएको छ।




