
तनहुँको बन्दीपुरमा ट्रकको ठक्करबाट ३ जनाको मृत्यु भएको भने ५ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा तनहुँ बन्दीपुर गाउँपालिका वडा नं. १ बस्ने वर्ष १२ को आयुस भुजेल, वर्ष ५० को चेतबहादुर घर्ती र अन्दाजी ६९ वर्षका सनबहादुर भुजेल रहेका जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।
दुर्घटनामा घाइते भएका ८ जनाको उपचारको लागि चितवन स्थित पुरानो मेडिकल कलेज भरतपुर पठाएकोमा ३ जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा अधिकाँश बालबालिका रहेका छन् ।

पृथ्विराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका वडा नं ५ आधिखोलामा डुम्रेबाट मुग्लिन जाँदै गरेको ना ४ ख १९७३ नं को ट्रक अनियन्त्रित भई बुधबार विहान सडक छेउमा रहेको सुनमाया भुजेल र सनबहादुर भुजेलको घरमा ठोक्किएर सो दुर्घटना भएको थियो ।
दुर्घटनास्थलको अवस्था तनावग्रस्त रहेको छ । स्थितीलाई नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
घटनापश्चात विहानैदेखि अवरुद्ध भएको सो राजमार्गमा अहिले यातायात सूचारु भएको छ ।




