
भविष्य निर्माण बाल क्लव, दमौलीको आयोजनामा शुक्रबार व्यास नगरपालिकाको सभा हलमा “बालबालिकाका लागि बालबालिकाद्धारा क्षमता अभिबृद्धि कार्यक्रम” शुभारम्भ भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै व्यास नगरपालिका वडा नं २ का वडाध्यक्ष एवं प्रमुख अतिथि काशीराम श्रेष्ठले बालबालिका भविष्यका कर्णधार भएकाले उनीहरुको क्षमता अभिबृद्धिका लागि राज्य, समाज र घरपरिवार सबैजनाले सहयोग गर्नुपर्ने बताए ।


क्लवकी अध्यक्ष सृष्टि कंडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा पूर्व संघीय सांसद कलिला खान, भविष्य निर्माण बाल क्लवकी संरक्षक एवं अधिवक्ता सरिता भण्डारी, सेतो गुराँस बाल विकास सेवाकी उपाध्यक्ष सरस्वती अधिकारी, सदस्य कृष्णचन्द्र पाण्डे, सहृदय मञ्चकी अध्यक्ष सरिता सुवेदी लगायतका वक्ताहरुले बालबालिकाको चौतर्फी विकासका लागि स्थानीय सरकारले विशेष नीति र कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । कार्यक्रमको सञ्चालन क्लवकी सचिव कञ्चना आचार्यले गरेकी थिइन् ।
‘बालबालिकाका लागि हुन्छ भनौं’ भन्ने अभियानका साथ सञ्चालन भएको सो कार्यक्रममा क्लवमा आवद्ध विभिन्न विद्यालयका बालबालिकाहरुको सहभागिता रहेको छ । दुई दिनसम्म सञ्चालन हुने सो कार्यक्रममा बाल अधिकारका विभिन्न पक्षहरुमा प्रशिक्षण दिइने जनाइएको छ ।




