दमौली स्थित बालमन्दिर माध्यामिक विद्यालयमा मुटु रोग परिक्षण शिविर सम्पन्न भएको छ । व्यास नगरपालिकाद्वारा आयोजित शिविरमा इटालियन र नेपाली चिकित्सकद्वारा स्वास्थ्य परीक्षण गरिएको थियो ।

बालमन्दिर माध्यमिक विद्यालयको प्राङगणमा गरिएको स्वास्थ्य परीक्षणमा मुटु रोगको समस्या भएका १८ वर्ष भन्दा कम उमेरका बालबालिका र अन्य व्यक्तिहरुको गरी ७ हजार जनाको मुटु परीक्षण गरिएको व्यास नगरपालिकाले जनाएको छ । ५० जना भन्दा बढी नेपाली र इटालियन विशेषज्ञ चिकित्सकहरुको टोलीले व्यक्तिहरुको मुटुको परीक्षण गरेका थिए । व्यास नगरपालिकाको आयोजना तथा सेभ द हट काठमाडौंको प्राविधिक सहयोगमा २ दिने निःशुल्क शिविरले स्थानिय लगाएत विधार्थीहरु लाभान्वित भएको व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले बताए ।

मुटु रोग परीक्षण गर्न पाउदा बालबालिका, अभिभावक र शिक्षकहरु उत्साहित भएका थिए । मुटुको समस्या भएका व्यक्तिहरुलाई निःशुल्क औषधी समेत वितरण गरिएको थियो । स्वास्थ्य परीक्षण कार्यक्रम निकै फलदायी भएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताए ।