नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री एवं स्वतन्त्र अभियान चलाउँदै आएका गोविन्दराज जोशीले नेपाली कांग्रेससँगको वार्ता समाप्त भएको घोषणा गरेका छन् ।

कांग्रेस नेताहरुसँगको वार्ता झुक्याउने प्रयत्न मात्र भएको र गोविन्दराज जोशी समेतको कारबाही फिर्ता भयो भनेर झुटो प्रचार गरिएको भन्दै जोशीले बुधबारदेखि वार्ता समाप्त भएको घोषणा गरेका हुन् ।

वैशाख १० गते तनहुँ क्षेत्र नम्बर १ मा हुन लागेको उपनिर्वाचनको सन्दर्भमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गोविन्दराज जोशीका छोरा दीपकसँग छलफल गरेका थिए । तर सो छलफल निष्कर्षविहीन भएको थियो ।

तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनमा कांग्रेसले गोविन्द भट्टराईलाई उम्मेदवार बनाएको छ । कांग्रेस छाडेर स्वर्णिम वाग्ले रास्वपाबाट उम्मेदवार बनेका छन् । कांग्रेस नेताहरुले भने जोशीलाई फकाउने प्रयास गर्दै आएका छन् । तर जोशीले आज विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘उहाँहरूले वार्तामा मूल समस्या समाधान गर्ने चासो नदेखाउनु भएका कारण वार्ता समाप्त भयो ।’ जोशी समूहले कांग्रेसबाट विभिन्न कारणले अलग्गिएकाहरुलाई सम्मानका साथ समेटेर पार्टीलाई बलियो बनाउनुपर्ने धारणा राख्दै आएको छ ।

जोशीले वैशाख १० गते हुने उपनिर्वाचनमा आफ्नो उम्मेदवार नभएको भन्दै २१ औं शताब्दीको चुनौतीलाई सामना गर्न सक्ने, बौद्धिक र तनहुँको प्रतिष्ठालाई राष्ट्रिय राजनीतिमा कायम राख्न सक्ने उम्मेदवार छनोट गरी मतदान गर्न आग्रहसमेत गरेका छन् ।