खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि तनहुँका १० वटै पालिकाका पशुमा पूर्ण खोप कार्यक्रम सञ्चालन भएको छ ।

भेटेरिनरीअस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले सबै पालिकाका किसानले पालेका पशुलाई खोप लगाउने अभियान सञ्चालन गरेकको हो ।

अयिभानको क्रममा पिपिआर २ लाख ३१ हजार ८२२, खोरेत ९३ हजार २१५, चर्चरे भ्याकुते ४७ हजार ४८४, स्वाइन फिवर ६१ हजार ९०४, रेविज १४ हजार ३१७ खोप लगाईएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँका प्रमुख डा.बालकुमार श्रेष्ठले जानकारी दिए ।

पशुधन सुरक्षा गर्नको लागि किसानका पशुफार्म तथा गोठमा पुगेर पशु चौपायाको तथ्याङ्क सङ्कलन, खोपकर्ता नियुक्ती, र अगुवा किसानलाई अभिमुखीकरण गरी ’प्राविधिकलाई परिचालन गरि खोप लगाईएको डा. श्रेष्ठजानकारी दिए । पूर्ण खोप अभियानका लागि ६८ जना खोपकर्ता परिचालन गरिएको डा.श्रेष्ठले जानकारी दिए ।

किसानको फार्म र गोठमा पुगेर पिपिआर, खारेत, भ्यागुते, चरचरे, स्वाइन फिवर र रेविज रोगविरुद्धको खोप निःशुल्क लगाउने व्यवस्था मिलाइएको केन्द्रले जनाएको छ । पशुबाट मानिस र मानिसबाट पशुमा सर्ने जुनोटिक रोगलाई नियन्त्रण गरी जनस्वास्थ्यलाई पार्ने नकारात्मक प्रभावबाट बचाउन र पशुजन्य रोगको उपचार र नियन्त्रण गर्दा लाग्ने समय र खर्चको बचतका लागि पूर्णखोप कार्यक्रम प्रभावकारी बन्ने विज्ञ केन्द्रले जनाएको छ ।

गण्डकी प्रदेश सरकारले सङ्क्रामक रोग निर्मूल पार्ने योजना अनुसार प्रदेशलाई नै पूर्ण खोपयुक्त बनाउन ११ वटा जिल्लामा अभियान सञ्चालन गरेसंगै तनहुँमा पनि खोप लगाउन सुरु गरिएको हो । रोगको कारणबाट हुने पशुजन्य उत्पादनको गिरावटलाई कम गरी खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि सबै पालिकाका पशुमा पूर्ण खोप कार्यक्रम सञ्चालन भईरहेको छ ।

गण्डकी प्रदेश सरकारले पशुमा सङ्क्रामक रोग उन्मूलन गरी गुणस्तरीय पशुजन्य उत्पादन सुनिश्चित गर्ने उद्देश्यले आगामी तीन वर्षभित्रमा प्रदेशका ८५ वटै पालिकामा पूर्ण खोप कार्यक्रम कार्यान्वयनको योजनानुसार तनहुँमा चालु आर्थिक वर्षमा कार्यक्रम सुरु गरिएको हो । खोप कार्यक्रममा गाईभैँसीलाई खोरेत,भेडाबाख्रामा पिपिआर र खोरेत, बङ्गुरलाई हैजा र कुकुरलाई रेविजविरुद्धको खोप लगाईएको छ ।