मुग्लिन–पोखरा सडक विस्तारको क्रममा तनहुँको सदरमुकाम दमौली बजार क्षेत्रमा ७० वटा घर भत्काइने भएको छ ।

भत्काउनुपर्ने कुल ७० घरमध्ये ४५ परिवारले पहिलो किस्ताबापतको रकम बुझेर आफैंले भत्काउन सहमति जनाएका छन्। घर भत्काइसकेपछि दोस्रो किस्ता भुक्तानी गरिने मुग्लिन–पोखराको पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । उनका अनुसार दमौली बजार क्षेत्रका घरको क्षतिपूर्तिका लागि करिब छ करोड रूपैयाँ खर्च हुनेछ ।’सबै जनाले पहिलो चरणको मुआब्जा लिएमा ६० प्रतिशत वितरण सकिन्छ ।

अबको डेढ महिनाभित्र दमौली बजार क्षेत्रका घर भत्किइसक्ने अपेक्षा गरिएको छ,’ उनले भने। बन्दीपुर गाउँपालिकास्थित डुम्रेबजार क्षेत्रबाट सडक विस्तार तीव्र गतिमा अघि बढेकाले त्यसपछि दमौली बजार क्षेत्रमा काम गरिने उनले बताए। घरधनी स्वयंले घर भत्काउने भएकाले आयोजनाले उनीहरूलाई घर भत्काउन ताकेता गर्ने, समय समयमा बैठक बस्ने र नगरपालिकाले पनि भत्काउन प्रोत्साहन गर्ने लगायत काम भइरहेको उनले बताए ।

यसैबीच, व्यास नगरपालिका कार्यालयले पनि एक विज्ञप्ति जारी गर्दै सडक विस्तारको कामलाई सहयोग गरिदिन नगरबासीसंग आग्रह गरेको छ ।

मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वी खण्डमा हालसम्म १९ किलोमिटर दूरीमा एकतर्फी सडक कालोपत्र गरिएको छ। जिल्लाको डुम्रेबाट छिर्कनसम्म दुईतर्फी सात किमीका दरले १४ किमी र एकतर्फी पाँच किमीमा कालोपत्र सम्पन्न भएको हो। पूर्वी सडकखण्डमा हालसम्म ४४ प्रतिशत कार्य प्रगति भएको मुग्लिन–पोखराको पूर्वी खण्डका इन्जिनियर पाण्डेले जानकारी दिए । आँबुखैरेनीको बरादीबाट सत्रसयतर्फ करिब तीन किमीमा कालोपत्रको काम हुँदैछ । उक्त स्थानमा कालोपत्र सम्पन्न भएलगत्तै आँबुखैरेनी गाउँपालिका कार्यालयबाट चार लेनको सडक कालोपत्र गर्न बेस हाल्ने काम भइरहेको छ । पूर्वीखण्ड निर्माणको ठेक्का चिनियाँ कम्पनी कम्युनिकेसन कन्स्ट्रक्सनसँग छ अर्ब २१ करोड ३१ लाख १३ हजार रूपैयाँमा ठेक्का सम्झौता भएको हो। यस खण्डको काम २०७८ वैशाख २ मा गरिएको हो । ४१.४५ किलोमिटर दूरीको यो खण्डको काम आगामी वैशाखसम्म सक्नुपर्ने सम्झौता छ ।

त्यसैगरी पृथ्वी राजमार्ग को पूर्वी र पश्चिम दुवै खण्डमा अहिले द्रुत गतिमा सडक विस्तार भइरहेको छ। राजमार्गको पश्चिम खण्डअन्तर्गत जामुनेबाट पोखराको सेतीपुलसम्म ३८.८८ किलोमिटर दूरी सडक पर्छ। उक्त खण्डमा सडक विस्तार तथा स्तरोन्नति चीनको यनहुइ काइयुन हाइवे एन्डब्रिज कम्पनीले गरिरहेको मुग्लिन–पोखरा सडक आयोजना (पश्चिम खण्ड) का इन्जिनियर नारायण पौड्यालले जानकारी दिए।

२०७८ भदौबाट काम सुरू भएको यस खण्डको काम २०८१ भदौ १२ मा सम्पन्न गर्नुपर्ने गरी सम्झौता भएको हो । पश्चिम खण्डका लागि सात अर्ब ४० करोड ४६ लाख ८१ हजार रूपैयाँमा ठेक्का सम्झौता भएको छ । पूर्वी खण्डको तुलनामा कम उक्त खण्डमा हालसम्म १४ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ । पूर्वी खण्डअन्तर्गत दमौली मादी नदीमा आर्क डिजाइनको पुल निर्माणको काम सुरु भएको छ । व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमाथि एक २१ करोड लागतमा आर्क डिजाइनमा पुल निर्माण हुन लागेको इन्जिनियर पाण्डेले जानकारी दिए ।

वि.सं.२०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैङ्क (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको आयोजना कार्यालयले जनाएको छ ।

चार लेनको सडक सीमा दुईतर्फी २५–२५ मिटर हुनेछ । डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटर चौडाइको सडक बन्नेछ । दुलेगौडादेखि पोखरासम ४६ मिटर हुनेछ ।