तनहुँको दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (QAA- Quality Assurance and Accreditation) मान्यता प्राप्त गरेको छ ।

विश्वबिद्यालय अनुदान आयोग, भक्तपुरद्धारा आयोजित एक कार्यक्रममा सो क्याम्पसलाई क्यूएए को प्रमाणपत्र प्रदान गरिएको थियो । आयोगका अध्यक्ष प्रा. डा. देवराज अधिकारी र सचिव प्रा.डा. शंकर प्रसाद भण्डारीले संयुक्त रुपमा सो प्रमाणपत्र क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठ र क्याम्पस प्रमुख महाप्रसाद हड्खलेलाई प्रदान गरेका थिए ।

सो अवसरमा बोल्दै आयोगका अध्यक्ष प्रा.डा. अधिकारीले उच्च शैक्षिक संस्थाहरुले क्यूएए मान्यता प्राप्त गर्नु चुनौतिपूर्ण रहेको बताउँदै यसको गरिमालाई निरन्तर कायम राख्नु त्यो भन्दा बढी चुनौतिपूर्ण भएको बताएका थिए । कार्यक्रमममा क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख हड्खलेले क्यूएएको गरिमालाई कायम राख्दै क्याम्पसको आर्थिक, प्राज्ञिक र अनुसन्धानमूलक कार्यमा थप प्रगति र विश्वसनियता आर्जन गर्दै जाने प्रतिवद्धता गरे । सो अवसरमा क्याम्पसका अध्यक्ष श्रेष्ठले आदिकवि भानुभक्त क्याम्पसको विकासका लागि सिंगो समुदायले ठूलो योगदान गरेको बताए ।

प्रमाणपत्र वितरण कार्यक्रममा गण्डकी प्रदेशका पूर्व मन्त्री डोबाटे विक, जिल्ला समन्वय समितिका संयोजक शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, क्याम्पस सञ्चालक समितिका पूर्व अध्यक्षहरु रामचन्द्र पोखरेल, ताराप्रसाद श्रेष्ठ, समुन्द्र गोदार, रामचन्द्र वस्नेत, सञ्चालक समितिका सदस्यहरु, क्याम्पसका प्राध्यापक, कर्मचारी, विद्यार्थी प्रतिनिधिहरुको सहभागिता रहेको सहायक क्याम्पस प्रमुख डा. रामकुमार अधिकारीले जानकारी दिए ।

क्याम्पसले क्यूएए प्रक्रियामा सामेल हुनका लागि वि. सं. २०७५ साउन ६ गते आशय पत्र पेश गरेको, २०७६ पुस २७ गते स्वः अध्ययन प्रतिवेदन पेश गरेको थियो जसलाई आयोगले २०७८ असार १७ गते अनुमोदन गरेको थियो । क्याम्पसका प्राध्यापक आत्माराम बास्तोलाको संयोजकत्वमा प्राध्यापकहरु सागर पौडेल, बसन्त कंडेल र सुलभ कुमार श्रेष्ठको समितिले करिव १ वर्ष लगाएर १२ हजार पृष्ठ वढीको स्वः अध्ययन प्रतिवेदन तयार गरेको थियो । आयोगले २०७९ बैशाख १४ देखि १६ गतेसम्म पहिलो चरण र २०७९ मंसिर २१ देखि २५ सम्म विभिन्न चरणमा गरि प्रा. डा. जयराज अवस्थीको नेतृत्वमा क्याम्पसको शैक्षिक, भौतिक र आर्थिक पक्षको अवलोकन र अध्ययन गरेको थियो ।

वि.स. २०४४ सालमा स्थापना भएको सो क्याम्पसमा हाल विद्यालय तहदेखि स्नातकोत्तर तहसम्म पढाई हुदै आएको छ। क्याम्पसमा करिव ३ हजार विद्यार्थी अध्ययनरत् छन भने ७० जना प्राध्यापक र २० जना कर्मचारी कार्यरत छन् ।
क्याम्पसले क्यूएए प्रक्रियामा सहभागी भई सबै चरण पार गरी शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन परिषद्को सिफारिसमा सो मान्यता प्राप्त गरेको हो ।

यसैबीच, २०७० सालमा पहिलो पटक क्यूएए मान्यता प्रमाणपत्र प्राप्त गरेको सो क्याम्पसले पुनः दोस्रो पटक सो प्रमाणपत्र प्राप्त गरेको हो । उच्च शैक्षिक संस्थाहरुले प्रत्येक ५ वर्षमा क्यूएए नविकरण गर्नुपर्ने आयोगको शर्त रहेको छ । हालसम्म देशभरका ८५ बढी उच्च शैक्षिक संस्थाहरुले क्यूएए मान्यता प्रमाणपत्र प्राप्त गरेका छन् । क्यूएए मान्यता विश्वभरका उच्च शैक्षिक संस्थाहरुको विश्वसनियता जाँच गर्ने भरपर्दो र नियमित सूचक हो ।