पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाँउँपालिका–६ शेराटारमा चिनिया पर्यटक सवार बस दुर्घटनामा परेको छ । शनिबार विहान ६ः२५ भएको सो दुर्घटनामा ६ जना चिनिया पर्यटक घाईते भएका छन् ।

पोखराबाट काठमाण्डौ जाँदै गरेको बा १ प ११३९ नंं को पर्यटक बस सडकको दायाँ साईडमा पल्टिएको हो । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडका अनुसार बसमा २६ यात्रु रहेका थिए । घाईते हुनेहरुमा वर्ष ५० का सुन लि, वर्ष ५७ का हुक्सिया लि, वर्ष ६२ का वाङ वि डोङ, वर्ष ६७ कियो मेङ, वर्ष ६८ का छुचेङ र वर्ष ७० का लियो या छिङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

घाईते सबैको शुक्लागण्डकी नगरपालिका बेलचौतारा स्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्रमा उपचार भईरहेको छ । गएराती पानी परेको सडकमा बस चिप्लिएर सो दुर्घटना भएको प्रारम्भिक अनुमान छ । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

तस्विर साभारः सेतीमादी दैनिक